Sunday, August 30, 2015

हरि खड्काका दर्जन अन्तर्राष्ट्रिय गोल


काठमाडौँ, भदौ १४ । हरि खड्का नेपाली फुटबल इतिहासका सर्वाधिक सफल स्ट्राइकर मानिन्छन् । १९९५ देखि २००७ सम्म राष्ट्रिय टोलीका सदस्य रहेका हरिले स्ट्राइकर र कप्तानीको सफल जिम्मेवारी पूरा गरे । नब्बेको दशकमा जर्मनीमा प्रशिक्षित उनले घरेलु तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एकैनासको प्रदर्शन गरे । अन्तर्राष्ट्रिय खेलमा हरिले अर्का फुटबलर नीराजन रायमाझीसँग रेकर्ड सेयर गरे, सर्वाधिक १२ गोल गरेर । तर, उनले अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिकको इतिहास भने रच्न सकेनन् । रमाइलो पक्ष के भने घरेलु फुटबलमा उनले धेरैजसो ‘फ्रिकिक गोल’ गरेका छन् । तर, अन्तर्राष्ट्रिय १२ गोल भने एउटै पनि ‘फ्रिकिक’बाट होइनन् । ९० प्रतिशत गोल दायाँ खुट्टाले गरेका हरिले दुर्भाग्यवश ५०औँ अन्तर्राष्ट्रिय खेल भने खेल्न पाएनन् । सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपमा भुटानविरुद्धको खेल नै हरिको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । हरि खड्काले नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायसँग अन्तर्राष्ट्रिय १२ गोलको विश्लेषण यसरी गरेका छन् :

सार्क विस्टोल गोल्डकप (१९९५–श्रीलंका)
सन् १९९५ मा श्रीलंकामा भएको सार्क विस्टोल गोल्डकपमा नेपाल पहिलो खेलमै बंगलादेशसँग २–० गोलअन्तरले पराजित भएको थियो । सेमिफाइनल स्थान सुरक्षित गर्न आयोजक पाकिस्तानलाई २–० गोलअन्तरले हराउनुपर्ने दबाब हामीमाथि पर्‍यो । बंगलादेशविरुद्ध खेल्न नपाएको मलाई संयोगवश पाकिस्तानविरुद्धको निर्णायक भिडन्तमा होमिने मौका मिल्यो । त्यही खेल मेरो डेब्यु थियो ।
त्यो खेलमा मेरै पासमार्फत मिडफिल्डर बालगोपाल महर्जनले पहिलो गोल गरेका थिए । मध्यान्तरपछि मैले अर्को गोल ठोकेँ । सुरुमा उमेश प्रधानले बालगोपाललाई दिएको पास बालगोपालले डिबक्सअगाडि देवनारायण चौधरीलाई दिएका थिए । देवनारायणले डिबक्सको बायाँ साइडमा उपलब्ध गराएको बल मैले दायाँ खुट्टाले ‘वान टच’मै पहिलो बारमा गोल गरेँ । त्यो गोल मेरा लागि ‘अनएक्सपेक्टेड’ थियो । यति चाँडै ‘मुभ’ भयो कि गोलरक्षकले छेक्ने अवसर नै पाएनन् । यही निर्णायक गोलले नेपालको यात्रा सेमिफाइनलमा छनोट भएको थियो । मैले सिनियर दाइहरूबाट बधाई पाएँ । पहिलो अन्तर्राष्ट्रिय गोलको फरक किसिमले ‘रेलिब्रेसन’ गरेको थिएँ ।

सातौँ साफ गेम (१९९५– मद्रास)
भारतको मद्रासमा भएको सातौँ दक्षिण एसियाली साफ च्याम्पियनसिपमा समूह चरणअन्तर्गत नेपालको प्रतिस्पर्धा माल्दिभ्सविरुद्ध थियो । त्यो खेल हार्दा हाम्रो यात्रा रोकिन्थ्यो । गर् या मर्को अवस्थामा भिड्नैपर्ने थियो । तर, माल्दिभ्सले हामीलाई गोलको अवसर नै दिएन । उनीहरूको ‘डिफेन्स रणनीति’ निकै बलियो थियो । पटक–पटक ‘काउन्टर अट्याक्ट’ तथा ‘मुभ’ बनाउँदा पनि हामीले गोल हान्न सकेनौँ । खेलको अन्तिमतिर माल्दिभ्सको रणनीति तोड्ने काम मबाट नै भयो ।
डिबक्सबाहिरबाट स्ट्राइकर दीपक अमात्यले ‘फ्लिक’ गरी पेनाल्टी एरियामा मलाई दिएको गोल हावामा उडिरहेको थियो । माल्दिभ्सका गोलरक्षक बललाई ‘क्लियर’ गर्न अगाडि बढ्दै गर्दा मैले दायाँ खुट्टाले प्रहार गरेको बल सीधै पोस्टभित्र छिर्‍यो । यही गोलका कारण नेपाल विजय मात्रै भएन, अर्को चरणको प्रवेशसमेत गर्‍यो ।

एसियन कप छनोट (१९९६–ओमान)
ओमानको मस्कटमा नेपालले एसियन कप क्वालिफाइनिङअन्तर्गत समूह पाँचमा प्रतिस्पर्धा गरेको थियो । नेपालले पहिलो लेग ओमानलाई २–१ को नतिजा सुम्पिएको थियो । तर, त्यस खेलमा मैले ओमानविरुद्ध एक गोल गरेको थिएँ । ओमानका डिफेन्डरलाई छक्याउँदै स्ट्राइकर नरेन्द्र श्रेष्ठले पोस्टको दायाँ साइडमा मलाई पास दिएका थिए । मैले वान टचमै सीधै बललाई पहिलो बारमा गोल गरेको थिएँ ।

विश्वकप छनोट (१९९७–ओमान)
सन् १९९८ मा फ्रान्समा हुने विश्वकप प्रतियोगिताका लागि नेपालले एसियन छनोट खेलमा सहभागिता जनाएको थियो । नेपालको समूहमा जापान र ओमान थिए । नेपालको पहिलो खेल मकाउविरुद्ध थियो । ओमानको सुल्तान रंगशालामा मकाउले सुरुवातमै १–० को अग्रता लियो । त्यसवेलाको राम्रै मकाउ टोलीसँग हामी बराबरी गोल गर्ने प्रयासमा थियौँ । सोचेजस्तै १–१ को बराबरी भयो र संयोगले त्यो गोल गर्ने पनि म नै भएँ ।
स्ट्राइकर नरेन्द्र श्रेष्ठले मकाउका दुई डिफेन्डरलाई झुक्याएर डिबक्सभित्र पुगेपछि मलाई ‘थ्रो पास’ दिएका थिए । मैले वान टचमै ‘प्लेसिङ’ गर्दै डिबक्सबाटै दोस्रो बारको कुना च्यापेर बराबरी गोल गरँे ।

दक्षिण एसियन गोल्डकप (१९९९–भारत)
भारतको नेहरू रंगशालामा दक्षिण एसियन गोल्डकपमा मैले माल्दिभ्सविरुद्ध दुई गोल गरेको थिएँ । यद्यपि, नेपालले माल्दिभ्सलाई ३–२ को नतिजा सुम्पिएको थियो । समूह बीमा कडा प्रतिद्वन्द्वी मानिने माल्दिभ्सले नेपालविरुद्ध पहिलो मिनेटमै गोल गरेको थियो । पहिलो हाफमा शून्यमा सीमित हामीले मध्यान्तरपछि मात्रै पकड जमाएका थियौँ । खेलको ६५औँ मिनेटमा नरेश जोशीको पासमा दायाँ खुट्टाले दोस्रो बारको कुना च्यापेर नेपाललाई १–१ को बराबरीमा पुर्‍याएँ ।

दक्षिण एसियन गोल्डकप (१९९९–भारत)
माल्दिभ्सविरुद्ध १–१ को बराबरी गोल फर्काएपछि नेपाली खेलाडीको आत्मविश्वास बढेको थियो । हामीले खेल नियन्त्रणमा लिइसकेका थियौँ । त्यसवेला सार्क क्षेत्रकै उत्कृष्ट टोली माल्दिभ्सले हाम्रो गल्तीमा ८५ मिनेटभित्र थप दुई गोल गर्दै ३–१ को अग्रता बनायो । तर, हामीले अन्तिम समयसम्म पनि हार मानेनौँ । खेल सकिन एक मिनेटअघि मैले नेपाललाई ३–२ को अन्तरमा झारँे । डिबक्सभित्र मैले निकै राम्रो ‘फिनिसिङ’ गर्दै गोल गरेको थिएँ ।

आठौँ दक्षिण एसियन खेलकुद (१९९९–काठमाडौं)
काठमाडौंमा भएको आठौँ साफ खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलमा नेपाललाई नै स्वर्ण पदकको दाबेदार मानिएको थियो । घरेलु मैदान र समर्थकका कारण नेपाल ‘फेभरेट’ थियो । भुटानलाई नेपालले ७–० को फराकिलो गोलअन्तरले हराएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले रचेको कीर्तिमानीमा मैले दुई गोल योगदान गरेको थिएँ । त्यो वर्ष मेरो लय जीवनमै उत्कृष्ट थियो । सन् १९९९ मा झैँ फुटबल मैले अन्य वर्षमा खेल्न सकिनँ ।
भुटानको डिफेन्स निकै कमजोर थियो । उनीहरूका डिफेन्डरलाई सहजै कटाएर मैले खेलको दोस्रो मिनेटमै गोल ठोकेको थिएँ । भुटानका तीन डिफेन्डरलाई डिबक्सभित्रै छक्याएको थिएँ । गोलपोस्टमा भुटानी गोलरक्षक मात्र थिए । मैले गोलरक्षक अगाडि बढेको मौका छोपी बललाई ‘चिप’ प्रहार गरेँ । ‘स्विङ’ भएको बलले गोलको दिशा लिएको थियो ।

आठौँ दक्षिण एसियन खेलकुद (१९९९–काठमाडौं)
आठौँ अन्तर्राष्ट्रिय गोल पनि आठौँ साफको भुटानविरुद्धकै खेलमा सम्भव भयो । पहिलो खेलको तीन मिनेटअन्तरमा दोस्रो गोल प्रहार गरेको थिएँ, त्यो पेनाल्टी गोल थियो । पेनाल्टी एरियामा बल लगिरहँदा भुटानी डिफेन्डरले मलाई पछाडिबाट ट्याकल गरे । त्यसपछि रेफ्रीले नेपालको हकमा पेनाल्टी प्रहार गर्न दिए । नेपालले पेनाल्टी प्रहार गर्ने अवस्थामा प्रशिक्षक कस्न्टाइनले मलाई हान्ने जिम्मेवारी दिएका थिए । प्रशिक्षणमा मलाई प्रशिक्षकले धेरै पेनाल्टी हान्न लगाउँथे । टिममा सिनियर खेलाडी भए पनि प्रशिक्षकको निर्देशनअनुसारै मैले पेनाल्टी किक प्रहार गरेको थिएँ । भुटानी गोलरक्षकलाई विपरीत दिशामा ‘डाइभ’ गराई मैले दायाँतिर बल छिराएँ ।

आठौँ साफ खेलकुद (१९९९–काठमाडौं)
घरेलु मैदान र समर्थकको फाइदा लिँदै नेपाल आठौँ साफअन्तर्गत फुटबल इभेन्टको सेमिफाइनलमा प्रवेश गर्‍यो । फाइनल प्रवेशका लागि हाम्रो भेट माल्दिभ्ससँग भयो । दशरथ रंगशालामा २२ हजार दर्शकअगाडि नेपालमाथि चर्को दबाब थियो । खेलको ११औँ मिनेटमै स्ट्राइकर नरेश जोशीले नेपाललाई १–० को अग्रता दिलाइसकेका थिए । त्यसपछि खेलको १५औँ मिनेटमा मैले नेपाललाई २–० का लागि गोल गरेँ । मिलन, दिल्लीराम श्रेष्ठ र मबीच ‘वान टु पास’ भइरहेको थियो । हामी मिडफिल्डमा ‘वान टु पास’ खेल्दै माल्दिभ्सको डिबक्सभित्र प्रवेश गर्ने योजनामा थियौँ । माल्दिभ्सको डिबक्स लाइनमा रहेका डिफेन्डरलाई झुक्याएर म भित्र छिरेँ । दिल्लीरामले मलाई पास दिए । मैले दायाँ खुट्टाले ‘वान टच’मै दोस्रो बारको कुना च्यापेँ । स्विङ हुँदै बलले दोस्रो बारको जाली चुम्यो । मेरो गोल साफकै उत्कृष्ट ठहरियो । नेपालले माल्दिभ्सलाई २–१ ले हराएर फाइनल स्थान पक्का गरेको थियो ।

विश्वकप छनोट (२००२)
सन् २००२ को विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाल समूह ६ मा परेको थियो । यस समूहमा इराक, मकाउ, काजकास्तान थिए । नेपालले मकाउसँग प्रतिस्पर्धा गर्दा मैले आफ्नो दसौँ अन्तर्राष्ट्रिय गोल पूरा गरेको थिएँ । नीराजन रायमाझी र मबीच राम्रो तालमेल मिल्थ्यो । नीराजनकै सुन्दर पासमा त्यो गोल सम्भव भएको थियो । दोस्रो हाफतिर हामी दुवै ‘वान टु पास’ खेल्दै मकाउको डिबक्ससम्म पुग्यौँ । नीराजनले डिबक्सको दायाँ साइडबाट कठिन कोणमा मलाई पास दिए । मैले आउट साइड फुटबाटै प्रहार गरेको बल क्रप हुँदै दोस्रो बारतिर छिर्‍यो ।

विश्वकप छनोट (२००२)
२००२ को विश्वकप छनोटको दुवै लेगमा नेपाल इराकसँग नराम्रोसँग पराजित भएको थियो । तर, मैले एसियाकै शक्तिशाली राष्ट्र इराकविरुद्ध एक गोल गर्न सफल भएँ । इराकविरुद्ध मैले एघारौँ अन्तर्राष्ट्रिय गोल पूरा गरेँ । मेरो गोलका लागि मिडफिल्डर कुमार थापा तथा स्ट्राइकर रायमाझीको भूमिका सर्वाधिक रह्यो । कुमारले नीराजनलाई चलाखीपूर्ण तरिकाले ब्याक दिएको बल नीराजन र मबीच वान टु पास भयो । मैले इराकका तीन डिफेन्डरलाई ‘विट’ गर्दै बल सानो डिबक्ससम्म पुर्‍याएँ । त्यसपछि इराकका गोलरक्षक अगाडि बढेको अवस्थामा मैले बललाई हल्का ‘चिप’ गर्दै गोलको दिशा दिएँ । गोलरक्षकसमेत ‘विट’ भइसकेको बल हावामा स्विङ हुँदै गोलमा परिणत भयो । त्यसवेला मेरो यो गोललाई कमेन्टेटरले ‘इन्टेलिजेन्ट गोल’ भनेका थिए ।

एसियन कप प्रिलिमिनरी (२००३)
सन् २००२ मा एएफसीले एसियन कप प्रिलिमिनरी आयोजना गरेको थियो । नेपालले पनि प्रतियोगितामा भाग लियो । नेपालले समूह सीअन्तर्गत अफगानिस्तानविरुद्धको खेल आयोजना गर्‍यो । त्यसवेला अफगानिस्तान एसियाकै नवप्रवेशी फुटबल राष्ट्रका रूपमा थियो । दशरथ रंगशालामै भएको प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय फुटबलको खासै अनुभव नभएको अफगानिस्तानमाथि हामीले ४–० को सानदार जित रच्यौँ । शरीरिक तथा प्राविधिक रूपमा अफगान बलियो थियो । तर, हामीले घरेलु मैदान, समर्थक र अनुभवका आधारमा अफगानिस्तानलाई हरायौँ । त्यो प्रतिस्पर्धामा मैले एउटा पेनाल्टी मिस गर्नुपरे पनि पछि भरपाई गरिछाडँे । खेलको ३९औँ मिनेटमा मैदानको मध्यभागबाट एक्लैले बल अगाडि बढाउँदै तीन अफगानी खेलाडीलाई कटाएर डिबक्सभित्रबाट सहजै गोल गरेको थिएँ ।


0 comments:

Post a Comment