Sunday, August 30, 2015

अब नेपालको यात्रुबसमा 'हवाई जहाजसरह सुविधा'


पोखरा- यातायात व्यवसायीले ठूलो लगानीमा सुविधासम्पन्न बस चलाउन थालेका छन्। पोखरा जगदम्बा ट्राभल्सले नेपालमा सञ्चालित यात्रुबाहक सवारीको तुलनामा निकै सुविधासम्पन्न बस भित्र्याएको दाबी गरेको छ।


जगदम्बाका अध्यक्ष केशवप्रसाद अधिकारीले उनको कम्पनीले चलाएको बसमा यात्रा गर्दा यात्रुले हवाइजहाजमा जत्तिकै सुविधा पाउने बताए। उनका अनुसार आरामदायी सिट भएको बसमा मिनीबार पनि छ। यात्रुले चिया, कफी र चिसो पेय गाडीमै पाउनेछन्।

२१ सिटे बसको क्याबिनभित्र 'मिनीबार' छ। यसमा फ्रिज र चिया, कफी मेकर छ। यात्रुले ब्रेकफास्ट गाडीमै पाउने र लन्च राजमार्गका होटलमा व्यवस्था हुने उनले बताए। 'एसी, हिटर, पंखा, आरामदायी सिट यो बसका प्रमुख सुविधा रहेको उनले बताए। 'मिनीबार, ब्रेकफास्ट, बस्ने सिट, एसी, हिटर लगायत सुविधाले जहाजकै यात्रासरह बनाउनेछ,' उनले भने।

उनका अनुसार यात्रुले कुनै सुविधा चाहिए सिटको स्विच दबाउनुपर्नेछ। बसमा रिमोट कन्ट्रोलरबाट चल्ने सिट छन्। रिमोटबाटै बसको सिट फोल्ड गर्न, उचाल्न र तल झार्न सकिनेछ। अधिकारीका अनुसार बसका हरेक सिटका लागि हिटर, कपडा झुन्डाउने, पत्रिका र किताब राख्ने विशेष ठाउँ छ। चियाकफीको गिलास राख्न छुट्टै ठाउँ बनाइएको छ। ओर्लने बेला यात्रुलाई 'डेजर्ट' खान दिइनेछ। बस एकैठाउँबाट चढ्ने र एकठाउँमै मात्र ओर्लने व्यवस्था मिलाउने अधिकारीले बताए।

यो बसको पछाडि 'एयर सस्पेन्सन राखिएको र यले बसलाई खाडलमा पर्दा बेसरी हल्लिन नदिने उनले बताए। चिया–कफी पिउँदा हल्लिने डर भएकोले एयर सस्पेन्सन राखिएको उनले बताए।

बसको मूल्य प्रतिगोटा १ करोड ७५ लाख रुपैयाँ परेको अधिकारीले बताए। कम्पनीले हाल यस्ता बस २ वटा ल्याएको छ। भारतको अशोक लेल्यान्ड कम्पनीमा निर्मित बसको प्रत्येक सिटका लागि करिब ८५ हजार भारतीय रुपैयाँ परेको उनले बताए। 'साढे ३ करोड रुपैयाँमा दुइवटा बस भित्र्याएका छौं। सुविधाकै लागि यतिधेरै लगानी गरेका हौं,' उनले भने।

बसभित्र पार्केटिङ गरिएको छ। कुनै पनि झ्याल खोल्न मिल्दैन। एसी, पंखा, वाइफाई सुविधा बसभित्रै उपलब्ध हुने उनले बताए। अधिकारीका अनुसार बस पोखरा–काठमाडौं–पोखरा रुटमा चल्नेछन्। एउटा बस पोखरा आइसकेको छ। दोस्रो केही दिनमै आउने र डेढ सातापछि व्यावसायिक रुपमा सञ्चालन गरिने छ।

बसभाडा स्वदेशीलाई प्रतिव्यक्ति २ हजार र विदेशीलाई २५ सय तोकिएको छ। यो भाडाले खाना, खाजा सहित बसभित्र चिया, कफी, चिसो पेय, पानी निःशुल्क पाइनेछ। 'यात्रुले भाडा तिरेपछि मन लागे जति खान, पिउन पाउनेछन्,' अधिकारीले भने, 'गाडीभित्रका कुनै पनि सुविधा लिन थप पैसा तिर्नुपर्दैन।' बसमा यात्रा गर्ने हरेक यात्रुको झोला नसाटियोस र नहराओस भनेर 'लगेज ट्याग' दिने कम्पनीको योजना छ।

यात्रुको सुविधामा महिला कर्मचारी (ग्राउन्ड होस्टेज) खट्नेछन्। चालक र सहचालकबाहेक एकजना 'ग्राउन्ड होस्टेज' रहने उनले बताए। ग्राउन्ड होस्टेजको काम यात्रुको सेवा गर्ने हुनेछ। 'यात्रुलाई चिया–कफी, चिसो, खाना, खाजाको सुविधाको लागि ग्राउन्ड होस्टेज खटिनेछन्। सहचालकले बसको रेखदेख गर्नेछन्,' उनले भने, 'हवाइजहाजको जस्तै सडकमा गुड्दा पनि दिन खोजेका हौं। बसका चालक, सहचालक र ग्राउन्ड होस्टेज सबैका लागि भिन्दै पोसाक व्यवस्था गरिनेछ।' पोखराबाट गएका र काठमाडौंबाट आएका होस्टेज खाना खाने ठाउँमा साटफेर गरिने उनले बताए।

कम्पनीले बसमा हिँड्ने सबै कर्मचारी छनोट गरेर प्रशिक्षण दिइसकेको छ। 'यात्रुलाई कस्तो व्यवहार गर्ने भनेर उनीहरुलाई सिकाएका छौं। चालक, सहचालक, ग्राउन्ड होस्टेज सबैलाई प्रशिक्षण दिएका छौं,' उनले भने। यातायात क्षेत्रमा नयाँ अनुभव दिन ठूलो लगानी गरेको उनले बताए।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्ष ऐनकुमार साईले व्यवसायको स्वरुप परिवर्तन गर्ने क्रममा नयाँ र सुविधासम्पन्न बस भित्र्याउन थालेको बताए। 'अरु व्यवसायीका लागि यो सिकाइ हुनसक्छ,' साईले भने, 'यात्रुले अहिले गाडी मात्र होइन सुविधा खोज्छन्।' व्यवसायीले परिवर्तन चाहे पनि सरकारले सडक मर्मत सम्भारमा उति चासो नदिएको उनले बताए।

0 comments:

Post a Comment