Monday, August 31, 2015

कतारमा हुने नेफ्टा अवार्डका लागि कलाकारको यस्तो तयारी


काठमाण्डौं । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँगको सहकार्यमा आउँदो असोजको दोश्रो सातबाट कतारमा आयोजना हुन लागेको नेपाल चलचित्र प्राविधिक संघको नेफ्टा अवार्डको आठौँ संस्करणको तयारी अहिले धमाधम भइरहेको छ ।

काठमाण्डौको राष्ट्रिय नाचघरमा अहिले पुरानादेखि नयाँ कलाकारहरु तयारीमा व्यस्त छन् । नृत्य निर्देशक कविराज गहतराजको निर्देशनमा कलाकारले चर्चित चलचित्रका गीतहरु आफ्नै शैलीमा तयारी गरिरहेका छन् । नृत्य निर्देशक गहतराज यसपटकको अवार्डमा चर्चित गीतहरुलाई नेपाली शैलीमा ढालेर प्रस्तुत गर्न लागिएको बताउछन् ।
भूकम्पपछि विदेशीमा नेपालको बारेमा नकारात्मक चर्चा पनि भएकाले यसलाई चिर्न कलाकारको प्रस्तुतीले सहयोग गर्ने अपेक्षा उनले राखेका छन् । यसपटकको कार्यक्रममा उद्घोषकदेखि प्रस्तुतीमा पनि विविधता ल्याउने तयारी गरिएको छ ।
संयम पुरी र आश्मा डीसीले कोहिनुर फिल्मको शिर्ष गीतमा नृत्य तयारी गरिरहेका छन् । विदेशी भूमिमा नेपाली कलाकारको परिचयले नृत्य गर्न पाउँदा खुशी लागेको बताउँदै यो जोडीले प्रस्तुती भव्य बनाउने बतायो ।

यस्तै, कलाकारद्धय अकेषा बिष्ट र सौरमराज तुलाधर हवल्दार सुन्तलीको डोला डोला बोलको गीतमा नृत्य गरिरहेका छन् । नायक जीवन लुइटेल पनि आफ्नै चर्चित गीतमा प्रस्तुती दिन पाउँदा खुशी लागेको भन्दै दर्शकले मनोरञ्जन लिने बताउँछन् । उनले नायिका वेनिशा हमालसँग मिलेर फिल्म स्टूपिड मनको तिम्रो आँखामा बोलको गीतमा नृत्य गर्नेछन् ।

नायिका अनु शाहले नायक गौरव पहारीलाई फिल्म अझै पनिको प्रेम गीतको बोलमा साथ दिनेछिन् । कलाकारद्धय छुल्ठिम गुरुङ र संजोग कोइराला चट्ट रुमाल क्या मालुम बोलको गीतमा देखिनेछन् ।

कलाकारको तयारी देखेर कार्यक्रम संयोजक शिव पुरी पनि अवार्ड भव्य हुनेमा विश्वस्त छन् । उनले पनि यसपटकको अवार्डमा विभिन्न नयाँ शैली दर्शकले देख्न पाउने बताए ।

आर्यन सिग्देल, नम्रता श्रेष्ठ, बसुन्धरा भुषालदेखि अन्य थुप्रै कलाकार अवार्ड समारोहमा आफ्नो प्रस्तुती दिन लागिपरेका छन् । यसपटक स्टेज, रेड कार्पेटदेखि प्रस्तुती र उद्घोषणलाई भव्य बनाउने तयारी नेफ्टाले गरेको छ ।


0 comments:

Post a Comment