Friday, July 31, 2015

बोक्सी आरोपविरुद्ध आयो ऐन


काठमाडौ, श्रावण १६ - बोक्सी आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई कडा सजायको भागिदार बनाउने गरी कानुन आएको छ । संसद्ले बोक्सीसम्बन्धी (कसुर र सजाय) ऐन २०७१ पारित गरेको छ । राष्ट्रपतिले लालमोहर लगाएपछि यो कानुन कार्यान्वयनमा आउनेछ । कानुनअनुसार कसैले कसैलाई बोक्सी आरोपमा यातना दिएको प्रमाणित भएमा १० वर्षसम्म कैद र पचास हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यसअघि मुलुकी ऐनअन्तर्गत दुव्र्यवहार गर्नेलाई ३ महिनादेखि २ वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको थियो । बोक्सी आरोपमा महिलामाथि यातना दिने क्रम बढेपछि कडा कानुनी व्यवस्था गर्न चौतर्फी आवाज उठेको थियो । २०६७ मा राष्ट्रिय महिला आयोगले महिला तथा बालबालिका मन्त्रालयमा बोक्सीको आरोप लगाउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन ऐन प्रस्ताव गरेको थियो । पाँच वर्षपछि ऐन पास भएको हो । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले यो ऐन लागू भएसँगै महिलामाथि बोक्सीको नाममा हुने हिंसामा कमी आउने प्रतिक्रिया दिइन् । ‘सजाय धेरै भएपछि केही हदसम्म हच्किन्छन्,’ उनले भनिन्, ‘बढी सजाय भएपछि प्रहरी पनि त्यस्ता घटनाका पीडितलाई पक्राउ गर्न बाध्यकारी हुन्छ ।’ यसअघि यो अपराधमा थोरै सजाय थियो । कानुनत: ३ वर्षभन्दा कम सजाय भएको अपराध गर्ने व्यक्तिहरू धरौटीमा रिहा हुने गरेका थिए । कानुनले बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । साथै १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सी आरोप लगाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेछ । कानुनअनुसार बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइने छैन । पीडितलाई मलमूत्र खुवाउने, चारपाटा मुड्ने प्रवृत्ति समाजमा मौलिँदो थियो । त्यस्ता अपराध गर्नेलाई १० वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बोक्सी आरोपमा अंगभंग गर्नेलाई १० वर्ष कैदसँगै ज्यान मार्ने उद्योगअन्तर्गत थप सजाय हुनेछ । – यातना दिएको प्रमाणित भए १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना – अपमानजनक व्यवहार गर्नेलाई १ देखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना – निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना – धामीझाँक्रीको माध्यमबाट आरोप लगाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना – प्रहरी अनुसन्धानमा दख्खल दिन खोजे ३० हजार जरिवाना र ३ महिना कैद बोक्सीकै आरोपमा यातना दिने व्यक्तिलाई उक्साउनेलाई समेत सजायको व्यवस्था गरिएको छ । यस्तै प्रहरीको अनुसन्धानमा दख्खल दिन खोजे ३० हजार रुपैयाँ जरिवाना र तीन महिना कैद हुने व्यवस्था गरिएको छ । वरिष्ठ कानुन व्यवसायी मीरा ढुंगानाले ऐनमा कसुरअनुसार सजाय छुट्याउनु राम्रो भएको प्रतिक्रिया दिइन् । ‘बोक्सीको आरोपमा के गरेको हो भन्ने खुलेपछि त्यहीअनुसार सजाय गर्न सहज हुन्छ,’ उनले भनिन्, ‘पहिलाको कानुनमा बोक्सीको आरोप लगाएर गरिने सबै किसिमको कसुरका लागि एउटै सजाय थियो ।’ कानुनसँगै जनचेतना पनि फैलाउन आवश्यक भएको उनको भनाइ छ । बोक्सी आरोपमा यातना दिएका व्यक्तिलाई यातना दिने पीडक पक्षले मुद्दाको किनारा नलागेसम्म आपैंmले हेरचाह गर्नुपर्ने व्यवस्था कानुनमा गरिएको छ । त्यसअनुसार पीडकले पीडितलाई आफ्नै घरमा खानबस्न र लगाउने कपडा दिनुपर्नेछ । पीडितलाई शरीरिक वा मानसिक चोट पुगेको भए त्यसको उपचारसमेत पीडक पक्षले नै गराउनुपर्ने छ भने त्यसक्रममा लागेको सबै खर्च पीडक पक्षले भर्नुपर्ने छ । पीडितलाई थप पीडा हुने गरी गाली बेइज्जती, धम्की दिन नपाइने व्यवस्था गरेको छ । पीडक पक्षको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको या पीडकले रकम उपलब्ध गराउन नसक्ने अवस्था भए नेपाल सरकारले बेहोर्ने व्यवस्था राखिएको छ । पीडकको आर्थिक स्थितिको मूल्यांकन अदालतले ठहर्‍याउने छ । पीडकले तिर्न नसके सरकारले तीन महिनाभित्र लैंगिक हिंसा निवारण कोषबाट उपलब्ध गराइने व्यवस्था राखिएको छ । उपचारका क्रममा पीडितको मृत्यु भए क्षतिपूर्तिबापतको रकम पीडितका छोराछोरी र त्यो नभएको खण्डमा बाबुआमाले पाउने व्यवस्था छ ।

0 comments:

Post a Comment