Friday, August 28, 2015

भयको भुमरी (टिकापुरको कथा )


भाद्र १२, २०७२- एउटा ठूलो आँधी आएपछिको सन्नाटा जस्तो हुन्छ, टीकापुरको अवस्था अहिले त्यस्तै छ । यहाँ गत सोमबार आएको हिंसात्मक ‘आँधी’ले ठूलो मानवीय र भौतिक क्षति मात्र पुर्‍याएको छैन, अर्को ठूलो विपत्ति फेरि आउला भन्ने गहिरो सन्त्रास पनि कायमै छ । भदौ ७ गतेदेखि निरन्तर २४ घण्टे कफ्र्यु जारी छ र सेना सडकभरि छ । तैपनि अझै ‘केही भइहाल्छ कि’ भन्ने भय समाजको सबै तहमा व्याप्त छ ।


भय त छँदैछ, बदलाभावसमेत मेटिइसकेको छैन । सोमबार थारू समुदायको प्रदर्शनले हिंसात्मक रूप लिँदा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी मारिनुका साथै १८ महिने बालकको समेत ज्यान गएको थियो । त्यो घटना स्व:स्फूर्त थियो या कसैले भड्काएको थियो भन्ने प्रस्ट नभए पनि आक्रोशको सिकार सर्वसाधारण थारूहरू भए । उनीहरूलाई पिट्नेदेखि घर–पसल जलाउने, तोडफोड गर्ने घटना कफ्र्युबीच पनि भइरह्यो, नेपाली सेना नउत्रिँदासम्म ।

पूर्व–पश्चिम राजमार्गको लम्कीबाट करिब १६ किलोमिटर दक्षिणमा पर्ने टीकापुरमा तनाव उत्पन्न गराएको प्रादेशिक सीमांकनको उही राष्ट्रिय बहसले हो । राजनीतिक रूपले हेर्दा पछिल्लो सीमांकनले स्वीकारेको ‘अखण्ड सुदूरपश्चिम’ पक्षधरहरू र थारूवान प्रदेश चाहनेहरूबीचको टकरावको परिणाम हो– टीकापुर त्रासदी । यसले पहाडी मूलका बासिन्दा र थारू समुदायबीच विभाजन गराउँदै लगेको छ । ‘अहिलेको सबभन्दा ठूलो चिन्ता भनेकै दुई समुदायबीच फेरि साम्प्रदायिक दंगा नहोस् भन्ने हो,’ टीकापुरमा खटिएका एक सुरक्षा अधिकारीले बताए ।

कफ्र्युका बीच सुरक्षा–अनुमति लिएर टीकापुरका भित्री बस्तीहरूमा हिँड्दा हामीले देख्यौं– पछिल्लो दंगाका अनेक अवशेषहरू । जलाइएको एउटा रेडियो स्टेसनबाट दुई दिनपछि पनि धूवाँ आइरहेको छ, निभाउन कोही गएको छैन । तोडफोड गरिएको घरमा पस्ने आँट कसैले गरेको छैन । ध्वस्त पारिएका सवारी साधन, कम्प्युटर, टीभी र अरू सामग्रीका जल्न बाँकी अवशेष सडकमै असरल्ल छन् । यी परिदृश्यले यहाँ केही दिनअघि आएको ‘आँधी’लाई भुल्न दिइरहेकै छैन ।
सबभन्दा ठूलो आँधी त मानिसको मनमा आएको छ । वर्षौंदेखि मिलेर बसेका दुई समुदायका छिमेकीहरूसमेत एकअर्कासँग तर्सने अवस्थामा छन् । थारू समुदायका धेरै युवा त भागीभागी हिँडेका छन् । लगातारको कफ्र्युका कारण आम जनजीवन कष्टकर हुँदै गएको छ । व्यापार–व्यवसाय, स्कुल, कलेज, कार्यालयहरू सबै ठप्प छन् । खानेकुरासमेत पाइन छाडेको छ ।

आम मानिस मात्र होइन, सुरक्षाकर्मीको सन्त्रास पनि उस्तै छ । आफ्ना कमान्डर नै गुमाएपछिको पीडाबाट नेपाल प्रहरी गुज्रिरहेको छ । एसएसपी मारिन लाग्दा सशस्त्र प्रहरीले सघाएन भन्ने चित्त दुखाइ उनीहरू खुलेरै प्रकट गर्छन् । सोमबारको झडपका क्रममा प्रहरीले गुमाएका चार हतियार र वाकीटाकीहरू अझै फेला परेका छैनन् । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल भुवन सत्यालको कमान्डमा करिब चार सय सैनिक यहाँ तैनाथ गरिएपछि चाहिँ प्रहरीलाई ठूलो ढाडस मिलेको छ ।
‘तर यसरी कफ्र्यु लगाइरहेर, सेनाको गस्ती गरिरहेर मात्र यहाँ शान्ति सम्भव छैन, हामीले चाँडै अरू उपाय खोज्नैपर्छ,’ स्थानीय अरुणोदय उच्च माविका प्राचार्य धीरेन्द्र शाहीले भने ।

पृष्ठभूमि : माओवादीपछि फोरम
टीकापुरको तनाव बुझ्न अलि पछाडि फर्कनुपर्ने हुन्छ । सुदूरपश्चिमका अन्य जिल्लामा झैं कैलालीमा पनि ‘थरुहट’ र ‘अखण्ड सुदूरपश्चिम’ दुवैको बहस सुरु गराउने ‘श्रेय’ माओवादीलाई जान्छ । दाङदेखि ‘नयाँ मुलुक’ भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई मिलाएर थारू समुदायको पहिचानमा आधारित थरुहट वा थारूवान प्रदेश बनाइनुपर्ने मुद्दा माओवादीले द्वन्द्वकै बेला उठाएका थिए ।

‘थारूवान प्रादेशिक जनसरकार’को प्रचारात्मक अभ्यास पनि गरेका थिए । यी सबैले गर्दा थारू समुदायका युवाहरू ‘जनयुद्ध’ भर्तीकेन्द्रको मुख्य स्रोत बन्न पुगे ।

तर, अपेक्षा जे थियो, त्यो माओवादीले पूरा गरेनन् । बरु कैलालीकै मुख्य माओवादी नेता लेखराज भट्टले ‘अखण्ड सुदूरपश्चिम’को नारा दिन थाले । थारू समुदायका नेता–कार्यकर्ताले विरोध गरेपछि त्यो विवादले माओवादी घेरा नाघ्यो । अन्य दलका थारू नेता–कार्यकर्ता थारूवानका पक्षमा उभिए भने पहाडी मूलकाले ‘अखण्ड सुदूरपश्चिम’को वकालत गर्न थाले । कांग्रेस वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वयं ‘अखण्ड’का संरक्षक बनिदिएपछि त्यसले केन्द्रीय ओज पनि पायो ।

उता विभिन्न चारित्रिक विवादमा समेत परेका माओवादीका उपल्ला थारू नेता लक्ष्मण थारू अन्तत: पार्टीबाट बाहिरिए र विभिन्न दल हुँदै अहिले फोरम लोकतान्त्रिकमा छन् । पूर्वकांग्रेस नेता रामजनम चौधरी पनि फोरम लोकतान्त्रिककै महासचिव बनेर संविधानसभामा पुगेका छन् । पूर्व सुनसरीका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई कैलालीका राम र लक्ष्मणको साथले पश्चिम तराईको थारू समुदायभित्र पुर्‍याएको छ । दोस्रो संविधानसभा निर्वाचनमा यो पार्टीले कैलालीका दुई क्षेत्र (१ र ३) पनि जितेको छ, जसले स्थानीय राजनीतिमा महत्त्वपूर्ण हैसियत राख्छ ।

‘लक्ष्मणको एजेन्डा थियो थरुहट, उनको समूह नै फोरममा गएपछि हाम्रो एजेन्डा उठाउने माओवादी होइन फोरम नै हो भन्ने भयो । अनि थारूहरूले मधेसीलाई पनि अलि नजिकबाट हेर्न थाले,’ टीकापुरका शिक्षक चित्रबहादुर चौधरीका भनाइमा, ‘राष्ट्रिय छवि बनाएका थारू नेता कोही पनि भएनन्, त्यसैले मधेसी पार्टीले नै लिड गर्ने अवस्था आयो । हाम्रो आवाज उठाउनेहरू मधेसी नेताहरू नै हुन भन्ने पर्‍यो ।’

कुनै बखत ‘एक मधेस एक प्रदेश’को सबभन्दा चर्काे विरोधी थारू समुदाय थियो, अहिलेको परिस्थिति उल्टो बन्दै गएको छ । मधेसी नेताहरूले ‘एक मधेस दुई प्रदेश’ भनेर पश्चिमका थारू जनाधार आकर्षित गर्न खोजिरहेका छन् । र, त्यसको असर कैलालीमा पर्याप्त पर्न थालेको छ ।

घुम्तीका घटना
गत साउन २३ मध्यरात जब चार दलका नेताहरूले ६ प्रदेशको संघीय ढाँचा सार्वजनिक गरे, त्यसले अखण्ड र थरुहट कुनैलाई पनि सम्बोधन गरेको थिएन । त्यसैले दुवै पक्ष रुष्ट देखिए । सुर्खेत र कर्णालीमा प्रदेश नम्बर ६ बाट छुट्टिने मागसहित आन्दोलन भयो, थारूहरू पनि उक्त सीमांकनको विरोधमा उत्रिए । त्यतिञ्जेल यी दुई समुदायबीच टकराव थिएन । तर त्यही क्रममा मधेसी नेताहरूको आगमनमा साउन २८ गते टीकापुरमा गरिएको एउटा आमसभा घुम्तीको घटना बनिदियो ।
त्यहींनेर परिदृश्यमा देखा पर्छन् टीकापुरको फूलबारी एफएमका सञ्चालक रेशम चौधरी । थारू आन्दोलनको केन्द्रीय अगुवाइ २४ जिल्लामा सञ्जाल रहेको पुरानो संस्था– थारू कल्याणकारिणी सभाले गरेको थियो, जसको टीकापुरस्थित संघर्ष समितिका संयोजक हुन् उनी । कुनै बेला शाही शासनका समर्थक रहेका रेशमको पछिल्लो कालखण्डमा भारतीय दूतावासमा हिमचिम बढेको थियो । तत्कालीन भारतीय राजदूत राकेश सुदलाई टीकापुर बोलाएर कार्यक्रम गरेपछि उनको स्थानीय ‘हैसियत’ त बढ्यो, तापनि राजनीतिक महत्त्वाकांक्षा पूरा भइरहेको थिएन । संविधानसभाका दुवै चुनावमा उनी उठे, तर जमानत नै जफत भयो । अहिले सद्भावना पार्टीमा रहेका उनैले हो– आफ्ना अध्यक्ष राजेन्द्र महतोसहित मधेसी फोरम अध्यक्ष उपेन्द्र यादव र कांग्रेस सभासद अमरेशकुमार सिंहलाई साउन २८ को टीकापुर सभामा बोलाएको ।

‘यहाँ पहिलेदेखि आगो त छँदै थियो, त्यो सभाले बतासको काम गर्‍यो,’ त्यहाँको भाषण सुनेपछि शिक्षक चित्रबहादुरले निष्कर्ष निकाले । उनको भनाइमा, त्यहाँ उपेन्द्रको भाषण राजनीतिक प्रकृतिको थियो, तर राजेन्द्र र अमरेशले उग्र अभिव्यक्ति दिए । ‘मधेसतिर आन्दोलन उठिरहेको थिएन, सायद यहाँ अथाह मास देखेर होला उनीहरूले चर्कै कुरा गरे,’ उनले भने ।

प्राचार्य धीरेन्द्र शाहीले थपे, ‘यहाँ झगडाको बीउ रोपिएकै अमरेशको भनाइबाट हो । उनले एकदमै उत्तेजक भाषण गरे, पहाडेलाई धपाउनुपर्छ, हतियार उठाउनुपर्छ भने । त्यसो गर्नाले एकातिर थारू समुदायलाई उक्साउने काम भयो भने दोस्रोतिर पहाडी समुदायलाई आक्रोशित बनायो ।’

उसबेला काठमाडौंमा पनि चर्काचर्की पर्न थालेको थियो । साउन ३१ गते शेरबहादुर देउवा र बाबुराम भट्टराईबीच संविधानसभा विशेष समितिको बैठकमा भनाभनै भयो । देउवाले ‘कैलाली र कञ्चनपुरको रौं पनि छोड्दिन’ भनेपछि भट्टराईले ‘के कैलाली तपाईंको ठेक्का हो ?’ भनेको विवरण मिडियाबाट कैलालीवासीले पनि सुने । थारू समुदाय थप भड्कियो ।

भोलिपल्ट साउन ३२ गते धनगढीमा थारू सभा थियो । त्यहाँ जानेहरूलाई अखण्ड पक्षधरले बाटो छेकेको, अवरोध पुर्‍याएको तर प्रहरी रमिते मात्र बनेको थारू अगुवाहरूको भनाइ छ । खासमा टीकापुरको थारू सभामा मधेसी नेताहरूले चर्को बोलेपछि धनगढीमा प्रतिक्रिया देखापरेको थियो ।

काठमाडौंमा भदौ ४ मा गरिएको अर्को राजनीतिक निर्णयले सडक तताइहाल्यो । थरुहट र अखण्ड दुवैको आन्दोलन चलिरहेको थियो, तर माग सम्बोधन अखण्डको मात्र गरियो– सेती र महाकाली अञ्चलका सबै जिल्ला एउटैमा राख्ने गरी सातौं प्रदेश प्रस्तावित भयो । ६ बाट सात प्रदेश बनाउँदा पनि आफ्नो माग पूरा नगरिएकोमा थारू समुदाय ‘आगो’ भयो ।

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले उक्त सीमांकनप्रति आपत्ति जनायो र त्यसै दिन पत्रकार सम्मेलन गरेर संविधान लेखन प्रक्रियाबाट अलग्गियो । त्यसको प्रत्यक्ष असर पर्‍यो उक्त दलको दुइटा सभासद सिट रहेको कैलालीमा । टीकापुर बहुमुखी क्याम्पसका अध्यापक नाथुराम चौधरीका विचारमा, ‘६ बाट सात हुन्छ भने आठ, नौ, दस प्रदेश किन नहुने भन्ने मनस्थिति भयो मान्छेमा । मानिसहरूलाई उत्तेजनामा पुर्‍याउन प्रेरित गर्‍यो काठमाडौंको त्यो निर्णयले ।’

अखण्ड सुदूरपश्चिम कायम भएकै दिन भदौ ४ गते, सायद त्यसको खुसियालीमा अखण्ड पक्षधरको मोटरसाइकल र्‍याली निकालियो । तर, लम्की–टीकापुर सडक खण्डमा ठाउँ–ठाउँमा अवरोध गरिदिए थारू पक्षले । त्यसलाई खुलाउन प्रहरीले टियर ग्यास प्रहार गर्‍यो । प्रहरीको साथ पाएपछि कतिपय अखण्ड पक्षधरले थारू समुदायका केही घर–पसल तोडफोड गरिदिए । स्थिति यति तनावग्रस्त भयो कि प्रशासन निषेधाज्ञा आदेश जारी गर्न बाध्य भयो । भोलिपल्ट भदौ ५ गते अखण्ड पक्षधरले टीकापुरमा सभा र शक्तिप्रदर्शन गर्ने कार्यक्रम सम्भव भएन ।

भदौ ६ गते संविधानसभामा सात प्रदेश नै राखिएको संविधानको विधेयक दर्ता भयो । आफ्नो माग सम्बोधन भइहाल्ला कि भन्ठानेका थारू अगुवाहरूले त्यसपछि पुरै आशा मारे । प्रतिक्रिया आक्रोशित र विध्वंसक बन्दै गयो ।

भदौ ७ गते निषेधाज्ञा तोडेर भए पनि टीकापुरस्थित सरकारी कार्यालयहरूका बोर्डमा ‘थरुहट स्वायत्त प्रदेश’ लेख्ने निर्देशन जारी गर्‍यो थारू कल्याणकारिणी सभाले, जुन अभ्यास ग्रामीण भेगमा गर्न थालिसकिएको थियो । ‘सबै थारू गाउँहरूमा बडघरमार्फत आमसभामा जानैपर्ने, नजाने घरले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भनेपछि मान्छेहरू ह्वारह्वार्ती आए,’ भदौ ७ को घटना नियालेका एक स्थानीय जानकारले बताए । माघी पर्वका बेला चुनिने ‘बडघर’ थारू गाउँका मुखियाजस्ता हुन्, जसले भनेको समुदायका सबैले मान्ने चलन छ । त्यसबाहेक थरुहटको एजेन्डाले पनि प्रदर्शन आउन प्रेरित गरेकै थियो । लठ्ठी टेकेका वृद्धवृद्धा र महिलाहरू पनि देखिए त्यो हजारौंको जुलुसमा ।

जब भीडले प्रहरीको घेरा तोड्न खोज्यो, ठाउँठाउँका नाकामा तनाव सुरु भयो । अघिल्लो साँझ प्रहरी गणमा रेशम चौधरीसहित थारू अगुवाहरूसमेतले प्रदर्शन शान्तिपूर्वक हुने प्रतिबद्धता जनाएपछि प्रहरी नेतृत्व ढुक्क परेको देखियो, त्यसैले एसएसपी न्यौपाने नेतृत्वको टोली भीडमा जाँदा पनि न उल्लेख्य हतियार थियो, न त पर्याप्त संख्या ।


त्यस्तो अवस्थामा घरेलु हतियारबाट अकस्मात सुरु गरिएको प्रहारले प्रहरीलाई रक्षात्मक अवस्थामा पुर्‍याइदियो । जुन घरमा एसएसपी न्यौपानेलाई घेरेर पिटिपिटी मारियो, त्यहाँकी महिला सीता बर्माले देखेकी थिइन्– आक्रमण गर्नेमध्ये केहीको टाउकोमा हेल्मेट थियो । ‘लाठीमा हतियार बाँधेका थिए, भाला पनि बोकेका थिए,’ उनले भनिन्, ‘नचिनुन् भनेर हो कि टाउकोमा हेल्मेट पनि लगाएका थिए ।’

घुसपैठका कुरा
ती हेल्मेटधारी को थिए ? अहिलेसम्म जिम्मेवारी कसैले लिएको छैन । कार्यक्रम आयोजक– थारू कल्याणकारिणी सभा पनि पछाडि हटेको छ । सरकारी सेवामा इन्जिनियर रहेका उक्त सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी, जसमाथि सरकारले कारबाही प्रक्रिया थालेको छ, उनले टीकापुरको कार्यक्रममा घुसपैठ भएको दाबी गरेका छन् । तर कसले गरेको ? प्रस्ट्याएका छैनन्, न त गृहमन्त्री वामदेव गौतमले ‘दक्षिणबाट आएर आक्रमण गरिएको’ संसद्मा बताएर पनि तथ्य खुलाउन सकेका छन् । तर उनीझैं स्थानीय सुरक्षा निकायहरू घुसपैठकै कुरामा जोड दिन्छन्, भरपर्दो तथ्य भने कसैबाट आउँदैन ।

टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु हमालले भने, ‘उक्साउने काम त यहाँ आमसभा गर्न आएका मधेसी नेताहरूले नै गरेका थिए । तर यहाँ भारतबाट आएर घुसपैठ गरेजस्तो मलाई लाग्दैन, बरु माओवादीका स्प्लिन्टर ग्रुपहरू हुन सक्छन् । हिजो माओवादीमा लागेका, तर अहिले घरको न घाटको भएका केटाहरू धेरै छन् । तिनको पनि भूमिका हुनसक्छ ।’ यद्यपि पर्याप्त आधार नजुटदासम्म यी कुरा फगत अन्दाज मात्र हुने उनको भनाइ छ ।

मुनुवा गाविसको राष्ट्रिय निमाविमा शिक्षक रहेका चित्रबहादुर चौधरी पनि भीडमा कसैले भड्काउने काम गरेको सम्भावना देख्छन्, तर सबै थारू समुदायलाई त्यो घटनामा मुछेर लाञ्छना लगाउने प्रवृत्ति गलत रहेको बताउँछन् । ‘हिजोसम्म हामी थारू गुलाम हुँदा देशभक्त हुने, अहिले अलिकति अधिकार माग्नेबित्तिकै आतंककारी हुने ?’ उनले प्रश्न तेस्र्याए ।

- कान्तिपुर बाट

0 comments:

Post a Comment