Friday, July 31, 2015

कास्की पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो


पोखरा, १६ साउन भारी वर्षापछि आएको पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको छ ।आजको नया पत्रिका दैनिकमा विष्णु गौतमले खबर लेख्नुभएको छ । बिहीबार आएको पहिरोमा पुरिएर लुम्ले, भदौरे तामागी र ढिकुरपोखरीमा २९ जनाको मृत्यु भएको थियो । शुक्रबार थप पाँचजनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार लुम्लेमा २७, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुईजनाको मृत्यु भएको छ । भदौरे तामागीमा चार र लुम्लेमा तीन गरी सातजना बेपत्ता भएका छन् । १४ जना घाइेतको पोखरामा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि शुक्रबार घर फर्किएका छन् । मृतक सबैको शुक्रबार दाहसंस्कार गरिएको छ । लुम्लेमा पुरिएकामध्ये पाँच वर्षीय कविता शेर्पाको अवस्था अझै अज्ञात छ भने पाहुनाका रूपमा आएका अन्य दुईजनाको अवस्था अज्ञात रहेको स्थानीय श्रीराम देवकोटाले जानकारी दिए । पहिरोमा परेर भदौरे तामागीमा बेपत्ता चारजनाको शुक्रबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । भदौरे तामागीका पाँच वर्षीय विश्व पराजुली, सात वर्षीय समीर पराजुली, १० वर्षीय मनबहादुर सुनार र १० महिनाका बालक किस्मत सुनारको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकाहरूको खोजीका लागि तीनवटै सुरक्षा निकायबाट डेढ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राउतले बताए ।

0 comments:

Post a Comment