Friday, July 31, 2015

च्यातियाे राष्ट्रिय झण्डा


काठमाडाैं- राष्ट्रिय झण्डाले देशको पहिचान झल्काउँछ। देशको सरकार र नागरिकले आफ्नो राष्ट्रिय झण्डाको गौरव बढाउन चेष्ठा राखेका हुन्छन्। तर राजधानीको केन्द्र मानिने सहीद गेटको टुप्पोमा फहराइरहेको नेपाली झण्डा हेर्दा लाग्छ झण्डाको गौरव लिखितम र वकितममा मात्रै सिमित छ। झण्डाको मर्यादा र गरिमा व्यवहारमा पालना भएको छैन। दैनिक हजारौंको आँखा पर्ने राष्ट्रिय सम्पदाको शीरमै राष्ट्रिय झण्डाको अपमान हुँदा सरोकारवालाको ध्यान पुगेको छैन। धुजाधुजा परेको सहीद गेटको झण्डाले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिको धज्जी उडाएको छ। राष्ट्रिय झण्डा प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले बनाएको कार्यविधिमा झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा झण्डा फेर्नुपर्ने उल्लेख छ। राष्ट्रपति, प्रधानमन्त्री, शीर्ष नेतादेखि उच्चपदस्थ कर्मचारीहरु दैनिक ओहोरदोहोर गर्ने राजधानीको केन्द्र भागमै राष्ट्रिय झण्डाको दुर्दशा भएको लामो समय भैसक्यो। सिम्रिक रंगको पृष्ठभूमि र गाढा निलो रंगको किनारा हुनपर्ने राष्ट्रिय झण्डाको रंग उडेर बेहाल छ। झण्डाको माथिल्लो भागमा खुर्पे चन्द्र र तल्लो भागमा सूर्यको सेतो आकार पनि खुट्याउन मुस्किल पर्छ। कार्यविधिअनुसार रंग उडेको झण्डा प्रयोग बर्जित छ। सहीद गेट परिसरको संरक्षण र रेखदेख गर्दै आएको काठमाडौं महानगरपालिका झण्डाको दुर्दशाबारे बेखबर छ। 'सहीद गेटको संरक्षण र रेखदेखको जिम्मा हाम्रो हो, तर त्यो झण्डा हामीले राखेका हैनौं,' महानगरपालिकाको कार्यान्वयन माहाशाखाका प्रमुख धनपति सापकोटा भन्छन्, 'त्यो सरकारले राखेको झण्डा हैन, हामी जवाफदेही छैनौं।' सहीद गेटको संरक्षक महानगरपालिका हो। त्यो झण्डा पनि देशकै हो, अनि जवाफदेही छैनौं भन्न पाइन्छ? नागरिकन्युजको प्रश्नमा सापकोटा भन्छन्, 'सहीद गेटमा मात्रै हैन राजधानीका धेरै ठाउँमा कार्यविधि विपरित राष्ट्रिय झण्डा राखिएको छ,' उनले थपे, 'यस्तो गम्भीर विषयमा कसैको ध्यान नगएको देखेर हामी पनि दुःखी छौं।' उनले संवैधानिक एवं सरकारी निकायमा राखिएका झण्डाहरु समेत कार्यविधिले तोकेबमोजिम नरहेका बताए। सिंहदरबार गेट अगाडि पृथ्वीनारायण शाहको सालिकमा राखिएको झण्डा पनि च्यातिएर धुजा परेको छ। राजधानीकै कैयन सरकारी अड्डामा राष्ट्रिय झण्डाको मापदण्ड, मर्यादा र गौरवलाई हेक्का राखिएको छैन।

0 comments:

Post a Comment