Friday, July 31, 2015

सर्वाधिक कमाइ गर्ने बलिउडका १० फिल्म


सुपरस्टार सलमान खान र करिना कपुर अभिनीत बजरंगी भाइजानले रिलिजको दोस्रो हप्तासम्म वल्र्डवाइड बक्स अफिसमा साढे तीन सय करोड भारुको व्यापार गरिसकेको छ । यससँगै बजरंगी भाइजान विश्वभरबाट सर्वाधिक कमाइ गर्ने आठौँ बलिउड फिल्ममा दरिएको छ । विश्वभरमा सर्वाधिक कमाइ गर्ने बलिउड फिल्मको पहिलो र दोस्रो नम्बरमा आमिर खानका फिल्म परेका छन् । आमिरको पिके सर्वाधिक कमाइ गर्ने फिल्मको पहिलो नम्बरमा पर्छ भने उनकै धुम–३ दोस्रोमा । तेस्रो नम्बरमा भने शाहरुख खानको चेन्नाई एक्स्प्रेस परेको छ । भारतीय समाचार एजेन्सीले उल्लेख गरेअनुसार विश्वभरबाट सर्वाधिक कमाइ गर्ने बलिउड फिल्मको लेखाजोखा गर्दा सलमान आमिर र शाहरुखभन्दा निकै पछि परेका छन् । विश्वमा सर्वाधिक कमाइ गरेका टप टेन बलिउड फिल्मको हिसाब गर्दा सलमानका तीनवटा फिल्म मात्र परेका छन् । यी हुन् विश्वमा सर्वाधिक कमाइ गर्ने बलिउडका टप टेन फिल्म : पिके : सात सय ३५ करोड राजकुमार हिरानीको निर्देशनमा बनेको पिकेले विश्वभरबाट सात सय ३५ करोड भारु कमाइ गरेको छ । आमिर खान अभिनीत पिके सन् २०१४ मा रिलिज भएको थियो । फिल्मले भारतमा मात्रै चार सय ८९ करोड र ओभरसिजमा दुई सय ४६ करोड भारुको व्यापार गरेको बताइन्छ । पिकेमा आमिरका साथमा सुशान्तसिंह राजपुत, सञ्जय दत्त, अनुष्का शर्मा र ओमन इरानी प्रमुख भूमिकामा छन् । ह्याप्पी न्यु इयर : तीन सय ८३ करोड फराह खानको निर्देशनमा शाहरुख खानले निर्माण गरेको ह्याप्पी न्यु इयर सन् २०१४ को ब्लकबस्टर फिल्म हो । वल्र्डवाइड तीन सय ८३ करोड कमाइ गरेको फिल्मले भारतमा मात्र दुई सय ९३ करोड र ओभरसिजमा ९० करोड आर्जन गरेको थियो । ओभसिजको तुलनामा भारतमा धेरै आर्जन गरेको फिल्ममा शाहरुखका साथ ज्याकी श्राफ, दीपिका पादुकोण, अभिषेक बच्चन, ओमन इरानीलगायतले अभिनय गरेका छन् । किक : तीन सय ७७ करोड सलमान खान स्टारर किक वल्र्डवाइड कलेक्सन गर्ने टप टेन बलिउड फिल्मको नम्बर ६ मा परेको छ । सन् २०१४ मा रिलिज भएको किकले वल्र्डवाइड तीन सय ७७ करोड कमाएको बताइन्छ । साजिद नाडियावालको निर्देशनमा बनेको फिल्ममा सलमानका साथ ज्याक्लिन फर्नान्डिस र नवाजुद्धिन सिद्धिकी प्रमुख भूमिकामा छन् । फिल्मले भारतमा तीन सय नौ करोड र ओभरसिजमा ६७ करोड कमाएको थियो । क्रिस ३ : तीन सय ७४ करोड राकेश रोशनको निर्माण र निर्देशनमा बनेको क्रिस–३ ले वल्र्डवाइड तीन सय ७४ करोड कमाएको थियो । भारतमा मात्रै तीन सय २० करोड कमाएको फिल्मले ओभरसिजमा भने ५४ करोड व्यापार गरेको थियो । ऋतिकका साथमा प्रियंका चोपडा, कंगना रनवत, विवेक ओबरायलगायतले अभिनय गरेको फिल्म बालबालिकाले बेसी मन पराएका थिए । धुम–३ : पाँच सय ४२ करोड सन् २०१३ मा रिलिज भएको धुम–३ ले वल्र्डवाइड पाँच सय ४२ करोड भारु कमाइ गरेको थियो । आमिर खान दोहोरो भूमिकामा रहेको फिल्ममा कैटरिना कैफ, ज्याकी श्राफ र अभिषेक बच्चन पनि प्रमुख भूमिकामा छन् । विजयकृष्ण आचार्यको निर्देशनमा बनेको फिल्मले भारतमा भने तीन सय ७२ करोड र ओभरसिजमा एक सय ७० करोड कमाइ गरेको थियो । एक्सनबेस धुम–३ आमिरका कारण चलेको विश्लेषण गरिन्छ । बजरंगी भाइजान : तीन सय ५० करोड हाल प्रदर्शन भइरहेको सलमान खान स्टारर बजरंगी भाइजानले मंगलबारसम्म वल्र्डवाइड तीन सय ५० करोड भारु कमाइसकेको बताइन्छ । यसले भारतमा दुई सय ४१ करोड र ओभरसिजमा एक सय नौ करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कबिर खान निर्देशित फिल्ममा सलमानका साथमा बालअभिनेत्री हर्षाली मल्होत्रा, करिना कपुर, नवाजुद्धिन सिद्धिकीलगायतले अभिनय गरेका छन् । फिल्मको व्यापार आक्रामक नै छ । चेन्नाई एक्सप्रेस : चार सय २२ करोड शाहरुख खानको फिल्म चेन्नाई एक्स्प्रेसले वल्र्डवाइड चार सय २२ करोड कमाइ गरेको छ । रोहित सेठ्ठीको निर्देशनमा बनेको फिल्मले भारतमा तीन सय एक करोड र ओभरसिजबाट एक सय २१ करोड रकम कमाइ गरेको बताइन्छ । सन् २०१३ मा रिलिज भएको फिल्ममा शाहरुखका साथ दीपिका पादुकोण प्रमुख भूमिकामा छिन् । एक्सन लभस्टोरीमा बनेको चेन्नाई एक्स्प्रेसले निर्देशक रोहितलाई निर्देशकका रूपमा पनि राम्रै उचाइ दियो । थ्री इडियट्स : तीन सय ९५ करोड राजकुमार हिरानी निर्देशित थ्री इडियट्स सन् २००९ को फिल्म हो । आमिर खान, आर माधवन, करिना कपुर, सरमन जोशी, बमन इरानीलगायतले अभिनय गरेको कमेडी बेसको फिल्मले वल्र्डवाइड तीन सय ९५ करोड भारु आर्जन गरेको थियो । जसमा भारतबाट दुई सय ६९ करोड र ओभसिजबाट एक सय २६ करोड कमाइ भएको बताइएको छ । कलेज पढ्ने युवाको कथामा निर्माण गरिएको फिल्ममा हास्यरसको प्रचुरता छ । निर्देशक इरानीलाई लगे रहो मुन्नाभाइपछि यो फिल्मले उचाइ दिलाएको हो । ब्याङब्याङ : तीन सय ४० करोड सिद्धार्थ आनन्द निर्देशित सन् २०१४ को एक्सन फिल्म ब्याङब्याङले वल्र्डवाइड तीन सय ४० करोड कमाएको थियो । भारतमा दुई सय ६१ करोड संकलन गरेको फिल्मले ओभरसिजमा ७९ करोड व्यापार गरेको थियो । ऋतिक रोशन र कैटरिना कैफ प्रमुख भूमिकामा रहेको ब्याङब्याङ सन् २०१० मा रिलिज भएको हलिउडको चर्चित फिल्म डे एन्ड नाइटको रिमेक हो । एक था टाइगर : तीन सय २० करोड सन् २०१२ मा रिलिज भएको सलमान खान अभिनीत एक था टाइगरले वल्र्डवाइड तीन सय २० करोड कमाइ गरेको थियो । भारतमा मात्र दुई सय ६३ करोड भारुको व्यापार गरेको फिल्मले ओभरसिजमा भने ५७ करोड कमाएको थियो । कबिर खानको निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा कैटरिना कैफ प्रमुख भूमिकामा छिन् । एक्सन लभस्टोरी एक था टाइगरमा भारत र पाकिस्तानका जासुसको प्रेमकथा देखाइएको छ ।

0 comments:

Post a Comment