Sunday, August 30, 2015

वर्षमान पुन र जनार्दन शर्माकाे सहभागितामा टिकापुर घटनाकाे योजना बनाइएकाे एमाले सचिव भट्टराईकाे अारोप


भाद्र १४, २०७२- एमाले सचिव योगेश भट्टराईले अब सात प्रदेशबाट माथि नजाने अडानमा रहनुपर्ने धारणा राखेका छन् ।

एमाले केन्द्रीय प्रचार विभागद्वारा आज यहाँ आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सचिव भट्टराईले एमालेको भदौ ९ गतेको स्थायी कमिटीको बैठकले अब प्रदेशका सङ्ख्या बढाउन नहुनेमा जोड दिएको बताउँदै यसबीचमा उठेका असन्तुष्टिका सवाललाई सम्बोधन गर्न प्रस्तावित प्रदेशका जिल्लालाई यताउता गर्न सकिने बताए ।

उनले आवश्यक पर्दा मुस्लिम, थारु, मधेसी वा जनजातिका संवैधानिक आयोग बनाउने विषयमा एमाले सकारात्मक भएको जानकारी दिए ।
“संविधान निर्माण गरेर मुलुकलाई छिटो निकास दिनुपर्छ भन्ने सवालमा पार्टी इतिहासमै पहिलोपटक बढी एकीकृत भएको छ”, उनले भने ।

सचिव भट्टराईले अमेरिकी र पश्चिमा शक्तिले नेपालमा टेकेर भारत र चीनलाई हेर्ने काम गरिरहेकाले संविधान निर्माणमा उनीहरुको पनि आफ्नो चासो रहेको बताउँदै नेपाललाई छिन्न भिन्नसहितको राष्ट्र मण्डल होइन, एकीकृत नेपाल बनाउने संविधान आवश्यक भएकाे बताए ।

उनले एमाओवादीका नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटनाको योजना बनाइएको आरोप लगाए । यसले एमाओवादीलाई अनिश्चिततातर्फ र मुलुकलाई अराजकतामा धकेल्ने उनकाे विश्लेषण छ ।

कार्यक्रममा एमालेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीले जनवर्गीय सङ्गठनलाई अधिकारका सवालमा लड्न रोक नलगाएको तर नियन्त्रण बाहिर नजान भनेको स्पष्ट पारे ।

0 comments:

Post a Comment