Thursday, July 30, 2015

३१ वर्षदेखि फरार 'हत्यारा' पक्राउ


काठमाडौं- भक्तपुर जिल्ला अदालतको स्रेस्तामा ट्र्याक्टरले १३ वर्षीय किशोरलाई किचेर मारी फरार उल्लेख भक्तपुर तौलाछेका भीमप्रसाद गोजाले आफ्नो बसाइ स्थान छाडेका थिएनन्। उनी नियमित रुपमै भक्तपुर नगरपालिका–१ मै बस्थे। अनि नेपाल इन्जिनियरिङ कलेजमा चालकको काम गर्थे। अदालतले दोषी ठहर गरेको ३१ वर्षसम्म उनी निरपराधीझैं सामान्य दैनिकी बिताउँदै परिवारसाथै बसिरहे। अदालतको कैदसजाय असुल्न सघाउन बनेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सूची पल्टाउँदै उनको अवस्थाबारे खोजी सुरु गर्दा बल्ल उनी ३१ वर्षअघिको अपराधका लागि पक्राउ परे बिहीबार। 'कैद र जरिवाना त्यति ठूलो त हैन तर लामो समयदेखि फेला नपरेकाले हामीले खोजी सुरु गर्यौं ,' ब्युरोकी एसपी किरण बज्राचार्यले नागरिकसँग भनिन्, 'बिहीबार भक्तपुरको दुवाकोटमा फेला परेपछि नियन्त्रणमा लिएर अदालतमा बुझायौं।' २०४१ जेठ ३१ गते बिहान साढे ७ बजे तत्कालीन भक्तपुर नगर पञ्चायत–३ गरुड कुण्डलमा गोजाले चलाएको बाअत १०६ नम्बरको ट्र्याक्टर पावर ट्रेलरले १३ वर्षीय किशोर कृष्णगोपाल कोजुलाई किचेको थियो। ट्रेलरले किच्दा घटनास्थलमै उनको मृत्यु भएपछि घटनास्थलबाट भागेका उनी न प्रहरीको सम्पर्कमा पुगे न अदालतमै हाजिर भए। घटना भएदेखि नै फरार उनीविरुद्ध जिल्ला अदालत भक्तपुरमा सवारीज्यान मुद्दा सुरु भयो। उनीविरुद्ध प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोग पत्रअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महल र सवारी ऐनअनुसार मुद्दा प्रक्रिया सुरु भयो। सुनुवाइका क्रममा उनको लापरबाहीबाट किशोरको ज्यान गएको भन्दै मुलुकी ऐनको दफा ६(२) बमोजिम २ वर्ष कैद सुनाइयो भने सवारी ऐन, २०२० को दफा ४६(१) क अनुसार रु. २ सय अनि दफा ५१(१)क थप ८ सय जरिवानासमेत तोक्दै फैसला भयो। अदालतले किरियासमेत उनैबाट भराउने फैसला गर्दै थप २ हजार दिलाइ–भराइदिने भन्दै २०४२ माघ ७ मा फैसला गरे पनि उनी पक्राउ परेका थिएनन्। उनको मुद्दा तत्कालीनमध्ये क्षेत्रीय अदालतले २०४४ माघ ७७ मा जिल्लामा पुनः मुद्दा हेर्नेगरी मिसिल पठाएकोमा २०६० फागुन १३ मा पुरानै फैसला सदर भएको थियो। अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पठाएको अदालतको जरिवाना–कैद असुल गर्नुपर्नेको सूचीमा गोजाको नाम देखेपछि ब्युरो प्रहरीले उनको खोजी सुरु गरेको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनी भक्तपुरमै रहेको र भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा २०४९ देखि चालकका रुपमा काम गर्ने गरेको खुलेपछि बिहीबार प्रहरी कलेज पुग्यो। 'हामी कलेज पुग्दा उनी विद्यार्थी ल्याएर बस रोकी बसेका रहेछन्,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ' गोजु तपाईं नै हो भनेर सोधपुछ गरेपछि कालोनिलो भए।' जरिवाना असुली, कैद उस्तै प्रहरीले आफ्नो परिचय खुलाउँदै उनलाई नियन्त्रणमा लिई महाराजगन्जमा रहेको कार्यालयमा ल्याएर सोधपुछ गर्दा अदालतका कर्मचारीको बदमासी फेला पर्योन। स्रोतका अनुसार गोजुलाई अदालतले २ वर्ष कैद १ हजार जरिवाना र २ हजार किरिया खर्च असुल्ने फैसला गरेपछि २०५० मा उनी अदालत कर्मचारीको सम्पर्कमा पुगेको खुल्यो। अदालत कर्मचारीले उनलाई अहिले जरिवाना तिरे पुग्छ भन्दै एक हजार लिएर छाडेको खुलेपछि ब्युरो कर्मचारीले उनको दाबीको सत्यता खोज्दा अदालतको ढड्डामा उनको १ हजार जरिवाना असुलिएको तर २ हजार करिया खर्च र २ वर्ष कैद भने उस्तै रहेको फेला परेको स्रोतले जानकारी दियो। जानकार अधिकारीका अनुसार जरिवाना असुल्न संलग्नले त्यसवापत राज्यबाट २५ प्रतिशतसम्म प्रोत्साहन रकम पाउने हुँदा अदालत कर्मचारीले बदमासी गरी जरिवाना मात्र असुली दोषी छाडेका घटना यसअगाडि पनि सार्वजनिक भएको थियो। बाँके, खजुरको राष्ट्रिय वाणिज्य बैंकको ठगीमा फरार रहेका डम्बरकुमारी उपाध्याय, उनको छोरा पुरुषोत्तम र शारदालाई अदालतले जरिवानासहित ६ वर्षसम्म कैद फैसला गरेको थियो। अदालतको स्रेस्तामा फरार रहेका उनीहरुलाई २०७१ मा ब्युरोको टोलीले पक्राउ गरी कैद र तीनै जनाको गरी ३७ लाख जरिवाना असुल्न अदालतमा बुझाउँदा जरिवाना रकम यसअगाडि नै बुझिसकिएको खुलेको थियो।

0 comments:

Post a Comment