Thursday, June 30, 2016

दार्चुलामा बाढी पहिरो, २ को मृत्यु १ बेपत्ता

१७ असार, दार्चुला । गए रातिदेखिका अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का अन्दाजी २५ वर्षीय वशन्ती धामी र सर्मोली गाविस वडा नं ४ का ७२ वर्षीय चन्द्रदेव पन्त रहेेका छन ।
बिहीबार राति परेको अविरल वर्षाका कारण घरमाथि बाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख डिएसपी सुशील सिंह राठौरले जानकारी दिए ।
यस्तै अपी नगरपालीका वडा १७ काकडामा पहिरोले घर पुर्दा एक महिला बेपत्ता भएकी छिन् । स्थानीय प्रेम सिंह महराकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता महिलाको नाम भने खुल्न सकेको छैन । यसै गरी पहिरोकै कारण भारतसँग सिमानाका जोडीएको जौैलजिवी प्रहरी चौकी भवन समेत पहिरोको उच्च जोखीममा रहेको छ ।

फेसबुकले बदल्यो लाइक बटन

फेसबुकले आफ्नो सानो निलो रंगको लाइक बटनलाई रिडिजाइन गरेको छ । उक्त बटनबाट फेसबुकले फेसबुकको लोगो हटाउँदैछ ।
फेसबुकका अनुसार प्रयोगकर्ताहरु लाइक बटनको एफ वा लोगोमा भन्दा लाइकको थम्स अप वाला सिम्बोलमा बढि क्लिन गर्ने गरेको अध्ययनले देखाएको छ ।
फेसबुकले आफ्नो ब्लग पोष्टमा लेखेको छ: हाम्रो अनुमान थियो की मानिसहरु लाइक बटनमा थम्स अपको आइकनलाई राम्रोसँग बुझ्नेछन् ।
त्यसका लागि हामीहरुले परीक्षण गर्यौँ । परीक्षणको नतिजा अनुसार थम्सअप वाला बटनले प्रयोगकर्ताको फेसबुकमा इनगेजमेन्ट बढेको पाइयो । त्यसैले हामीले लाइक बटनबाट एफ लोगो हटाएर थम्स अपको आइकन हाल्दैछौँ ।
यसका साथ फेसबुकले Share, follow tyf save to facebook बटनलाई पनि रिडिजाइन गरेको छ । तर यिनमा एफ लोगो भने हटाइएको छैन । फेसबुकका अनुसार नयाँ डिजाइनबाट फेसबुकका धेरै क्लिक प्राप्त हुनेछ । फेसबुकका अनुसार आगामी हप्तादेखि फेसबुकले गरेका यी अपडेट्स प्रयोगकर्ताले अनुभुति गर्न पाउनेछन् ।
कम्पनीले क्रोम ब्राउजरका लागि पनि केही नयाँ एक्सटेन्सन जारी गरेको छ । जसबाट कजबचभ तथा कबखभ गर्नका लागि फेसबुक ओपन गर्नु आवश्यक पर्नेछैन । यो एक्सटेन्सन क्रोम वेब स्टोरमा उपलब्ध रहेको छ

करेलादेखि तुलसीसम्म : पत्थरी हटाउने १० घरेलु उपाय

आज भोलि पत्थरी रोगका कारण धेरै व्यक्ति समस्यामा छन् । यसका रोगीका संख्या बढ्दो छ । खाने कुरमा ध्यान पुर्याउने हो भने घरमै बसेर यस रोगको रोकथाम गर्न सकिन्छ । यहाँ यस रोगबाट बच्नका लागि केही घरेलु उपायहरु प्रस्तुतः
१. तुलसी : तुलसीको ५–६ पत्तालाई एक कप पानीमा उमाल्नुहोस् । यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।
२. करेला : करेला खानुहोस् वा यसको जुस पिउनुहोस् । यसमा म्याग्नेशियम र फ्रोस्फोरस नामक तत्व हुन्छ , जसले पत्थरी कम गर्छ ।
३. केरा : केरामा भिटामिन बि 6 पाइन्छ । यसले पत्थरी हुनबाट जोगाउँछ । दैनिक आफ्नो डाइटमा ३–४ केस्रो केरा खानुहोस् वा यसको सेक पिउनुहोस् ।
४. ध्यूकुमारी : ध्यूकुमारीमा भिटामिन बी६ र पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । दैनिक रुपमा बिहान–बिहान यसको जुस पिउनुहोस् ।
५. कागती पानी : कागतीमा साइट्रिक एशिड पाइन्छ । यसले क्याल्सियमलाई पत्थरी बन्नबाट रोक्न सक्छ । पत्थरी भएको खण्डमा दैनिक २–३ ग्लास कागती पानी पिउनुस् ।
६. प्याज : प्याजमा पोटाशियम र भिटामिन बी पाइन्छ , जसले पत्थरीबाट राहत दिन्छ । यसको रसमा सख्खर मिसाएर खानुहोस् । तपाईलाई राहत मिल्छ ।
७. मिश्री : दुई ग्लास पानीमा आधा कप मिश्री, सुप र सुख्खा धनियाँ रातभर भिजाउनुहोस् । बिहानै यसलाई छानेर खानुहोस् । पत्थरीको समस्या कम हुन्छ ।
८. चेरी : यसमा भिटामिन सि र एन्टी अक्सीडेन्टस् पर्याप्त मात्रा हुन्छ । दैनिक रुपमा चेरीको सेवन गर्नाले पत्थरीको समस्या कम भएर जान्छ ।
९. खरबुजा : खरबुजामा पोटाशियम र पानी पर्याप्त मात्रामा हुन्छ । दैनिक रुपमा खरबुजा खाने वा यसको जुस पिउनाले राहत मिल्छ ।
१०. अंगूर : अंगूरमा पाटोशियम र पानी भरपुर मात्रामा पाइन्छ । यसलाई नियमित खानाले वा नियमित रुपमा यसको जुस पिउनाले पत्थरीको समस्या कम भएर जान्छ ।
एजेन्सीको सहयोगमा
-

‘गुण्डा नाइके’ दीपक मनाङ्गे पक्राउ

१७ असार, काठमाडौं । नेपाल प्रहरीले गुण्डा विरुद्धको कारवाही तीव्र पारेको छ । विहीबार राति राजधानीमा केही गुण्डा नाइकेहरुको अखडामा छापा मार्नुका साथै प्रहरीले पुराना ‘डन’ दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।
विहीबार राति प्रहरीले मनाङेसहित उनका सहयोगी राजिवकुमार सिंहलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए । उनले काठमाडौंमा गुन्डागर्दी गर्नेहरु विरुद्धको कारबाही थालिएको बताए ।
गतसाता मात्रै प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी बबरमहलबाट पक्राउ गरेको थियो ।
मनाङ्गेले सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका छन् । यसैक्रममा उनले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएको  र त्यही कारण उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । मनाङ्गेमाथि ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी परेको छ ।

उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा

१७ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ । उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो । सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ ।

उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए ।
महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यत: २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो । सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ । नेपालमा मनसुन सामान्यत: २८ जेठदेखि सुरु भएर असोज पहिलो सातासम्म सकिने अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यस वर्षको मनसुनमा क्षेत्रगत रूपमा सुदूरपश्चिमका तराई–पहाडी क्षेत्रमा औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण छ । नेपालमा वर्षमा १४ सय मिलिमिटर पानी पर्ने गर्छ ।

‘संविधानविरोधी’ मन्त्रीलाई हटाउन कांग्रेसको माग

१७ असार, काठमाडौं । कांग्रेसले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दै हिँड्ने मन्त्रीहरूलाई कारबाही गर्न माग गरेको छ ।बिहीबार व्यवस्थापिका–संसद् बैठकको ‘शून्य समय’मा बोल्दै कांग्रेस सांसदले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीलाई कारबाही गर्न माग गरेका हुन् ।
‘प्रधानमन्त्री लाचार हुनुभयो’ कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले जिम्मेवार मन्त्रीहरूले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दा पनि प्रधानमन्त्री मूकदर्शक बन्दै लाचार भएर बसेको आरोप लगाइन् ।
‘सरकारमा सहभागी दुई दलका मन्त्री संविधानविपरीत बोल्ने मात्र होइन, सडक गतिविधिमै सक्रिय छन्, उनीहरूका गतिविधि प्रधानमन्त्री लाचार भएर हेरिरहेका छन्, प्रधानमन्त्रीले किन कारबाही गनुुहुन्न ?’ सांसद न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’अाजको नयाँ पत्रिकामा समाचार छ ।
संविधानले आत्मसात् गरेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा ती मन्त्री र तिनका दलले खुलेआम देशव्यापी कार्यक्रम गरिरहेका छन् । अहिले सरकारमा सहभागी १२ दलमध्ये संविधानविपरीत ६ दलले गतिविधि गरिरहेको आरोप लाग्दै आएको छ । ‘सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ, तर आफ्नै क्याबिनेटका मन्त्री संविधानविपरीत बोल्दै हिँड्दा पनि प्रधानमन्त्रीले कारबाही गर्न नसक्दा संविधान कार्यान्वयनमा शंका छ,’ न्यौपानेले भनिन् ।

नयाँ शक्तिमा वरीयता विवाद

१७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराएैको नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।
पार्टीको हालै सम्पन्न सचिवालय बैंठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपति दोस्रो बरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।

नयाँ शक्तिले सह-संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो । मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपति यो संरचनाले पार्टी विकास नुहेन भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बताएको आजको राजधानीदैनिकमा समाचार छ ।
नयाँ शक्तिका नेता पर्शुराम तामाङले वरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने बताए ।
कतिपय नेताले भने पार्टी सहसंयोजक चयन नयाँ शक्तिकै अन्तरिक विधान विपरित भएको समेत टिप्पणी गरेका छन्  ।

शिक्षकलाई पनि डीभी-पीआरमा रोक

१७ असार, काठमाडौं । डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामूदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ ।
बुधवार राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको शिक्षा ऐनले सो ऐन लागू हुनुपूर्व यस्ता आवासीय अनुमति लिएकाको हकमा समेत लागू हुने गरी कानुनी व्यवस्था गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

ऐनले भुतलक्षित कानुन निर्माण गर्दै विगतमा यस्तो आवासीय अनुमति लिएकालाई समेत कारबाहीको दायरामा ल्याएको हो । निजामती ऐनले सरकारी कर्मचारीलाई डीभी, पीआर र गि्रनकार्ड लिन रोक लगाएपछि शिक्षा ऐनमा समेत यस्तो व्यवस्था गरी शिक्षकमाथि कडाइ गरिएको हो ।
संशोधित ऐनमा आवासीय अनुमति लिएका र लिने प्रक्रियामा रहेकाहरुले दुई महिनाभित्र फिर्ता गरेको अवस्थामा भने माफी दिन सकिने व्यवस्था छ ।
‘सामूदायिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिनु हुँदैन । यो दफा प्रारम्भ हुनु अघि कसैले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन गरेको भए त्यस्तो शिक्षक वा कर्मचारीलाई भविष्यमा निजले काम गरेको सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ,’ ऐनको दफा ३० को उपदफा १६ -ङ१) मा भनिएको छ । शिक्षक तथा कर्मचारीले विदेशमा आवासीय अनुमति लिएर बस्ने क्रम बढेको भन्दै संशोधित ऐनमार्फत कडाइ गरिएको हो ।
यो व्यवसथासँगै अब सामुदायिक विद्यालयका शिक्षकले आवासीय भिसाको प्रक्रियामा सहभागीसमेत हुन नपाएने भएका छन् ।

भैरहवा बजारका सीसीटिभी क्यामरालेकाम गर्न छाडे

१७ असार, काठमाडौं । सुरक्षाका लागि भैरहवा बजार तथा अन्य क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटिभी क्यामराहरुले काम गर्न छाडेका छन् ।
भैरवाह बजारमा १२ स्थानमा सीसीटिभी क्यामरा जडान गरिएकोमा तीनवटाले मात्र काम गरिरहेको जिल्ला प्रहरी कार्यलय, रुपन्देहीले जनाएको छ ।
सडक विस्तार गर्दा र बनाउँदा तार चुडिँनुका साथै अन्य विविध कारणले विगिैका क्यामराहरु मर्मत नहुँदा पनि सो क्यामराले काम गर्न छाडेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
त्यसैगरी सुरक्षाका दृष्टिकोणले निर्क संवेदनशील मानिने बेलहिया नाकामा लगाइएका आठवटा क्यामरामध्ये ४ वटा मात्र सञ्चालनमा छन् ।
बेलहीयमा लगाइएको सो क्यामेराको तस्विर जिल्ला क्षेत्र हुँदै प्रहरी प्रधान कार्यालयमा समेत हेर्न सकिन्छ ।

पोल्याण्ड पेनाल्टीमा चुक्यो, पोर्चुगल सेमिफाइनलमा

काठमाडौं । पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।
निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।
यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा रेनाटो सान्चेसले बराबरी गोल गरे ।
सेमिफाइनलमा पुग्ने क्रममा पोर्चुगलले एउटा खेल पनि निर्धारित समयमा जितेको छैन । समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा उसले क्रोएसियालाई अतिरिक्त समयमा गोल गर्दै हरनएको थियो ।
इुरोपियन च्याम्पियनसिपमा अहिलेसम्म कुनै पनि टोली यसरी ९० मिनेटको खेलमा नजिति यतिलामो यात्रा गरेको थिएन । अझ रोचक त के भने पोर्चुगलले यो सिंगो प्रतियोगितामा १९ मिनेट मात्र खेलमा अग्रता लिएको छ ।
अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ ।

२०७३ साल असार १७ गते। शुक्रबारको राशिफल

वि.सं. २०७३ साल असार १७ गते। शुक्रबार। इश्वी सन् २०१६ जुलाई १ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– द्वादशी, २२:५० बजेउप्रान्त त्रयोदशी।                        उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। सहयोगीहरू जुटाउने प्रयत्न गर्नुहोला। विगतको श्रमबाट लाभ हुनेछ। आर्थिक रूपमा कम फाइदा भए पनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। कामबाट पनि फुर्सद पाइनेछ। प्रशंसकहरू बढ्नेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि,प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा राम्रै लाभ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले झुक्याउन सक्छन्। विशेष योजना गोप्य राख्नुहोला। आश्वासन दिनेहरूबाटै धोका हुन सक्छ। चिताएको काम आंशिक मात्र बन्नेछ। भूमि र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। तापनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सफलता प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुहोला। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले आँटेका काम बन्नेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अर्थ अभावले पहिलेको योजना स्थगित हुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नभए पनि मनग्य धन आर्जन हुनेछ। शुभचिन्तकहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। फाइदाका लागि योजना गोप्य राख्नुहोला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै दु:ख पाइने समय छ। नीति-नियमसम्बन्धी कडिकडाउको सिकार भइनेछ। हस्तक्षेप गर्नेहरूले पनि सताउनेछन्। काम बिग्रने तथा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम तत्काल पूर्ण नहुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आलस्य गर्दा अवसरबाट वञ्चित भइनेछ। कामको प्रक्रिया नमिल्नाले दोहोर्याउनुपर्ला। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा सामान्य फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। नेपाली पात्रोबाट

‘बालबालिकाका नाममा वर्षमा २० अर्ब भित्रिन्छ, ७० प्रतिशत गोष्ठीमै सकिन्छ’

१६ असार, काठमाडौं । सरकारी अधिकारीहरुले कतिपय अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपाली बालबालिकालाई कमाइ खाने र भ्रष्ट्राचारको माध्यम बनाइरहेको भन्दै त्यस्ता संस्थालाई फिर्ता पठाउनुपर्ने बताएका छन् ।
उनीहरुले अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा बालअधिकारका नाममा तारे होटलमा गोष्ठी गरेर प्रगति विवरण बनाउने प्रवृत्ति मौलाएको भन्दै त्यस्ता संस्थालाई नेपालमा बस्न दिन नहुने बताए ।

केन्द्रीय बाल कल्याण समितिले बिहिवार ललितपुरमा गरेको बालश्रम न्युनिकरण सम्बन्धी छलफलमा समितिका अध्यक्ष डिल्लीराम गिरीले बालअधिकार संरक्षणको नाममा हरेक वर्ष २० अर्ब भित्रिने गरेको तर त्यो रकमको ७० प्रतिशत तारे होटलको गोष्ठी र सेमिनारमा मात्र  खर्च हुने गरेको तथ्यांक प्रस्तुत गरे ।
उनले सरकारको योजना अनुसार काम गर्नुको साटो तारे होटलमा गोष्ठी र सेमिनार गरी प्रगति विवरण बनाउने संस्थालाई तत्काल फिर्ता पठाइनुपर्ने बताए ।
उनले अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले भित्र्याएको अधिकांश रकम गोष्ठी र सेमिनारमा खर्च भइरहेका कारण बाल श्रमिकहरुको समस्या समाधान हुन नसकेको बताए । गिरीले बाल श्रमिकहरु राख्नेमाथि खरोरुपमा उत्रिन प्रहरीसँग आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले बालबालिकाहरुमा पछिल्लो समय पोर्नोग्राफीको कुलत बढेको बताए ।
उनले इन्टरनेट र एन्ड्रोइड फोनको विकाससँगै बालबालिकाहरुमा पोर्नोग्राफीको लत बढेको  तथा यो लतले चाँडो विवाह गर्ने र डिभोर्सका घटना बढाएको बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले बालबालिकालाई पोर्नोग्राफीको लतमा पर्न नदिन अभिभावकहरुले सजगता नपनाए यसले भविष्यमा विकराल रुप लिने खतरा औंल्याए ।

नयाँ शक्तिमा रामराम भन्न पाइने, ध्यान र प्राणायम अनिवार्य

१६ असार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले विहीबार नयाँ बानेश्वरमा पत्रकार भेटघाटको आयोजना गरेका थिए, जहाँ एक पत्रकारले उनलाई ‘महेन्द्रकालीन राष्ट्रिय पोशाक’ दौरा-सुरुवालबारे नयाँ शक्तिको दृष्टिकोण सोधे ।

जवाफमा डा. भट्टराईले आफ्नो पार्टीले धोती, बख्खु वा दौरासुरुवाल जे भए पनि सबै जातजाति र समुदायका पोशाकलाई समदृष्टिले हेर्ने बताए । साथै उनले जोजोलोप्पा, सेवारोदेखि लिएर कसैले रामराम भन्छ भने पनि आपत्ति नहुने स्पष्ट पारे । ‘हामी सबै समुदायका पोशाक र संस्कृतिलाई समानरुपमा हेर्छौं,’ डा. भट्टराईको भनाइ थियो, कसैले नमस्कार भन्छ, कसैले रामराम भन्छ भने पनि पाउँछ ।’
कार्यक्रममा डा. भट्टराईले पूर्वीय संस्कृति र दर्शनको पक्षमा पनि बोले । आफूहरुले पश्चिमी दर्शन र सिद्धान्तमात्रै होइन, पूर्वीय दर्शन र संस्कृतिमा पनि जोड दिने उनले बताए ।
आफ्नो पार्टीका नेता कार्यकर्ताले ध्यान र योगलाई जीवनशैलीका रुपमा अपनाउने उनले बताए । तनाव भएका बेला ध्यान गर्‍यो भने रिप|mेस भइने बताउँदै उनले यसलाई विज्ञानका रुपमा लिनुपर्ने बताए ।
अध्ययन गर्न छाडियो, पहिलेकै उग्राउँदैछु
पत्रकार समक्ष डा. भट्टराई नयाँशक्ति सांगठानिक सिद्धान्तको व्याख्या गरिरहेका थिए । यसक्रममा उनले विधानमा रहेका १५ वटा बुँदाहरुको व्याख्या गरे । त्यसको १४ औं नम्बरमा ‘अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता दिने’ उल्लेख छ ।
यो बुँदाको व्याख्या गर्ने क्रममा डा. भट्टराईले विगत ३० वर्षयता आफ्नो अध्ययन गर्ने बानी घटेको सुनाए । ‘पीएचडी गरेका बेलासम्म जति पढियो, अहिले म त्यसैलाई घाँस उग्राए जसरी उग्राउँदैछु, अध्ययन गर्ने बानी मेरो पनि कम भएकै हो ।’
कुनै पनि राजनीतिक दलका नेता कार्यकर्तामा अध्ययन अनुसन्धान गर्ने आदत कम हुँदै गएको भन्दै डा. भट्टराईले अब नयाँ शक्तिले अध्ययन संस्कृतिको विकास गर्ने बताए ।
विधानको १५ औं नम्बरमा भएको विवरण पढ्दै उनले नयाँ शक्तिले पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्राणायमजस्ता विधिहरु उपयोग गर्न प्रेरित गर्ने बताए ।

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

काठमाडौँ, १६ असार । काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । 

मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरी विस्तृत परियोजना प्रस्ताव निर्माणको काम सुरु गरेको छ । 

आव २०७३÷०७४ को बजेट वक्तव्यमा उपत्यकामा मोनो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएअनुसार काम अघि बढाइएको बोर्डका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले राससलाई जानकारी दिनुभयो । “लगानी बोर्ड ऐनमा मोनो र मेट्रो रेल निर्माणको विषय उल्लेख नभएकाले मन्त्रिपरिषद् बैठकले निर्णय गरी काम गर्न तोकेको हो, यसअघि बोर्डको विसं २०७२ माघ १० को निर्णयअनुसार यो विषय मन्त्रिपरिषद्मा पुगेको थियो”– उहाँले भन्नुभयो । 

यसअघि विसं २०६८ मा रेल विभागले कोरियाली कम्पनीमार्फत उपत्यकामा विद्युतीय मेट्रो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो । मन्त्रालयबाट मन्त्रिपरिषद् हुँदै लगानी बोर्डमा पुगेको प्रतिवेदनका आधारमा दुई वर्षअघि नेपाल मेट्रो प्रालिले विस्तृत परियोजना विवरण निर्माणको इच्छा देखाएको थियो । 

सरकारको वित्तीय दायित्व नपर्ने गरी परियोजना विवरण निर्माणका लागि बोर्डले अनुमति दिएपछि कम्पनीले आफ्नै लगानीमा काम गर्ने हो भने निर्माण पनि गर्न पाउनुपर्ने माग गरेको थियो । बोर्डले निर्माणका लागि पहिले नै अनुमति दिन नसकिने भनेपछि कम्पनी बाहिरिएको थियो । रासस 

कमल थापाको विद्रोही पार्टी फुट्यो

असार १६, काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालसँग विद्रोह गरेर बनेको राप्रपा नेपाल समानान्तर पार्टी फुट्न पुगेको छ । कार्यबहाक अध्यक्ष गणेश शेरचनलाई बहुमत केन्द्रीय सदस्यको बलमा हटाइएको असन्तुष्ट समुहले घोषणा गरेको छ ।
आज राजधानीमा उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा बसेको समानान्तर पार्टीको बैठकले शेरचनलाई हटाउने निर्णय गरिएको पार्टी महामन्त्री श्याम तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए ।

असन्तुष्ट समुहले बहुमत केन्द्रीय समितिको बलमा शेरचनलाई हटाएको घोषणा गरेसँगै पार्टी झुट्न पुगेको हो । राप्रपा नेपाल समानान्तर पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले पार्टीलाई सहि नेतृत्व दिन नसकेको , एकता प्रक्रियामा बाधा खडा गरेको लगायतका कारणले उनलाई हटाउने निर्णय गरिएको रातोपाटीलाई बताए ।
शेरचनलाई कारबाही गर्ने निर्णय गरेको राप्रपा समानान्तरले राप्रपासँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय समेत गरेको छ । यस्तै एकीकृत राप्रपा निर्माण अभियानमा लागिपर्ने समेत बैठकले निर्णय गरेको लावतीले बताए ।
फुटपछि गणेश शेरचन समुह भने कसरी अघि बढ्न भन्नेबारे खुल्न बाँकी रहेको छ । उनको समुहमा पनि प्रभावशाली नेताहरु रहेको बताइएको छ ।
यसैबीच केहि महिनाअघि मात्रै कमल थापाको कारबाहीमा परेका केशरबहादुर विष्ट समुहसँग एक्ताअघि मिलेर जाने विषयमा समानान्तर सहमत भएको बुझिएको छ ।
कमल थापासँग छुट्टिएर बनेको समानान्तर पार्टीका अध्यक्ष पद्मसुन्दर लावतीको एकवर्षअघि निधन भएसँगै कार्यबहाकको अध्यक्ष शेरचनलाई दिइएको थियो ।

बैतडीमा १७० जना एचआइभी सङ्क्रमित

बैतडी, १६ असार । बैतडीमा १७० जना एचआइभी सङ्क्रमित रहेको पाइएको छ । 

पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा १७० जनामा एचआइभीको सङ्क्रमण पत्ता लागेको हो । यसमा ८४ पुरुष र ८६ जना महिला रहेका छन् । तीमध्ये १८ जना बालबालिका रहेका एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज कार्यक्रमका संयोजक लोकेन्द्र पन्तले जानकारी दिनुभयो । 

“एचआइभी सङ्क्रमितमध्ये ११६ जनाले मात्र एआरटी औषधि लिइरहेका छन्,” उहाँले भन्नुभयो – “चवन्न जना नयाँ सङ्क्रमित पत्ता लागेका छन् ।” नयाँ पत्ता लागेकाले एआरटी औषधि सुरु नगरेको बताइएको छ । 


एआरटी औषधि ११६ मध्ये ८४ जनाले मात्रै नियमित रुपमा सेवन गरिरहेका छन् । 

औषधि सुरु गरेकामध्ये १७ जनाको मृत्यु भइसकेको र दुई जना हराइरहेका बहुउद्देश्यीय विकास समाजले जनाएको छ । 

यस्तै, नौ जनालाई बैतडीबाट अन्यत्र स्थानान्तरण गरिएको बताइएको छ । पाँच जना सङ्क्रमितलाई भने औषधि रोकिएको कार्यक्रम संयोजक पन्तले बताउनुभयो । उहाँले भन्नुभयो – “औषधिको असर देखा पर्न थालेपछि उनीहरुलाई औषधि रोकिएको हो ।” 

एचआइभी सङ्क्रमितमा अहिले विभिन्नखालका समस्या रहेका स्वयम् सङ्क्रमितहरुले बताएका छन् । 

एआरटी औषधिसँगै पोषिलो खानेकुराको आवश्यकता पर्ने भएको भए पनि सङ्क्रमितले पोषिलो खानेकुरा नपाएको बताएका छन् । सङ्क्रमितको आर्थिक अवस्था ज्यादै नाजुक भएकाले जीविकोपार्जन गर्न धौधौ भएको बैतडी प्लसका अध्यक्ष पद्मसिंह मौनीले बताउनुभयो । राज्यका निकायहरु मौन हुँदा आफूहरु समस्यामा परेको भन्दै उहाँले भन्नुभयो – “सङ्क्रमितमध्ये धेरैजसो महिला एकल भएकाले झन् समस्या रहेको छ ।” 

यस्तै सङ्क्रमित बालबालिकालाई पनि यस्तै समस्या रहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पु¥याउन एमपिडिएस र सेवक मित्र नामका गैरसरकारी संस्थाले सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त भने हुन सकेको छैन । 

अठार निर्दोष बालबालिका पनि सङ्क्रमित 

बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनुपरेका छन् । 

सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् । एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय ग्रामीण विकास समाजले प्रतिमहिना रु एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिइरहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुउद्देश्यीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक पन्तले बताउनुभयोे । 

जिल्लामा १८ जना एचआइभी सङ्क्रमित बालबालिका रहेकामा १४ जनालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराइएको छ । उहाँले भन्नुभयो – “दुई जनाको परिवारले अनुदान लिन मानेको छैन ।” 

एचआइभी सङ्क्रमित बालबालिकाको उपचारका लागि पनि संस्थाले सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो । अहिले पनि एचआइभी सङ्क्रमित बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेकाले समस्या भएको छ । 

सङ्क्रमितमाथिको भेदभाव कायमै 

एचआइभी सङ्क्रमितलाई समाजमा अझै पनि भेदभावको दृष्टिकोणले हेर्ने गरिएको छ । 

एचआइभी सङ्क्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकाय मौन बसेकाले भेदभाव कायमै रहेको बैतडी प्लसका अध्यक्ष मौनीले बताउनुभयो । 

“जिल्लाभरि रहेका सङ्क्रमितहरु विभिन्न समस्या खेपिरहेका छन्,” उहाँले भन्नुभयो – “सरकारका निकायहरुले एचआइभी सङ्क्रमितका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” 


कतिपय ठाउँमा अझै पनि एचआइभीका बारेमा आवश्यक ज्ञान नभएकाले सङ्क्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् । रासस 

रोपाइँको समयमा मलको अभाव

धनगढी, १६ असार । मुख्य खाद्यान्न बाली धानको रोपाइँमा व्यस्त रहेका कैलाली जिल्लाका किसान डिएपी रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । 

खेतमा धान रोपेलगत्तै प्रयोग गर्नुपर्ने डिएपी मल अभाव भएपछि समस्या परेको गुनासो स्थानीय कृषक हरि चौधरीले सुनाउनुभयो । 

रोपाइँ भएकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल नपाउँदा रोपेको बोट नफस्टाउने भई उत्पादन घट्ने चिन्ता लागेको चौधरीले बताउनुभयो । 

सरकारको अनुदानित मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीमा डिएपी मलको मौज्दात सकिएपछि किसानले मल अभाव झेल्नुपरेको हो । 

खेतीको समयमा यसअघिका वर्षमा पनि मलको अभाव झेल्दै आएका किसानले यस वर्ष पनि मल अभाव झेल्नुपरेको हो । कैलाली जिल्लामा झन्डै ७१ हजार २५० हेक्टर जग्गामा वर्षे धान बालीको खेती हुँदै आएको छ । 

सरकारले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत अनुदानको रासायनिक मल कृषकलाई बिक्री वितरण गर्दै आएकोमा दुई वर्षदेखि अनुदानको मलको बिक्री वितरणको जिम्मा साल्ट टे«डिङ कर्पोरेसनलाई समेत दिइएको छ । 

यद्यपि यस वर्ष जिल्लाका कतिपय सहकारी संस्थाले बिक्री गर्नुपर्ने अनुदानित मल लुकाएर राखेको वा महँगो मूल्यमा बिक्री गरिरहेको आरोप लागेको छ । 

सहकारी संस्थाले अनुदानित मल पारदर्शी ढङ्गले आफ्नो क्षेत्रभित्रका कृषकलाई उचित मूल्यमा बिक्री गरे नगरेकोबारे अनुगमन हुन सकेको छैन । 

साल्ट टे«डिङ कर्पोरेसन लि धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे कतिपय सहकारीले मल लुकाएर राखेको कारण अहिले डिएपी मलको अभाव सिर्जना भएको हुनसक्ने बताउनुहुन्छ । 

अनुदानित मल बिक्री गर्दै आएको सञ्जीवनी बचत सहकारी संस्था धनगढीका भोजराज जोशीले भने सहकारीले मल लुकाएको, वा कालोबजारी गरेको भन्नेबारेमा आफूलाई थाहा नभएको बताउनुभयो । 

साल्ट टे«डिङका सहायक महाप्रबन्धक पाण्डेले गत १२ महिनामा अनुदानित ५० किलो तौलको युरिया एक लाख तीन हजार ७४४ बोरा, डिएपी ३५ हजार २७ बोरा र पोटास एक हजार ९९२ बोरा सहकारी संस्थालाई बिक्री गरिएको जानकारी दिनुभयो । कार्यालयको गोदाममा अहिले १५ हजार बोरा युरिया र ६०३ बोरा पोटास मौज्दात रहेको छ । 

यस्तै कृषि सामग्री कम्पनी लि धनगढीले १२ महिनामा युरिया तीन हजार २९२ मे टन, डिएपी एक हजार ८३० मे टन र पोटास १०७ मे टन बिक्री गरेको छ । 

कृषि सामग्रीमा अहिले युरिया दुई हजार ४६० मे टन र पोटास १०३ मे टन मौज्दात रहेको छ । रासस 

८८ हजार फलफूलका बिरुवा वितरण

फलेवास (पर्वत), १६ असार । यस वर्ष पर्वतमा फलफूलका ८८ हजार बिरुवा वितरण गरिएको छ । 

जिल्ला कृषि विकास कार्यालय पर्वतले विभिन्न किसिमका फलफूलका बिरुवा वितरण गरेको हो । 

कतिपय जातका फलफूलका बिरुवा निःशुल्क र कतिपय ढुवानी अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ । सुन्तला जातका २६ हजार, आँप लिचीका दुई हजार र अलैँचीका ६० हजार बिरुवा वितरण गरिएको छ । 

व्यावसायिक रुपमा सुन्तलाखेती गर्न चाहने कृषकलाई प्रोत्साहन दिन बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिउनुभयो । 


जिल्लामा अहिले झन्डै ६०० हेक्टर क्षेत्रफलमा सुन्तला जातको फलफूलको खेती हुँदै आएको छ । यस वर्ष थप २६ हजार बिरुवा रोपिएपछि झन्डै ५६ हेक्टर बढ्ने भएको छ । पर्वतमा गत आवमा पनि झन्डै रु १५ करोडका सुन्तला उत्पादन भएका थिए । जिल्लाको बाँसखर्क, देउपुर, शालिजा, कुर्घा, पाङराङ, बाच्छा, हुवास, त्रिवेणीलगायतका गाविसमा व्यावसायिक रुपमा सुन्तलाको खेती हुँदै आएको छ । पकेट क्षेत्रमा रुपमा मानिने ती गाविसका कृषकले धान, मकै, कोदो बाली लगाउन छाडेर सुन्तलाको खेती गर्दै आएका छन् । 

यस्तै आँप र लिचीका पनि दुई हजार बिरुवा वितरण गरिएको छ । जिल्लाका समथर भूभागमा र बढी गर्मी हुने ठाउँमा आँप र लिचीको उत्पादन राम्रो हुने भएकाले ती क्षेत्रलाई लक्ष्यित गरेर आँप र लिची वितरण गरिएको कार्यालयले जनाएको छ । जिल्लाको कुश्मा नगरपालिका, तिलाहार, फलेवास र दक्षिण पर्वतका हुवास, त्रिवेणी, बर्राचौर, रानीपानीलगायतका गाविसमा यी फलफूलको राम्रो उत्पादन हुँदै आएको छ । 

त्यसैगरी यस वर्ष अलैँचीका बिरुवा सबैभन्दा बढी वितरण गर्न लागिएको छ । ग्रामीण क्षेत्रमा धेरैजसो खेतबारी बाँझै हुन थालेपछि कृषकले अलैँचीका बिरुवाको बढी माग गरेका हुन् । 

अहिलेसम्म जिल्लाभरमा १० हेक्टर क्षेत्रफलमा मात्र अलैँचीको खेती हुँदै आएकामा यस वर्ष थप १० हेक्टर क्षेत्रफलमा विस्तार गरिने भएको छ । जिल्लाको कुश्मा नगरपालिकासहित कुर्घा, पाङराङ, थापाठाना, कार्कीनेटा, ठूलीपोखरी, खौला, हुवास, त्रिवेणी, होश्राङ्दी, भोक्सिङ, बाच्छालगायतका गाविसका कृषकले बिरुवा माग गरेका हुन् । 

अहिले वार्षिक चार मेट्रिक टन अलैँची उत्पादन हुँदै आएकामा यस वर्ष थप गरिएका बिरुवाले उत्पादन दिन थालेपछि दोब्बरले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यी बिरुवाबाहेक, कफी, वडहर, किम्बुलगायतका फलफूलका बिरुवा पनि जिल्ला पशुसेवा कार्यालय र जिल्ला भूसंरक्षण कार्यालय पनि विभिन्न डालेघाँसका बिरुवा वितरण गरेको जनाएको छ । 

जिल्ला भू–संरक्षण कार्यालयले विभिन्न डालेघाँस र काठको प्रयोजनका लागि लगाइने बिरुवा झन्डै ५० हजार वितरण गरेको जानकारी दिएको छ । 

कृषकलाई सवा करोड अनुदान 

आव २०७२÷७३ मा पर्वतका कृषकलाई झन्डै रु सवा करोड रकम अनुदान वितरण गरिएको छ । 

युवापुस्ताको बढ्दो पलायनलाई कम गरी कृषिजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउन चालु आवमा रु एक करोड १० लाख रकम अनुदानस्वरुप वितरण गरिएको हो । जिल्लाको एक नगरपालिका र ४७ गाविसमा व्यावसायिक रुपमा तरकारी, अन्न, फलफूल र माछापालन व्यवसायमा संलग्न कृषकलाई अनुदान वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । 

चौहत्तर वटा साना सिँचाइ र सहकारी संस्थालाई ३६ लाख, चार वटा सहकारी संस्था लागि तीन लाख, दुई वटा सहकारी खेती फार्मलाई १२ लाख, ३४ वटा स्थानमा प्लास्टिक पोखरी निर्माणका लागि रु चार लाख ५० हजार वितरण गरिएको छ । 

त्यसैगरी युवा लक्ष्यित कार्यक्रमअन्तर्गत जिल्लाका ६० जना युवायुवतीलाई रु २४ लाख, आइडब्लुआरएमपी कार्यक्रमअन्तर्गत छ जनालाई रु दुई लाख ४० हजार वितरण गरिएको छ । त्यसैगरी जिल्लाका विभिन्न गाविसमा सञ्चालित भकारो सुधार कार्यक्रमअन्तर्गत ३०० जना कृषकलाई रु पाँच हजार २०० को दरले अनुदान वितरण गरिएको छ । 


त्यसैगरी यस वर्ष पाँच वटा सुन्तला उत्पादन समूहलाई बगैँचा सुदृढीकरणका लागि रु छ लाखका दरले रु ३० लाख वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष परेको असिना पानीका कारण जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा मकैबाली नष्ट भएकाले उनीहरुलाई ७५ प्रतिशत अनुदानमा १८ टन मकैको बीउ पनि वितरण गरिएको छ । रासस 

टि्वटरबाट हेल्लो सरकारमा उजुरीः विमानस्थलमा चर्को पार्किङ शुल्क किन ?

१६ असार काठमाडौँ । फेसबुक र टि्वटरमा यसैसाता प्रतिवन्ध लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चर्को पार्किङ शुल्क असुल गरिएको भन्दै हेलो सरकारमा उजुरी परेको छ ।
विमानस्थलको डोमेस्टिकतर्फको पार्किङ लटमा सवारी साधनको चर्को शुल्क तिर्नु पर्‍यो भन्दै टि्वटरबाटै उजुरी परेको हो ।
अहिले हेलो सरकारमा पछिल्लो समय ट्वीटरबाटै उजुरीहरु आउने क्रम बढेको छ । विमानस्थलको व्यवस्थापनपक्षसँग जोडेर पछिल्लो समय उजुरी बढेको हेलो सरकारका उपसचिव प्रद्युम्न उपाध्यायले अनलाइनखबरलाई बताए ।
पार्किङ शुल्क तिर्नुपर्नेबारे कुनै जानकारी नराखिएको र शुल्क तिर्ने चिटमा पनि समय, तिर्नुपर्ने मूल्य र संस्थाको नाम स्पष्ट नखुलाइएको उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ,-पार्किङ शुल्क तिर्नुपर्ने हो कि होइन, यदि पर्ने हो भने किन व्यवस्थित नगराइएको ? तिर्नुपर्दैन भने अनुगमन गरी कारवाही गरियोस् ।
गतसाता मात्रै विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी फेसबुक चलाएर बसेको भन्दै हेलो सरकारमा उजुरी परेको थियो । उक्त उजुरीपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा फेसबुक र ट्वीटर प्रयोग गर्न प्रतिवन्ध लगाइएको छ ।

अाजदेखि नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुक्का

१६ असार, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर बिहीबार (अाजदेखि) कारोबार फुकुवा गरेको छ । बोर्डले विज्ञप्ती जारी गरि सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा फर्दर पव्लिक अफरिंग (एफपिओ) जारी गर्न लागेपछि कम्पनीले तोकेको मूल्यले दोस्रो बजारलाई नकारात्मक असर पर्ने भन्दै बोर्डले सेयर कारोबारमा रोक लगाएको थियो ।
हालसम्म प्रिमियम मुल्य निर्धारण कसरी गर्ने भन्ने सन्दभर्मा प्रष्ट नीति छैन । बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन नीतिगत आधार छिट्टै तयार गर्ने र त्यसका लागि समय लाग्ने भएकोले तत्कालका लागि सेयर कारोबार खुला गरिएको जनाएको छ ।
बोर्डका अनुसार मूल्य पछि तय गरिने छ । तर कुनैपनि कम्पनीको सेयर लामो समय सेयर रोक्का राख्नु न्ययासंगत नहुने भएकाले नेपाल लाइफको सेयर कारोबार खुला गरिएको जनाएको छ । कम्पनीले बोर्डको स्वीकृतिबिनै एफपिअोको मुल्य तोकेर नेपाल स्टक एक्सचेञ्जबाट सूचना सार्वजानिक गरेको थियो ।

पाँच सय आठ घरधनीलाई पुनःनिर्माणको ५० हजार

मेलम्ची, १६ असार । सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि घर बनाउन अनुदान पाउनेको सूचीमा ७८ हजार पाँच सय ३७ घरधनी परेका छन् । 

पुनःनिर्माणका लागि आजसम्म घर बनाउन २९ हजार सात सय ३२ घरधनीसँग अनुदान सम्झौता भएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभयो । 

पहिलो किस्ताको रु ५० हजार अहिलेसम्म पाँच सय आठ जनाको खातामा रकम पठाइसकेको दुवाडीले जानकारी दिनुभयो । 

नाम छुटेका र गल्ती विवरण आएकाको भनेर जिल्लाभरबाट गुनासो दर्ता गराउनेको सङ्ख्या भने छ हजार आठ सय ६४ रहेको र अझ गुनासो दर्ता गराउनेको सङ्ख्या वृद्धि हुने आँकलन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म भोताङ, गुन्सालगायत १२ गाविस र चौतारा नगरपालिकामा पूर्णरुपमा ४७ हजार एक सय ८८ घरधनीसँग अनुदान सम्झौता भएको छ । रासस

मोर्चाद्धारा संसद बहिष्कार

काठमाडौँ, १६ असार । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । 

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गर्नुभयो । 

सांसद नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै दु्रतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो । 

संविधानले समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तर रुपमा आन्दोलन गर्दै आएको सदनलाई जानकारी गराउँदै उहाँले आजको बैठक बहिष्कार गरेको घोषणा गर्नुभयो । 

उहाँको बहिष्कारको घोषणासँगै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिनुभएको थियो । 

आन्दोलनरत पक्षका माग संविधान संशोधनमार्फत सम्बोधन गर्न मोर्चाले सरकारलाई आग्रह गर्दै सदनको बैठक निरन्तर रुपमा केही समयदेखि बहिष्कार गर्दै आएको छ । रासस 

तीन दिनदेखि यातायात अवरुद्ध

कावासोती, १६ असार । वर्षाका कारण नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्डअन्तर्गत अर्खलाको ढुङ्ग्रेमा पहिरो गएपछि तीन दिनदेखि यातायात अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या परेको छ । 

बर्सेनि सडक निर्माणको रकम पुग्ने गरे पनि निर्माण कम्पनीको लापर्बाहीका कारण समयमा सडक बन्न नसक्दा पहाडी भेगका बासिन्दाले वर्षायाममा दुःख पाउने गरेका छन् । 

दलदलेबाट अर्खलासम्म सवारी साधन सञ्चालन भएको छ । त्यहाँबाट मान्छेलाई सामान बोकेर बुलिङ लैजाँदा प्रतिकेजी रु सातसम्म खाद्यान्नमा महँगो हुने गरेको व्यापारीले बताएका छन् । बाटो दुःख छ तर पनि अर्खलासम्म राहत दिएका छौँ लेकबेँसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले भन्नुभयो–“एक दिन हिँड्नुपर्नेमा हामीले आधा घटाउने काम गरेका छौँ ।” 

पन्ध्र वर्षदेखि बुलिङ्टारका बासिन्दाले यही समस्या भोग्नुपरेको छ । वर्षामा बिरामी हुँदा अस्पताल पुग्न पनि गाह्रो भएको स्थानीयवासीले बताएका छन् । रासस 

Wednesday, June 29, 2016

मस्ताङमा युरेनियम, पेट्रोल र नुनखानी भेटियो

१६ असार, मुस्ताङ । युरेनियम अन्वेषणपेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ ।

त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि.सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो ।


‘युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ,’ खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने, ‘समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।’

युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए ।

‘यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ,’ उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ ।

खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए ।

‘नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो,’ प्रमुख पौडेलले भने ।

लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । ‘कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन,आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ,’ उनले भने ।

सोमबार मुस्ताङ पुगेको टोली बुधबार राजधानी फर्किएको छ ।