Sunday, August 30, 2015

सर्त सहितको वार्ता नगर्ने मनसाय बनाएपछि बाँकेमा सुरक्षा व्यवस्था कडा



नेपालगञ्ज , भदौ १४ सरकारले आन्दोलनकारीको सर्त सहितको वार्ता नगर्ने मनसाय बनाएपछि बाँकेमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।आन्दोलनकारीहरुले राखेको माग पूरा नभएपछि आन्दोलन चर्किने आशंकामा बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । बाँकेमा थरुहट मधेस संयुक्त संघर्ष र थरुहट संयुक्त संघर्ष समितिले गरेको आन्दोलन आइतबार शान्तिपूर्ण रह्यो । प्रशासनले आन्दोलन शान्तिपूर्ण रहेपनि सुरक्षा सतर्कता अपनाउँदै व्यापक सुरक्षाकर्मी परिचालन गरेको बुझिएको छ । बाँके प्रशासन स्रोतका अनुसारआफुहरु कुनै रिक्स लिन नचाहेको जनाएको छ ।

आन्दोलन उग्र भएमा त्यसलाई नियन्त्रणमा लिन तयारी अवस्थामा सुरक्षाकर्मी रहेको प्रहरी अधिकारीहरुको भनाई छ । नेपालगन्जका चोक चोकमा सशस्त्र र जनपद प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ । सोमबार विहानै देखि सुरक्षाकर्मी परिचालन गरिएको हो ।आइतबार बन्दका क्रममा केही पसल व्यवसाय समेत सञ्चालनमा रहेका थिए भने मोटरसाइकल, विद्युतीय रिक्सा निर्बाध रुपमा चलेका थिए ।शनिबार आन्दोलनकारी दलहरुले सेना ब्यारेक फिर्ता, संविधानसभाको प्रक्रिया रोक्ने, घाइतेको उपचार, मृतकलाई शहिद घोषणा लगायतका सर्त पूरा गरेमा मात्र वार्ता बस्न सकिने पत्र सरकारलाई बुझाएको थियो ।


आन्दोलनकारीको पत्रको जवाफ दिंदै आइतबार सरकारले तत्काल सेना र सशस्त्र फिल्डबाट पछि नहट्ने संकेत गरेको छ । सरकारले आन्दोलनकारीको पत्रको जवाफ दिंदै वार्ता सुरु भएपछि स्थिति शान्त हुने र सुरक्षाकर्मी आफै फिर्ता हुने आशय उल्लेख छ ।पत्रमा प्रधानमन्त्री सुशिल कोइरालाले वार्ता र सहमतिमा पुग्ने प्रयत्न संगै तराई–मधेशमा हिंसा, जनधनको नोक्सानी, तोडफोड र त्रासको वातावरणमा सुधार हुने र त्यसपछि सेना र सुरक्षा निकाय सामान्य जिम्मेवारीमा फर्कने पनि उल्लेख गर्नुभएको छ ।प्रधानमन्त्री कोइरालाले संघीय समाजवादी फोरम,तराई –मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपाललाई पठाउनु भएको पत्रमा सम्वन्धित पार्टीहरुका तर्फबाट उठाइएका विगतका सम्झौता तथा सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सरकारले यस अघि गरेका निर्णय र प्रस्तावित संविधानको विधेयकमा समेटिएका विषयलाई एकीकृत गरी वार्तामा बसेर छलफल गर्न सकिने बताउनु भएको छ ।



प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारीसभा तथा थारुहट र थारुवान संयुक्त संघर्ष समितिलाई पनि पुन अर्को पत्र पठाएर वार्ताको लागि आग्रह गर्नुभएको छ ।पत्रमा सभा र संयुक्त संघर्ष समितिले चार दलको उपस्थितिमा वार्ता होस भनी राखेको मागलाई आफूले चार दलका शीर्ष नेताहरुके सक्रिय सहभागिता र सहमतिमा नै छलफल र वार्ताको प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै भन्नुभएको छ , वार्तालाई परिणाममुखी बनाउने कुरामा चार दल समान ढंगले चिन्तित र क्रियाशील रहेका छन् ।उहाँले वार्ताद्वारा स्थिति सामान्य भए संगै शान्ति सुरक्षा कायम गर्न चालिएका प्रशासनिक र सुरक्षा सम्बन्धि विषय सामान्य स्थितिमा फर्कने पनि विश्वास दिलाउनुभएको छ ।उहाँले भन्नुभएको छ, संवादको माध्यमबाट समस्या समाधान गर्न र परिस्थितिलाई सामान्य बनाउन तपाइँको परिपक्व र सुझबुझपूर्ण नेतृत्वले मद्दत पुराउनेमा म विश्वस्त छु ।” प्रधानमन्त्री कोइरालाले शान्तिपूर्ण छलफलमाथि विश्वास राख्दै वार्तामा आउनु पुन अनुरोध गर्नुभएको छ ।

0 comments:

Post a Comment