Monday, August 31, 2015

श्रीमान छाडेर विदेश गएकी युवती रोग बोकेर फर्किइन्


 काठमाडौं, भदौ १४ - श्रीमानको उपचार गर्दा र घर बनाउँदा मकवानपुरको थाहा नगरपालिका–९ का कविता गोलेको परिवारलाई ऋण लाग्यो । भाका पुगेपछि साहुले दिनरात ऋण तिर्न ताकेता गर्न थाले । तीनजना बालबच्चाको पढाई र लालनपालन गर्नु पनि थियो । अरु उपाय नभएपछि कविता र उहाँका श्रीमान विजयले घरमा मसिना बालबच्चालाई छाडेर विदेश जाने सल्लाह गर्नुभयो । 
तर विजय मेडिकलमा फिट नभएपछि विदेश जान पाउनु भएन । दुवै जनाले कमाउने र साहुको ऋण छिट्टै तिर्ने योजना त्यत्तिकै तुहियो । विदेश नगए ऋण तिर्न नसकिने निष्कर्षमा पुगेकाले कविता एक्लै भएपनि विदेश जाने निर्णयमा पुग्नुभयो । साउदी अरविया उडेकी कवितालाई जेठ २९ गते विमानस्थलमा विदाई गरेर विजय घर फर्किनुभयो । मेडिकलमा समस्या देखिएपछि विदेश जान नपाएका विजय वालवच्चाको स्याहारसुसार र खेती गर्दै घरैमा बस्नुभयो । कविता विदेश गएपछि विजयलाई आशा थियो अव साहुको ऋण दिनदिनै घट्दै जाने छ । म घर व्यवहार र बालबच्चाको ख्याल गर्छु । कवितालाई विदेश पठाएपछि साहुले पनि विजयलाई अव त ऋण छिट्टै तिर्लास भनेर सान्त्वना पनि दिन्थे ।


कविताले साउदी अरवमा काम सुरु गरिसक्नु भएको थियो । यो खबरले विजयलाई झनै खुसी मिल्यो । बालबच्चा पनि आमाले कमाउन थालेको सुनाउँदा खुसी हुन्थे । तर यो परिवारको खुसी धेरै दिन टिकेन । साउदीबाट कविताले विरामी परेँ भन्दै फोन गर्नुभयो । मासिक १ हजार रियल तलव भएपनि कविताले १५ दिन मात्रै काम गर्नुभयो । कवितालाई रोगले झनझन चाप्यो । त्यसपछि काम गर्ने कुरै भएन ।
त्यहि कम्पनीमा कार्यरत अरु नेपाली महिलाले उहाँलाई अस्पताल लगे । अस्पताल भर्ना भएपछि उहाँलाई बीसको उन्नाईस भएन  । यो खबरले मकवानपुरको घरमै बसेका विजयलाई उस्तै छटपटीमा पर्नुभयो । विरामी भएर परदेशमा थलिएकी कवितालाई नेपाल फर्काउन विजयले हारगुहार सुरु गर्नुभयो । परदेशमा साथीहरुले जसोतसो उपचारमा त सघाए तर पर्याप्त थिएन । रोगले झनझन च्याप्तै लग्यो ।
विरामी परेकी कविता साउदी पुगेको २ महिनामै नेपाल फर्किनु भएको छ । अहिले ललितपुरको पाटन अस्पतालमा उहाँको उपचार भैरहेको छ । तर रोग पत्ता लागेको छैन् । कमाउन गएकी कविता धनको सट्टा रोग लिएर फर्किनुभयो । उपचार गराउने खर्चको उस्तै अभाव छ । थला परेर साउदीबाट फर्किएकी कविता घरसमेत पुग्न सक्नु भएको छैन् । कवितालाई नेपाल फर्काउन काठमाडौं आएका श्रीमान पनि कवितासँगै अस्पतालमै हुनुहुन्छ । घरमा भएका बालबच्चा विद्यालय जानसमेत सकेका छैनन् । घरबाट बालबच्चाले फोन गर्छन आमा चप्पल फाट्यो कहिले ल्याईदिनुहुन्छ । तपाई नआएसम्म हामी विद्यालय जान सक्दैनौं । कविताको उपचारका लागि विजयले घर छाडेदेखि वालबच्चा विद्यालय गएका छैनन् ।
एकातिर साहुको ऋण अनि वालवच्चाको विजोग सम्झिँदा कवितालाई मुन्टो उठाउनै गाह्रो छ । साउदीमा आपत विपत पर्दा आफ्नै देशका दाजुभाइले पनि सहयोग गर्न सक्दैनन् । किनभने त्यहाँ सितिमिती पुरुषले महिलाको अनुहार हेर्न पाइन्न । हेर्दा कानून अनुसार कडा सजाय भोग्नुपर्छ । कवितालाई भेट्न र सहयोग गर्न कसैले पनि पाएनन् । कविता भन्नुहुन्छ, ‘विरामी हुँदा पनि सहयोग गर्न र हेर्नै नपाउने यस्तो देशमा कोही पनि नजाओस् ।’ 

0 comments:

Post a Comment