काठमाडौँ : काठमाडौंमा कुखुराको मासुको भाउ बढेर प्रति किलो तीनसय ५० रुपैयाँ पुगेको छ। भूकम्पका कारण कुखुरा उत्पादनमा धेरै कमि आएपछि मासुको मूल्य आकासिएको हो। भूकम्पपछि मात्रै कुखुराको मासुको मूल्य किलोमा ५० रुपैयाँ भन्दा धेरैले बढिसकेको छ। भूकम्पका कारण काठमाडौं उपत्यकासहित धेरै कुखुरा उत्पादन हुने मध्य क्षेत्रमा धेरै क्षति भएका कारण बजारमा पर्याप्त मासु पाउन नसकिएको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर जिसीले बताए । 'काठमाडौं उपत्यकामा दैनिक दुई लाख केजीदेखि दुईलाख ५० हजार केजीसम्म कुखुराको मासु खपत हुन्छ तर त्यसको ३० प्रतिशत मात्रै आपूर्ति भएकाले मूल्य बढेको हो,' जिसीले भने, 'किसानहरुले उत्पादन नै गर्न सकेका छैनन्, त्यसैले बजारमा सर्टेज छ।' भूकम्पले उपत्यकासहित धेरै कुखुरा उत्पादन हुने क्षेत्र धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्ला धेरै क्षति भएपछि मानिसहरुले आफ्नो व्यवसाय सुरु नगर्दा बजारमा कुखुरा कम भएको उनले बताए। अहिले काठमाडौं उपत्यकामा यी क्षेत्रका साथै तराईबाट पनि कुखुरा भित्रिरहेका छन्। यो समय कुखुराको मासु सबैभन्दा बढी अभाव भएको समय हो। जिसीले कुखुरा मासुको भाउ यो भन्दा बढ्ने संभावना भने नरहेको बताए। 'यो भन्दा धेरै बढ्छ जस्तो मलाई लाग्दैन,' उनले भने, 'अब बिस्तारै मानिसहरुले कुखुरा पाल्न थाल्छन्, त्यसपछि उत्पादनमा सुधार हुने भएकाले भाउ बढ्ने संभावना छैन।' पर्याप्त कुखुरा उत्पादन नहुँदा काठमाडौंमा कम उमेरका कुखुरा खपत भइरहेको भ्याली कोल्ड स्टोरका संचालक बाबुराजा रावलले बताए। 'अहिले ४५ दिनसम्मका कुखुरा पनि बजारमा आइरहेका छन्,' उनले भने, 'भूकम्पपछि मानिसहरुले खोरमा कुखुरा हालेनन् यसको असर अहिले परेको छ।' काठमाडौं उपत्यकासहित केही ठाउँमा भूकम्पले घर भत्किएपछि मानिसहरु कुखुराको खोर खाली गरेर बसिरहेका छन् भने कतिपय साना व्यवसायीले पनि नयाँ कुखुरा उत्पादन सुरु गरेका छैनन्। काठमाडौं उपत्यकामा दुईसय भन्दा धेरै थोक मासु व्यवसायी छन् भने हजारौं खुद्रा पसल संचालनमा रहेका छन्। कुखुराको मासु अहिलेसम्मकै उच्च भने अघिल्लो वर्ष बर्ड फ्लूको संक्रमणपछि भएको थियो। त्यतिबेला कुखुराको मासु प्रतिकिलो तीनसय ८० रुपैयाँसम्म पुगेको थियो। -
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment