Sunday, August 30, 2015

आन्दोलनमा सघाउन मधेसी नेताद्वारा भारतीय सहयोग माग


भाद्र १४, २०७२- आन्दोलनरत मधेसी मोर्चाका दुई नेताले मधेस र मधेसीको हितका लागि भारत उत्तर प्रदेश विधानसभा अध्यक्ष माताप्रसाद पाण्डेसँग सहयोगको याचना गरेका छन्। मधेसमा जारी आन्दोलन सफल बनाउन सहयोग माग्दै उनीहरूले सीमावर्ती गाउँ भारत सिद्धार्थनगरस्थित बढनीमा विधानसभा अध्यक्ष पाण्डेसँग आइतबार भेटेका हुन्। पूर्वराज्यमन्त्री तथा तमलोपा केन्द्रीय सदस्य ईश्वरदलाय मिश्र र सद्भावना केन्द्रीय सदस्य रविदत्त मिश्रले पाण्डेसँग भेट गरेका हुन्। उनीहरू दुवै जना एकैसाथ पाण्डे भेट्न गएका थिए। उनीहरूले आफ्नो माग उल्लेख गरिएको ज्ञापनपत्र पनि बुझाएका थिए। कार्यक्रममा उत्तर प्रदेश विद्यायकद्वय कमाल युसुफ र विजय पासवान, सिद्धार्थनगरका डिएम अखिलेश तिवारी र बढनी नगर पञ्चायत अध्यक्ष रामनरेश उपाध्यायको उपस्थिति थियो। आन्दोलन दुई साताभन्दा बढी बितिसक्दा पनि सरकार गम्भीर नभएको भन्दै उनीहरूले पहल गरिदिन सभाध्यक्षलाई आग्रह गरेका थिए। मधेसको संवृद्धिका लागि गरिएको आन्दोलनमा सरकारले सेना लगाएर दमन गर्न खोजेको गुनासो उनीहरूले भारतीय नेतासँग गरेका थिए।

उनीहरूले भने, सरकारले वार्ताको नाटक गरेर मधेसीलाई अल्मल्याउन खोजेको दु:खेसो गरेका थिए। स्रोतका अनुसार सार्थक परिणामका लागि दबाब दिन उनीहरूले अध्यक्षलाई आग्रह गरेका थिए। सरकारले त हाम्रो माग सुनेन, नेपाली सञ्चारमाध्यमले समेत समाचार राम्ररी नदिएर अन्याय गरेको आरोप उनीहरूले लगाएका थिए। ‘सहयोग र समन्वयका लागि विधानसभा अध्यक्ष भेटेका हौं,’ तमलोपा केन्द्रीय सदस्य मिश्रले भने। अध्यक्षले भने नेपालमा भइरहेको आन्दोलन हिंसात्मक हुँदा भारतलाई कस्तो असर पर्छ भन्दै चासो राखेका थिए। नवलपरासीदेखि कञ्चनपुरसम्म एक मधेस प्रदेश हुनुपर्ने माग गर्दै संयुक्त मधेसी मोर्चाले आन्दोलन गर्दै आएको छ। मोर्चाको आन्दोलनका कारण गत साउन २८ देखि मधेस ठप्प छ। सरकार र मधेसी मोर्चाबीच ०६४ फागुनमा भएको सम्झौता कार्यान्वयका लागि सहयोग गर्न आग्रह गरेको सद्भावना कन्द्रीय सदस्य मिश्रले जानकारी दिए। मधेस केन्द्रित आन्दोलनको प्रभाव भारतमा पनि पर्ने हुँदा यसबारे भारत बेलैमा सचेत हुनुपर्ने सुझाएको मधेसी नेताले बताएका छन्। ‘मधेस र मधेसी जनताको हितका लागि सहयोग गरेर वर्षौंदेखि शोषित–पीडित जनताको उत्थान गर्न आग्रह गरेका छौं,’ नेता मिश्रले भने। विधानसभा अध्यक्ष पाण्डेले उनीहरूको कुरा चासो दिएर सुनेका थिए। चार महिनापछि हुने ग्राम र क्षेत्र पञ्चायत निर्वाचनको छलफलका क्रममा अध्यक्ष पाण्डे बढनी आएका थिए। यसअघि गत मंगलबार पनि ३ सभासदले भारतको सिद्धार्थनगरमा लोकसभा सदस्य जगदम्बीका पालसँग भेटेर सहयोगका याचना गरेका थिए। सभासदत्रय अभिषेकप्रताप शाह, बृजेशकुमार गुप्ता र नरसिंह चौधरीले सक्दो छिटो मधेसको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको स्रोतले बतायो।

-कान्तिपुर बाट

0 comments:

Post a Comment