Friday, July 31, 2015

विष्णु क्षेत्रीले भने- 'त्यो लासको फोटो मेरै हो हजुर'


काठमाडौं- 'अस्ति फेसबुकमा पोस्ट गरिएको लासको फोटो कसको हो?' कालो सुटमा रहेका एक व्यक्तिले जवाफ दिए, 'मैरै हो।' 'अनि ज्युँदै हुनुहुँदो रहेछ त, कसरी त्यस्तो फोटो आयो?' दोस्रो प्रश्नको उत्तर भने आएन। उनीसँगै उभिएका अर्का व्यक्ति भने मुसुमुसु हाँसिरहेका थिए। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा शुक्रबार साँझ ५ बजे संवाद गर्ने यी दुई थिए– युनिटी इन्टरनेसनलका नाममा सर्वसाधारणबाट रकम उठाएर ३ अर्ब ७९ करोड ठगी गरी चार वर्षदेखि फरार विष्णुबहादुर क्षत्री र कृष्णबहादुर क्षत्री सहोदर। युनिटीमा प्रबन्धनिर्देशक र तालिम निर्देशकको हैसियतमा सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम उठाउन सक्रिय यी सहोदर दाजुभाइ सरकारले कारबाही सुरु गरेलगत्तै २०६८ सालदेखि फरार थिए। नेपालमै लुकिछिपी बसेका यी दुईविरुद्ध भारत पुगेपछि नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो। केही दिनअघि गोली हानेर मारिएको भन्दै दाइ कृष्णले फेसबुकमा राखेको भाइ विष्णुको रगतले लतपतिएको तस्बिरसहितको सन्देश उनीहरुलाई पक्राउ गर्न सहयोगी बन्यो। र, चार वर्षपछि शुक्रबार उनीहरू प्रहरीको फन्दामा परे। नीहरुले काशी गुरुङलगायतसँग मिलेर पिरामिड शैलीको नेटवर्किङ आवरणमा विभिन्न प्रलोभन दिँदै गैरकानुनी काम गरिरहेको समाचार नागरिक दैनिकमा सार्वजनिक भएपछि प्रहरी–प्रशासन तातेको थियो। अनुसन्धानमा उनीहरुले अनुमति नलिई बैंकिङ, बिमा, स्वास्थ्य संस्था चलाएको र ३ लाख ६६ हजार ३ सय ४२ जनाबाट ४ अर्ब रुपैयाँ संकलन गरेको खुलेपछि सरकारले कारबाही थालेको थियो। लगत्तै अध्यक्ष गुरुङसहित मुख्य योजनाकार विष्णु र कृष्ण फरार भएका थिए। भारतमै लुकेर बसेका अध्यक्ष गुरुङ २०६९ साउन १७ मा पक्राउ परे। उतैको नागरिकतासमेत लिएर सिक्किममा बसेका उनी पक्राउ परे पनि क्षत्री दाजुभाइ उम्किएका थिए। १५ दिनअगाडि कृष्णले आफ्नो फेसबुकमा भाइ विष्णुलाई ललितपुर, भैंसेपाटीमा कसैले गोली हानेर मारेको दाबी गर्दै रगतले लत्पतिएको र नाकमा कपास कोचिएको तस्बिर राखेका थिए। विष्णुको तस्बिर सार्वजनिक भएलगत्तै घटनाको तथ्य खुलाउन खटिएको प्रहरीले भैंसेपाटीमा गोली नचलेको र विष्णु भारतमै रहेको पुष्टि गर्यो । कृष्णले पुनः शव जलाएको तस्बिरसहित मलामी गएकाको नामसमेत सार्वजनिक गरेपछि यी दुवैको खोजीले तीव्रता पाएको थियो। खोजीमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार उनीहरूलाई भारतको सिमलाबाट नियन्त्रणमा लिई शुक्रबार नेपाल ल्याइपुर्याहयो। प्रहरीले तस्बिरको अफवाह के हो भन्ने जिज्ञासा राख्दा विष्णुले भने, 'पारिवारिक लफडाका कारण यस्तो गरिएको हो।' जिल्ला अदालत, ललितपुरले यी दुवैविरुद्ध तीन वर्ष कैद र १ करोड ६ लाख रुपैयाँ असुल्ने फैसला गरिसकेकाले प्रक्रिया पूरा गरी अदालतमा बुझाउने आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्माले जानकारी दिए। क्षत्री दाजुभाइको पक्राउसँगै अब महेन्द्र केसीबाहेक युनिटीका सबै प्रमुख व्यक्ति पक्राउ परिसकेका छन्। संरक्षणमा मौलायो धन्दा २०६२ मा उद्योग वाणिज्य विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयमा युनिटी लाइफ इन्टरनेसनल र २०६४ मा उस्तै नामको एस्योरेन्स युनिटी इन्टरनेसनल दर्ता गरी सदस्य बनेबापत आर्थिक लाभ पाउने गरी पिरामिड शैलीको कारोबार सुरु भएको थियो। सुरुमा १५ हजार रुपैयाँ तिरेबापत सदस्य बन्न सकिने र सदस्यले नयाँ सदस्य बनाएबापत निश्चित प्रतिशत आर्थिक लाभ पाउने स्किम ल्याएर रकम संकलन गरेपछि उनीहरु बायो डिजेल, घ्युकुमारीलगायतको उत्पादनमा प्रवेश गरेका थिए। पिरामिड शैलीको कारोबार अवैध भए पनि आर्थिक प्रभावका आधारमा प्रमुख दल, प्रशासन र प्रहरीमा राम्रो पहुँच विस्तार गरेका उनीहरुको गतिविधिमाथि राज्यले वास्ता गरेन। पिरामिड शैलीको व्यवसाय सञ्चालन नै गैरकानुनी भए पनि उनीहरुको प्रभावकै आधारमा २०६४ मै गृह मन्त्रालयको योजना अनुगमन शाखाले युनिटीलाई सघाउन सबै जिल्ला प्रशासन कार्यालयमा र परराष्ट्र मन्त्रालयको पश्चिम एसिया तथा अफ्रिका हेर्ने शाखाले खाडी मुलुकका नेपाली दूतावासलाई पत्र पठाएको अनुसन्धानमा खुलेको थियो। आर्थिक हैसियत उकासिएसँगै उनीहरुले युनिटीको नाममा अस्पताल, बिमा र राष्ट्र बैंकसँग अनुमति नै नलिई बैंकिङ सेवाको आवरणमा सदस्यसँग उठाएको रकमको दुरुपयोग गरेपछि कालोधन्दा सार्वजनिक भएपछि प्रहरी र प्रशासन बल्ल तातेको थियो। आइटी निर्देशक नेत्र राजवंशी, अर्थ निर्देशक भीम गुरुङ, डिपार्टमेन्ट स्टार निर्देशक इन्› विक, भीम खत्री, महाप्रबन्धक शिशिर योगी र मध्यमाञ्चल ग्रामीण विकास बैंकका प्रबन्ध निर्देशक रामदेव यादवसहित ४२ जनालाई पक्राउ गरी प्रहरीले २०६७ असारबाट अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा सर्वसाधारणबाट संकलित अर्बौं रकम निजी स्वार्थमा प्रयोग गरी दुरुपयोग गरेको, स्वीकृति नै नलिइ हाउजिङ, बिमा, बैंकिङ क्षेत्रमा प्रवेश गरेको खुलेपछि उनीहरुमाथि ठगी, बैंकिङ कसुर र राजस्व छलीका मुद्दा चलेको थियो। जिल्ला अदालत ललितपुरले २०७० चैत १७ मा काशी, विष्णु, कृष्णलगायत १२ जनालाई दोषी ठहर गरेको थियो। आफ्नै अफवाहले टार्गेट अनुसन्धान प्रारम्भ गर्दा प्रसाद भनेर चिनिने काशी गुरुङ, विष्णु, कृष्णलगायत काठमाडौंमै बसेर अनुसन्धान प्रक्रियालाई प्रभावित गर्न सक्रिय थिए। युनिटीका अध्यक्ष प्रसाद भनिने काशी गुरुङ देखिए पनि मुख्य रणनीतिकार शुक्रबार सार्वजनिक गरिएका विष्णु नै हुन्। २०५५ मा नेपाल प्रहरीमा जवानको जागिर खाएका उनी रासन घोटालामा मुछिएपछि जागिर छाडेर २०५८ मा सुरक्षागार्डको काम गर्न दुबई गएका थिए। गोल्डक्वेस्टमा समेत काम गरिसकेका काशीसँग मिलेर विष्णुले युनिटी स्थापना गरेका थिए। नेपालमा रहेकाहरू पक्राउ परे पनि भागेर भारत पुगेका यी तीनजनाको खोजीमा खटिएको प्रहरी टोली उनीहरु सिक्किममा रहेको खुलेपछि पक्राउ गर्न उतै पुगेको थियो। दोस्रो प्रयासमा काशी पक्राउ परे पनि यी दुई फुत्किए। गम्भीर प्रकृतिका अरु अभियुक्तको खोजीमा प्रहरी निकाय केन्द्रित हुँदा क्षेत्री दाजुभाइको खोजी प्राथमिकतामा परेको थिएन। सामाजिक सन्जालमा कृष्णले विष्णुको लासझैँ रगत लत्पतिएको र जलाएको तस्बिरसँगै मलामीको नामसमेत सार्वजनिक गरेपछि प्रहरी पुनः तातेको थियो। 'उनीहरुको केस धेरै अगाडिबाटै महाशाखाले हेरिहेको थियो,' अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'ज्यूँदै भए पनि गोली हानेर मारिएको भन्दै तस्बिर सार्वजनिक भएपछि स्पिड बढाएका हौं।' कृष्णको फेसबुकमा विष्णु मरेको तस्बिर सार्वजनिक भइरहँदा यता विष्णुकी कान्छी श्रीमती र आमाबीचको घरझगडा महानगरीय प्रहरी परिसर, ललितपुर पुगेको थियो। क्षत्री दाजुभाइलाई पक्राउ गर्ने जिम्मेवारी पाएका माहाशाखाका प्रहरीले रेडकर्नर नोटिसधारी दाजुभाइ भारतको सिमला क्षेत्रमा रहेको सूचना पाएपछि पक्राउ योजना बुनेका थिए। अनुसन्धानमा यी दुवै सिमलामा ट्राउट माछाको व्यवसायमा संलग्न रहेको र भारतीय नागरिकको परिचयपत्र बनाइसकेको खुलेको थियो। प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिई कञ्चनपुरको गड्डाचौकी हुँदै नेपाल प्रवेश गराएर पक्राउ गरी शुक्रबार काठमाडौं ल्याएको थियो। दुवैसँग भारतीय रासनकार्ड जानकार स्रोतका अनुसार काशीको पक्राउपछि सिक्किममा बस्दै आएका खत्री दाजुभाइ सिमलातिर लागेका थिए। भारत बसाइकै क्रममा उनीहरुले आफ्नो नेपाली परिचय त्याग्दै भारतीय नागरिकको परिचय बनाइसकेका थिए। उनीहरु भारतको रासनकार्ड, भोटर कार्ड सबै बनाई परिचय फेरेर भारतमै स्थायी रूपमा बस्ने योजनामा रहेछन्। दाजु कृष्णले भारतीय नागरिक विनयकुमारको परिचय बनाइसकका थिए भने विष्णुले आफ्नै नाममा रासनकार्ड र भारतीय निर्वाचन आयोगको मतदाता परिचयपत्र बनाएका थिए। परिचयपत्र बनाउँदा कृष्ण श्यामकुमारको छोरा बने भने विष्णुको परिचयपत्रमा वास्तविक बाबु तेजकै नाम थियो।बिहीबार सिमलामा रहेको उनीहरुको ट्राउट फार्ममै पुगेर प्रहरीले नियन्त्रणमा लिन खोज्दा कृष्णले 'हम बिहारका भारतीय नागरिक है' भन्दै प्रतिरोध गर्ने प्रयास गरेका थिए। उनको भाइको परिचयपत्र हेर्दा वास्तविक नाम नै खुलेपछि दुवैलाई नियन्त्रणमा लिइएको थियो। तीन वर्षअगाडि काशी पक्राउ पर्दा पनि उनको साथबाट भारतीय रासनकार्ड फेला परेको थियो।

0 comments:

Post a Comment