Monday, August 31, 2015

यस्तो बनाउनुस् नयाँ घर !


काठमाडौं- अब कस्तो घर बनाउने? कति लागतमा बन्छ, भूकम्पले नढल्ने घर?
वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पनले घरविहीन भएका ६ लाखभन्दा बढी नेपालीको साझा चिन्ता हो यो।
यही चिन्ता कम गर्न सहरी विकास मन्त्रालयले १६ थरी घरका नमुना डिजाइन तयार पारेको छ।


भूकम्प अति प्रभावित १४ जिल्लाका ग्रामीण क्षेत्र र सहरछेउका गाउँलक्षित यी डिजाइनलाई 'भूकम्पप्रतिरोधी प्रविधि प्रयोग गरी बनाइने नमुना आवास भवनह?' नाम दिइएको छ।

निर्णयका लागि मन्त्रिपरिषद पठाइएको नमुना र लागतमा घर प्रविधि र तला हेरेर २ लाख ८६ हजार रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म लागत आँकलन गरिएको छ। एकदेखि तीन तलासम्मका डिजाइनमा तलाअनुसार प्रयोग गरिने निर्माण सामग्रीको अनुमानित संख्या र प्रविधिसमेत स्पष्ट उल्लेख गरिएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहका अनुसार यो प्रविधि र डिजाइन अनुमोदन भएपछि घर बनाउन चाहनेले अनुकूलताअनुसार कुनै एउटा डिजाइन अनिवार्य रुपमा लागू गर्नुपर्ने हुन्छ। तर, कसैलाई उक्त डिजाइनबाहेकको घर बनाउन इच्छा भएमा अनिवार्य रुपमा सम्बन्धित क्षेत्रका सरकारी निकायसँग घरको डिजाइन र नक्सा पास गराउनुपर्छ।

'अब बन्ने भवन भूकम्पीय दृष्टिले सुरक्षित बनाउन र भवनसंहिता लागू गर्न एकदेखि तीन तलासम्मका १६ प्रकारका घरका डिजाइन तयार पारिएको हो,' उनले भने, 'तीन तलाभन्दा माथि र त्यसभन्दा भिन्न डिजाइनको घर कसैले बनाउन चाहन्छ भने पनि सरकारी निकायमा आएर अनिवार्य डिजाइन पास गराउन सक्छन्।' उनले डिजाइनभन्दा पनि प्रविधिमा बढी जोड दिइएकाले भूकम्पप्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चा पदार्थ तथा निर्माण सामग्री प्रयोग अनिवार्य गरिएको बताए।

प्रस्तावित डिजाइनअनुसारको घर बनाउँदा ग्रामीण क्षेत्रमा सहजै उपलब्ध हुने ढुंगा, माटो, काठ, इँटालगायत निर्माण सामाग्री प्रयोग गर्न सकिन्छ। नयाँ डिजाइनअनुसारको घर र प्राविधिक पक्षको पालना गर्ने हो भने तीन तलासम्मका घर बनाउँदा इन्जिनियर आवश्यक पर्दैन। तर, त्यसभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुका साथै माटो परीक्षणसमेत गर्नुपर्ने भनिएको छ।

महानिर्देशक सिंहका अनुसार नयाँ डिजाइन र प्रविधिअनुसार घर बनाउनेले तालिमप्राप्त डकर्मी, सिकर्मी तथा ठेकेदारको सहयोग भने लिनुपर्छ।

'नयाँ डिजाइनसँगै घर निर्माणका क्रममा अपनाइने र प्रयोग गर्ने प्रविधिका विषयमा ज्ञान दिन सरकारले डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने कार्यक्रमसमेत ल्याएको छ,' उनले भने, 'ग्रामीण भेगका स्थानीयको आर्थिक अवस्था हेरेर गाउँमै उपलब्ध हुने स्रोत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको हो।'

उनका अनुसार भूकम्पप्रभावित जिल्लामा सरकारले उपलब्ध गराउने २ लाख रुपैयाँ राहत र केही रकम परिवार आफैँले थप गरेर नयाँ डिजाइनअनुसारका घर बनाउन सक्नेछन्। यसका साथै बैंकले उपलब्ध गराउने तीन प्रतिशत ब्याजदरको ऋण लिएरसमेत घर निर्माण गर्नसकिन्छ।

प्रस्तावित डिजाइनमध्ये 'स्टाब्लिस्ड सोयल ब्लक सिमेन्टु ९सिएसएसबी० प्रयोगबाट बनाइने एकतले तीनकोठे भवन सबैभन्दा सस्तो मूल्यमा बनाउन सकिनेछ। २ सय ७० वर्गफिट क्षेत्रफलमा बनाइने यस्ता घरका लागि २ लाख ८६ हजार खर्च लाग्ने अनुमान गरिएको छ। यस्तै, इँटा, सिमेन्टको प्रयोगबाट बनाइने साढे २ तलाको घरका लागि भने सबैभन्दा बढी ३३ लाख रुपैयाँ पर्ने अनुमान छ।

ढुंगाको प्रयोग गरेर घर बनाउनेको हकमा १८ इन्च, इँटाको हकमा १४ इन्चको गाह्रो हुनुपर्ने प्रस्तावमा उल्लेख छ। यसैगरी, आरसिसी ढलान, काठको भुइँ, पाली भएको, भिरालो जग्गामा बनाउने घर, काठको दलिन, टिनको छाना भएको घरको डिजाइनअनुसारको खर्च र घर निर्माणका लागि आवश्यक पर्ने अनुमानित कामदार संख्यासमेत प्रस्तावित डिजाइनमा उल्लेख छ।

0 comments:

Post a Comment