Sunday, August 30, 2015

टीकापुरको अहिलेको सुरक्षालाई कसैले चुनौती दिनसक्दैन : प्रजिअ चापागाईँ, कैलाली



थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले गत भदौ ७ मा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ५ नेपाल  प्रहरी, २ सशस्त्र प्रहरी र एक बालकको निर्ममतापूर्वक हत्या गरेपछि नेपाल सरकारले  कैलालीको सुरक्षा निकायका नेतृत्वसंगै प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्यो । प्रस्तुत छ – घटना पछि प्रमुख जिल्ला अधिकारीका रुपमा कैलाली पुगेका मोहन चापागाईँसंग टीकापुरको पछिललो अवस्थाका बारेमा ठाकुर बेलवासेले गरेको कुराकानी:
अहिले टीकापुरको सुरक्षा अवस्था कस्तो छ ?
-नागरिकमा त्रास हटेको छैन । वातावरण अझै सामान्य बन्न सकेको छैन । हामी वातावरणलाई सामान्य बनाउने प्रयासमा जुटिरहेका छौ । समाजलाई सुरक्षित राख्न हामीले सम्पूर्ण प्रयास गरेका छौ ।
कहिले सम्ममा सामान्य अवस्था देखिएला ?
-भदौ १२ गते शनिबार जनैपूर्णिमाको अवसर पारेर हामीले २ घण्टाका लागि कफ्र्यु खुला गर्यौ । त्यस पछि दैनिक २ घण्टाका दरले कफ्र्यु खुला गराएका छौ । यसलाई क्रमिक रुपमा समय बढाउदै पनि जान्छौ । विभत्स घटना घटेका कारण सामान्य अवस्थामा पुग्न समय लाग्छ ।
घटनाका बारेमा तपाईले के बुझ्नु भयो ?
-घटना ७ गते घट्यो । नयाँ टोली सहित हामी ८ गते कैलाली आयौ । स्थानीय प्रशासन र आन्दोलनकारीका बीचमा भएको सम्झौता प्रतिवद्धता विपरित आन्दोलन भएको मैले पाएँ । शान्तिपूर्ण आन्दोलन गर्ने आन्दोलनकारीको प्रतिवद्धताका भरमा स्थानीय प्रशासन बसेको रहेछ । आन्दोलन सुनियोजित रहेछ । हेलमेट र माक्स लगाएका व्यक्तिहरु आक्रमणका लागि आएका रहेछन । तर स्थानीय निकायमा कुनै तालमेल नै भएको रहेनछ । सबै रनभुल्लमा पारेका कारण ठूलो क्षती हुन गयो ।
आन्दोलनमा त सहभागिको संङ्ख्या ठूलो थियो, भनिन्छ ?
-यहीका थारु समुदायका मान्छे मात्र गएर त्यत्रो समुह कसरी बन्नु ? बाहिरबाट पनि मान्छे आएका रहेछन । अनि स्थानीय तहमा आन्दोलनमा नजानेलाई एक हजार जरिवाना लिने भनिएको पनि रहेछ । आन्दोलनपक्षधरहरु ठूलो तयारीका साथमा रहेछन् स्थानीय प्रशासनमा कुनै तयारी नै भएको रहेन छ ।
स्थानीय थारु समुदायका व्यक्तिहरु के भन्छन ?
-उनीहरु सोझासिधा छन । हामीबाट गल्ती भयो, भन्दैछन् । उनीहरुमा पश्चाताप छ । राजनीतिक दलहरुको आन्दोलन भएका कारण सोझा स्थानीयहरु अफ्ठयारोमा परेका देखिन्छन ।
घटनाको अनुसन्धान पनि होला नि ?
-किन नहुनु , समितिनै बनेको छ ।
अनुसन्धानको रिपोर्ट कहिले सम्म आउला ?
-हप्ता   दश दिन अझै लाग्छ । सत्यतत्थ्य सहितको गहिरो अध्ययनको रिपोर्ट आउँने छ ।
दोषीलाई कस्तो कारवाही हुन्छ ?
-नेपालको प्रचलित कानुन अनुसार उनीहरुलाई कारवाही हुने छ । कारवाहीमा कुनै कसुर बाँकी रहने छैन ।
स्थानीय वासिन्दाहरु पहाडिया र थारु बीचको अहिलेको सम्बन्ध कस्तो छ ?
-अहिले पनि सामाजिक सद्भाव त खलबलिएको छैन । पहाडिया र थारु दुवै समुदायले घटनाप्रति दुःख व्यक्त गरिरहेका छन । कुनै एक समुदायले ठाउँ छोडेर जानु पर्ने अवस्था आयो भने ठूलो दुर्भाग्य हुने छ । त्यता तिर हामी सचेत छौ ।
आन्दोलनकारी नेताहरुले देशका विभिन्न ठाउँमा गएर अझै पनि उत्तेजित मन्तव्य दिईरहेका छन , त्यसको असर त्यहाँ पर्ला कि नपर्ला ?
किन नपर्नु , यो कुरामा माथिका नेताहरु सचेत हुनुपर्छ । टीकापुरको संवेदना अझ भिन्न छ । यहाँ थरुहट स्वयत्त प्रदेश र अखण्ड सूदुरपश्चिमका मागहरु छन । यी दुवै मागका पक्षधर नेताहरु अति नै सचेत हुन जरुरी छ । नेताहरुका अभिव्यक्तिका कारण पनि आन्दोलन भड्किन सक्छ ।पहिला पनि उनीहरुकै कारण आन्दोलनले उग्ररुप लिएको हो ।
तपाई अब कसरी अगाडि बढ्नु हुन्छ ?
-म एक्लै छैन । सरकारले  प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थानीय नेतृत्व परिवर्तन गरेको छ । मैले सर्वप्रथम जिल्ला सुरक्षा समितिको बैठक डाकेर भदौ ७ को घटनाको वास्तविकता बुझ्ने काम गरे । त्यसबाट पनि स्थानीय निकायको राम्रो तालमेल हुन नसकेको मैले बुझे । यो कमजोरीलाई मैले दोर्याउन दिने छैन ।
अहिले हामीले सुरक्षाको नयाँ रणनीति अपनाएका छौ । सुरक्षालाई बलियो पार्न हामीले कुनै कसर बाँकी राखेका छैनौँ  । अस्थायी बुँथ राख्ने देखि अन्य नयाँ रणनीतिमा हामी जुटेका छौँ । कैलालीको सुरक्षामा अब कसैले चुनौती दिन सक्दैन ।
बन्द भएको महिना दिन लागि सक्यो , नागरिकले त सास्ती पाएका छन नि ?
-बन्द पनि खुलाउने प्रयासमा छौ । राजनीतिक आन्दोलन भएका कारण प्रशासनको प्रयासले मात्र हुदैन । राजनीतिक दलहरुले पनि यहाँको पीडा बुझ्न जरुरी छ । दलहरुको सानो साथ भए हामीलाई पुग्छ ।

नेपाली सेना परिचालनको चर्को विरोध आएको छ ?
-यो निर्णय केन्द्रीय सुरक्षा समितिको हो । टीकापुरमा सेना परचालन गरिएको होईन । सेनालाई व्यकफोर्सका रुपमा राखिएको मात्र हो । स्थानीय प्रशासन ऐन २०२८ ले अवस्था अनियन्त्रित भएमा सेना परिचालनको व्यवस्था गरेको छ ।
सेना फिर्ता पठाउँदा के हुन्छ ?
-सरकारले फिर्ता लाने निर्णय गर्यो भने केही छैन , हामीले अवस्थालाई पनि ध्यान दिनु पर्छ । सरकारले गरेको निर्णयलाई हामीले पालना गरेको मात्र हो । सधै कफ्र्यु लगाएर वातावरणलाई त्रासपूर्ण बनाउन मिल्दैन । जिल्लाका सबै निकायहरु यसमा सचेत छन । सेनाले वातावरण विगार्नु भन्दा सहज पनि बनाएको छ ।
वातावरणलाई सहज पार्न के गर्नु पर्छ त ?
-राजनीतिक दलहरुका कारण नै यो समस्या आएको हो । हामीले त सामाजिक सद्भाव कायम गराउन र शान्ति– सुरक्षा कायम गर्न काम गर्ने हो । नागरिकको साथ लिएर काम गर्छौ । टीकापुरका वासिन्दा बुझकी पनि छन । अहिलेको संवेदनालाई उनीहरुले राम्रोसंग बुझ्दछन तर घुसपैठले आतंक सिर्जना गर्छ । हामी घुसपैठ हुन नदिन पनि सजग बनेका छौ । अहिलेको अवस्थालाई हेरेर भन्ने हो भने टीकापुर शान्त हुदैछ ।
-इमेज खबर बाट

0 comments:

Post a Comment