Sunday, August 30, 2015

साउदीस्थित तेल कम्पनीका कर्मचारी बस्दै आएको भवनमा आगलागी



खोबार, भदौ १३ । साउदी अरेबियाको एक तेल कम्पनीमा कार्यरत कर्मचारी बस्दै आएको कम्प्लेक्समा आगलागी भएको छ । आगलागीमा ११ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
साउदी अरेबियाको पूर्व शहर खोबारमा रहेको उक्त कम्प्लेक्समा आगो लाग्दा अन्य दुई सयभन्दा बढी घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार आगलागीको शिकार भएका कर्मचारीहरुमा अधिकांश विदेशी छन् ।
साउदी अरेबियाको ठूलो तेल कम्पनीमा गनिदैं आएको ‘साउदी अरम्को’ को एक आवासीय कम्प्लेक्समा आगो लागेको हो । उक्त भवनको माथिल्लो तलासम्म नै आगो फैलिएको बताइन्छ ।
हेलिकोप्टरको मद्दतमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । धेरैजसो मानिस उक्त भवनको छतमा पुगेर मद्दतका लागि गुहार मागिरहेको विभिन्न संचारमाध्यमले जनाएका छन् ।
अरम्को कम्पनीमा ५० हजारभन्दा बढी कर्मचारी काम गर्दै आएका छन् । तीमध्ये अधिकांश विदेशी कर्मचारी रहेको बताइन्छ ।
आगलागीमा नेपालीहरु परेका छन् या छैनन् भन्नेबारे प्रष्ट भइसकेको छैन । सो कम्पनीमा नेपाली कामदारसमेत कार्यरत रहेको अनुमान गरिएको छ । । (एजेन्सी)

0 comments:

Post a Comment