Friday, July 31, 2015

घर छैन, कहाँ जाने?


हातखुट्टा राम्रोसँग चल्दैनन्। मुखबाट आवाज निकाल्न खोज्दा निकै गाह्रो हुन्छ। सेतो कमिज, कालो पाइन्ट लगाएर ह्विलचियरमा बाँधिएर बसेका छन्, दीपेन्द्र शाक्य। भुइँचालोको कुरा झिक्नासाथ उनी टोलाउन थालिहाल्छन्। वैशाख १२ को भुइँचालोमा उनी घरमै टिभी हेर्दै थिए। आमा आफ्नै काममा व्यस्त थिइन्। 'भुइँचालो आयो' भनेर चिच्याउँदा आमाले पत्याइनन् र भनिन्, 'बित्थामा जिस्काउँछौ?' भुइँचालो आएको बुझेपछि नै दीपेन्द्रले आमालाई हत्त न पत्त सुनाएका थिए। लगत्तै घरको गारो गर्लम्मै ढल्यो। सुतिरहेका दीपेन्द्र त्यसमै पुरिए। आत्तिँदै चिच्याउँदै आमा छोरा खोतल्न लागिन्। पसिनासरि भएर ढुंगामाटो पन्छाउँदा उनी धुलाम्मे भइसकेकी थिइन्। धन्न, दीपेन्द्र भेटिए। भक्तपुर इन्नाचोकमा माटोबाट निर्मित पुरानो घर थियो उनीहरूको। अब खण्डहर बनिसक्यो। मस्तिष्क पक्षघात भएका दीपेन्द्रको रेखदेखमा चौबीसै घन्टा खटिरहेकी आमा मैयाँको दैनिकी अहिले झनै कठिन बनेको छ। यी आमाछोरा अहिले ललितपुर च्यासल शिविरमा आश्रय लिइरहेका छन्। उक्त शिविरमा अपांगता भएका व्यक्तिका लागि स्वालम्बन जीवनपद्धति केन्द्र (इन्डिपेन्डेन्ट लिभिङ) ले सहयोग गरिरहको छ। भुइँचालोले भग्नावशेषमा बदलिदिएको घरका सामान झिक्न आँट गरेकी छैनन्, मैयाँले। 'अपांग छोरालाई एकछिन छोड्न मिल्दैन। कोही आँट हुनेले सामान झिकिदिन्छन् कि!' उनी भन्छिन्, 'घरमा पुरिएका सामान बिग्रिसके होलान्, यता छोराको अवस्था यस्तो छ। चिसो भुइँमा बस्दा राम्ररी निदाउन पनि पाएको छैन।' दीपेन्द्रलाई दिसापिसाब गराउने, उठाउने, सुताउने, खुवाउने, डुलाउने सबै आमाले नै गर्नुपर्छ। 'म त डाडाँमाथिको जून,' ६१ वर्षीया उनले मसिनो स्वरमा भनिन्, 'म मरेपछि यसको हेरचाह कसले गर्ला?' आमासँग कुरा गरिरहँदा ह्विलचियरमा रहेका दीपेन्द्रले आफ्नो केही गुनासो भएको संकेत गरे। उनै दीपेन्द्रको संकेतमा आमाले यो संवाददातासँग कुरा गरेकी थिइन्। दीपेन्द्र ३५ वर्षका भए। सामान्य व्यक्तिजस्तै घरजम गरेर बस्ने उनको इच्छा मनभित्रै कुँडिएको छ। छोराको इच्छा पूरा गरिदिन नसकेकोमा आमाको चिन्ता बढेको छ। शारीरिक अवस्थाले उनी अन्य युवाझैं सक्षम छैनन्। मन न हो, उनको मनभित्र आशाको दियो निभेको भने छैन। आमा चाहन्छिन्, राज्यले अशक्त छोराको लागि एउटा सहयोगी उपलब्ध गराइदियोस्। दीपेन्द्रको इच्छाचाहिँ ओत लाग्ने बासको व्यवस्था होस् भन्ने छ। घर भत्केको तीन महिना बितिसके पनि शिविरकै बास छ। यसपछि कहाँ बस्ने उनीहरू अन्योलमा छन्, यति बेला। उनी समाजमा घुलमिल हुन चाहन्छन्। ह्विचियरमा यताउता गुड्ने इच्छा छ। 'घुमफिर गर्न मन लाग्छ तर यस्तो खाल्डाखुल्डी बाटोमा हिँड्नै गाह्रो,' यो उनको मात्र होइन उनीजस्ता कैयौं अशक्त/अपांगहरूको चाहना हो, 'हामीले पनि चढ्न मिल्ने गाडी हुनुपर्छ। रेस्टुरेन्टमा गएर खान मन छ। आफैं जान सक्ने शौचालय हुनुपर्छ।' राजनीतिप्रति गहिरो चाख छ, उनको। कांग्रेस नेता शेरबहादुर देउवालाई त उनले तीनपटक भेटिसकेका रहेछन्। गगन थापा पनि उनका मन पर्ने नेता हुन्, तर भुइँचालोपछि उनलाई भेट्न न गगन पुगे न त देउबा नै! यही भएर उनीभित्र नेताप्रति एकखाले आक्रोश जागेको छ। भन्छन्, 'आइहालेछन् भने सुरुमा त झगडा गर्छु। मजस्ता अपांगता भएकाहरूबारे उनीहरू खोइ सोचेको?' शरीर नचले उनको दिमाग तेज चल्छ। 'मान्छेले मान्छेको मन चिन्नुपर्छ,' नेता बन्ने चाहना बोकेका उनी भन्छन्, 'देशको समग्र प्रणाली नै परिवर्तन नगरे विकास सम्भव छैन।' च्यासलको शिविरमा दीपेन्द्रजस्ता ४५ जना अपांगता भएकाहरू बस्दै आएका छन्। नेपालमा बस्ने कोरियाका नागरिकको समूह 'कोरिएन एसोसिएसन इन नेपाल'ले डेढ महिनादेखि यहाँ पिउने पानी, दूध, तरकारी, फलफूल सहयोग गरिरहेको छ। रेडक्रसलगायत विभिन्न संघसंस्था पनि जुटिरहेका छन्। कार्यान्वयन कहिले? दीपेन्द्र शाक्यले अधिवक्ता सुदर्शन सुवेदीसँगै 'अति अशक्त/अपांगता भएका व्यक्तिलाई हेरचाहसहितको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइपाऊँ' भनी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २०६६ मा गरिएको रिट दायरमाथि सर्वोच्च अदालतले 'बेसहारा अपांगता भएकालाई तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म र सहयोगी समेतको व्यवस्था गर्न' भन्दै ०६९ साउन ३० मा फैसला गरेको थियो। तीन वर्ष भयो तर सर्वोच्चको फैसला कागजमै सीमित छ, कार्यान्वयन भएको छैन। सर्वोच्चले गरिसकेको फैसलासमते कार्यान्वयन नहुँदा दीपेन्द्रको मन कुँडिएको छ। अभिभावकविहीन अपांगता भएकाहरूका लागि अपांगता पुनःस्थापना गृह बनाउन, ऐनको परिमार्जन गर्न समेत सर्वोच्चले त्यस बेला फैसला गरेको थियो। 'सर्वोच्चजस्तो निकायको फैसला नै यस्तो हुन्छ भने हामीजस्ता व्यक्ति कसरी बाँच्ने?' उनी प्रश्न गर्छन्। 'राज्यले हेरोस्' यसपालिको विनाशकारी भुइँचालोले कतिपयको हात काट्नुपरेको छ त कतिपय मेरुदण्डको चोटका कारण ह्विलचियर प्रयोग गर्न बाध्य छन्। घरको भित्ता वा छाना खसेर पुरिएपछि अपांगता हुनेहरूको संख्या बढी देखिन्छ। रसुवाका पेम्बा तामाङले यही भुइँचालोका कारण दाहिने खुट्टाको घुँडामुनिको भाग काट्नुपरेको छ। गाउँमै भारी बोक्ने काम गर्दै आएका उनी घर भत्कँदा पुरिएका थिए। जसोतसो उनी बाँच्न सफलत त भए, तर खुट्टा गुमाउनुपर्योन। 'मलाई गाउँ जान मन छ,' प्लास्टिकको कुर्सीमा बसिरहेका पेम्बाले दुखेसो पोखे, 'आफूले गर्दै आएको भारी बोक्ने काम नि गर्न सक्दिनँ। अब के गरी जीवन गुजार्ने?' अपांगता भएकाहरू अन्यजस्तै उनी पनि च्यासल शिविरमा शरण लिइरहेका छन्। रसुवा घुम्न पुगेका लन्डनका एक मनकारी पर्यटकले उनको उद्धार गरी त्रिशूली अस्पताल नुवाकोट पुर्याएका थिए। जिल्ला अस्पतालमा खुट्टा काटिएपछि आफूलाई काठमाडौं ल्याइएको उनले बताए। अहिलेसम्म पनि उनको भूकम्पपीडित परिचयपत्र बन्न सकेको छैन। पेम्बाजस्तै घर भत्किएर पुरिएपछि घाइते भएकी कमला तिमल्सिनालाई स्पाइनल कड इन्जुरी भएको छ। सिन्धुपाल्चोक मांखा गाविसकी ३२ वर्षे तिमल्सिना ह्विलचियर प्रयोग गर्नुपर्ने अवस्थामा छिन्। सुरुमा निकै गाह्रो भए पनि अहिले अलिअलि गोडा चल्न थालेको उनले बताइन्। राज्यले आफूजस्ता हिँडडुल गर्न नसक्नेहरूका लागि सिपमूलक व्यवसायको व्यवस्था गर्नुपर्ने उनको माग छ। 'घर नै भत्कियो। अब कहाँ बस्ने, के गर्ने?' उनको चिन्ता छ। कमलाजस्तै पीडा भोग्ने काभ्रेकी सुनिता सापकोटामा आफ्नै खुट्टामा बाँच्ने साहस जागिसकेको छ। सिप सिकेर व्यवसाय गर्न चाहन्छिन्। ह्विलचियरमा रहेकी उनले भनिन्, 'घरविहीन भएपछि अबको जिम्मा राज्यको हो। उसैले हामीलाई रोजगारको व्यवस्था मिलाइदिनुपर्छ।' वैशाख १२ को भूइचालोपछि २२ हजार ३ सय ९ जना व्यक्ति घाइते भएका थिए। तीमध्ये कति व्यक्ति अपांगता भए भन्ने एकीन तथ्यांक छैन। विभिन्न अस्पतालहरूको तथ्यांकअनुसार भुइँचालोबाट २ सय ५० जनामा 'स्पाइनल कड इन्जुरी' भएको पाइएको राष्ट्रिय अपांग महासंघका प्रशासकीय अधिकृत मनिष प्रसाईंले बताए। राष्ट्रिय अपांग महासघंले पनि भुइँचालो प्रभावित १४ जिल्लामा अपांग भएकाहरूको तथ्यांक संकलन गरिरहेको छ। 'अहिलेसम्म तीन हजार एक सयको तथ्यांक संकलन गरी आवश्यकता पहिचान गरेका छौं,' प्रसाईंले भने। -

0 comments:

Post a Comment