स्थलमार्गबाट दिल्ली पुगी खाडी मुलुक उड्ने तयारीमा रहेका नेपाली युवतीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूको राहदानीमा नेपालकै विमानस्थलको इन्ट्री–स्ट्याम्प देखिएको हो।
प्रहरीले दिल्ली विमानस्थलबाट साउन ६ मा ७ नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा अनधिकृत रूपमा बोर्डिङ पास जारी गरेको अभियोगमा एयर इन्डियाका कर्मचारी कपिल कुमार र मनीष गुप्ता तथा नेपाली युवतीलाई भारत पुर्यासएको अभियोगमा नेपाली विष्णु तामाङ र ईश्वर न्यौपाने पक्राउ परेका थिए।
प्रहरीले त्यसपछि दिल्लीका विभिन्न होटलमा अन्य २० नेपाली युवती फेला पारेको थियो। उनीहरूलाई नेपालबाट दिल्ली पठाउने समूहका सदस्य भने खुलेको छैन।
दिल्ली प्रहरी, क्राइम ब्रान्चको एन्टी–हुमन ट्राफिकिङ सेलले उनीहरूलाई स्थानीय संस्था नारी निकेतनमा राखी अनुसन्धान गर्दा मानव तस्करीमा सक्रिय समूहले दुबई पठाउन खोजेको खुलेपछि पक्राउ परेका २ नेपाली र २ भारतीय नागरिकलाई उतै हिरासतमा राखेर २७ युवतीलाई मंगलबार नेपाल पठाएको थियो।
मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रधान कार्यालयले बसमा राखेर उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको थियो। उनीहरूको माध्यमबाट मानव तस्करीमा सक्रिय समूह पहिल्याउन प्रहरी प्रधान कार्यालयले ब्युरोलाई अनुसन्धानको जिम्मा तोकेको छ।
नेपाल फर्काइएका २० देखि ३५ वर्ष उमेर समूहका युवती खोटाङ, सिन्धुपाल्चोक, उदयपुर, नवलपरासी, झापा, काभ्रे, दाङ, रुपन्देही, धादिङ, रामेछाप, नुवाकोट, गोरखा, सोलुखुम्बु र चितवनका हुन्।
दलालले उनीहरूलाई कुर्दिस्तान, केन्या, तान्जानिया भनी दुबईलगायत विभिन्न सहरमा कामका लागि लैजान स्थलमार्ग हुँदै दिल्ली पुर्यारएका थिए। 'उनीहरू अहिले हाम्रो जिम्मामा छन्,' ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लले भने, 'केही दिनमै विस्तृत अनुसन्धान सुुरु गर्छाैं।' डिआइजी मल्लले उनीहरू मानसिक रूपमा थाकेकाले तत्काल सोधपुछ सुरु नगरिएको बताए।
गिरोहले नेपालको विमानस्थल छल्न स्थलमार्ग हुँदै युवतीलाई दिल्ली पुर्याहएर त्यहाँबाट हवाईमार्गमार्फत अफ्रिकी तथा खाडी मुलुक लैजाने गरेको खुलेपछि नेपाल–भारत गृह मन्त्रालयबीच नेपालको हवाईमार्ग प्रयोग नगर्नेका हकमा दिल्लीबाट हवाईमार्ग प्रयोगका लागि त्यहाँस्थित नेपाली दूतावासको 'नो अब्जेक्सन लेटर' अनिवार्य गरेको थियो।
प्रायः नेपाली युवती तस्करी हुने खाडी मुलुकमा जान चाहनेमाथि निगरानी सुरु भएपछि दलालले पछिल्लो समय नेपालीलाई सहजै अनअराइभल भिसा लाग्ने अफ्रिकी मुलुक जाने भन्दै दिल्ली विमानस्थलबाट खाडी मुलुक लैजान सक्रिय रहेको यो घटनापछि सार्वजनिक भयो।
आन्तरिक उडानबाट दिल्ली पुगेका युवती अन्तर्राष्ट्रिय उडानमा दुबई जान विमानस्थलको ट्रान्जिट क्षेत्रमा बसेको अवस्थामा विमानस्थल सुरक्षाकर्मीले शंका गर्दा मानवतस्करीको नयाँ शैली खुलेको थियो।
विमानस्थल प्रहरीले शंका लागी पूजा तामाङ, मालती राई र लक्ष्मी राईलाई नियन्त्रणमा लिएपछि अहमदावादबाट आएका कृष्णा देवी, उमा भुजेल, शर्मिला थापा र शोभाकुमारी परियार विमानस्थलको टर्मिनल–३ बाट पक्राउ परेका थिए। त्यसपछि दिल्लीका विभिन्न होटलमा राखिएका अन्य २० युवतीसमेत फेला परेका थिए। अनुसन्धानमा मानवतस्करीमा सक्रिय समूहले उनीहरूलाई काठमाडौंबाट भारतको अहमदावादसम्म स्थलमार्गबाट लगेर त्यहाँबाट हवाईमार्ग हुँदै दिल्ली लगेको खुलेको छ।
प्रारम्भमा उनीहरूले काठमाडौं विमानस्थलबाट आएको दाबी गरेका थिए। उनीहरूको राहदानीमा काठमाडौं विमानस्थल अध्यागमनको 'इन्ट्री–स्ट्याम्प' समेत थियो। मंगलबार नेपाल आएका युवतीको राहदानीमा समेत विमानस्थल अध्यागमनले विमानस्थल प्रवेश गरेको स्ट्याम्प रहेको स्रोतले जानकारी दियो।
गिरोहले लामो समयदेखि नेपाली युवतीलाई अफ्रिकी मुलुक घुम्न जाने आवरणमा खाडी देशमा जोखिमपूर्ण काममा लैजाने गरेको खुलेपछि महिला तथा बालबालिका मन्त्रालयले भारतस्थित नेपाली दूतावाससँग संयोजन गरी उनीहरूलाई मंगलबार नेपाल फर्काएको हो।
0 comments:
Post a Comment