Thursday, July 30, 2015

गैरकानुनी रूपमा अमेरिका छिरेकोमा पश्चाताप


किरण (इमिग्रेसन अदालतमा मुद्दाका कारण नाम परिवर्तन) आठ महिनाअघि दलाल मार्फत विभिन्न देश हुँदै मेक्सिकोको बाटो भएर गैरकानुनी रुपमा अमेरिका छिरेका थिए। ‘हण्डर खाएपनि अमेरिका पुग्ने लक्ष्य त पुरा भयो। तर, अहिले उनलाई पश्चाताप भईरहेको छ। यहाँ घण्टा हानेर आउँदा लागेको ऋण कहिले तिर्ने, परिवार भेट्ने कहिले, विथ्थामा आइएछ,’ उनले भने। मेक्सिकोवाट आउने कति भेटिन्छन्? यो प्रश्नमा किरण भन्छन् , ‘धेरै छन् हाम्रो जिल्ला (मध्यपश्चिमको एक जिल्ला) मा पहिला केटाहरू माओवादीले सिध्याईदियो अहिले डीवी दलालले। डीवी अर्थात धनवहादुर किरणलाई अमेरिकासम्म ल्याईदिने नेपाली दलालको नाम हो।’ ‘पोखरा वाग्लुङ तिर अर्को आरके दलाल छ अनी काठमाडौंमा पनि एउटा छ,’ किरणले भने, ‘यिनीहरुले हुलका हुल ल्याएका छन, कति आउँदै होलान्।’ किरण पौडिन जान्दैनन्। तर, मेक्सिकोको दलालले सानो मोटरको ट्युव दिएर पारी जान भन्यो। नदि त्यत्ति फराकिलो थिएन हातले खियाउँदै पारी अमेरिकास्थित टेक्सास राज्यको भुमिमा पुगे। ‘लुगा निथ्रुक्क भिजेको थियो। नदि पार गरेर अमेरिकी भूमिमा पाँच मिनेट उभिएपछि सीमा सुरक्षा प्रहरी आए र हिरासतमा लिए।’ निथ्रुक्क भिजेको लुगासहित उनी तीनदिनसम्म टेक्सासस्थित जेलको हिरासतमा बस्नु पर्‍यो। ‘एसी भरिएको कोठा चिसो न चिसो थियो त्यहाँ माथि भिजेका लुगा अति गाह्रो भयो’, उनले भने ‘तीन दिनपछि भने जेलमा लगाउने लुगा र खाना दिए।’ हाईस्कुलको पढाई बिचमै छाडेर बसेका किरण अमेरिका जाने रहरले डीवीको सम्पर्कमा पुगे। २१ वर्ष पनि पुरा नभएका उनलाई डीवीले २३ लाख रुपैंयामा अमेरिका पुर्‍याउने बताए। ‘समय लाग्छ तर, अमेरिका पुर्‍याईदिन्छु’ डीवीले भनेका थिए। अमेरिका जाने भनेपछि ऋण गरेर भएपनि पैसा जुट्यो। ‘अमेरिका जाने भनेपछि ऋण पाउन पनि गाह्रो भएन सवैले पत्याए’, उनले भने। नेपालबाट भारतको नयाँ दिल्ली पुगे। त्यहाँबाट पेरू उडे। पेरूदेखि अमेरिकाको टेक्सासमा पुगेर उभिदाँ उनले आधा दर्जनभन्दा बढी दक्षिण र मध्य अमेरिकी देश पार गरे। मध्य अमेरिकादेखि उत्तर अमेरिका छिर्न ६ महिना लाग्यो यस बिचमा पाएको दुःख र हण्डर जिऊ सिरिंग हुने खालको छ। डीवीले २३ लाख भनेपनि अमेरिका छिर्दा ३० लाख रूपैंया भन्दा बढी लाग्यो। पेरू पुगेपछि कोलम्विया छिरे। लागूऔषध, मानव तस्करीका लागि बद्‌नाम देश कोलम्बियामा भेटिएका मानव तस्करले पासपोर्ट फाल्न लगाए। ‘हामीलाई टिफिन बट्टामा खाना दिए त्यसअघि राम्रोसँग खानसम्म पाएका थिएनौं टिफिनमा मासु लगायतको खाना थियो, मज्जासँग खाईयो अनि दलालले भने त्यही टिफिन वट्टामा पासपोर्ट अरु कागज पत्र च्यातेर फालिदेउ हामीले पनि त्यही गर्यौं।’ कोलम्वियामा प्रहरीले समाते। ‘पैसा छ कि भनेर शरीर खानतलासी गरे जे भएको लगिदिए। पैसा लुकाएको छ कि भनेर व्लेडले जुत्ताको तलुवापनि काटेर हेर्थे’, उनले भने ‘म सँगैका एकजना साथीले टुथपेष्ट निष्कालेर त्यसभित्र केही पैसा राखेका थिए त्यो पनि थाहा पाए र लिईदिए, त्यहाँका पुलिसले जहाँ राख्दा पनि थाहा पाउँथे।’ बिचमा पानमा लगायत केही मध्य अमेरिकी देश पुगेपछि ग्वाटेमाला पुगे। ‘यो क्रममा कयौं दिन पुरा पेट पनि खान पाईएन’, उनले भने, ‘एउटा दलालले अर्कोलाई जिम्मा लगाउँथ्यो। नयाँले पैसा दिए अघि बढाउँथ्यो नदिदाँ त्यही बस्नु पर्थ्यो।’ ‘घरबाट पैसा आए अघि बढ्न पाइन्थ्यो नआए त्यही बस्ने हो ग्वाटेमालाबाट कन्टेनरमा मेक्सिको छिर्नु थियो। मेक्सिको छिर्दा असाध्यै गाह्रो भयो’, उनले भने, ‘सानो ठाउँमा कोचिएको थियो, उठेपछि बस्ने ठाउँ थिएन बस्दापनि खुट्टा चलाउनसमेत मिल्दैनथ्यो। धण्टौ लामो यात्रा थियो, बंगलादेश र भारतवाट आएकाले त त्यही दिसा पिसाव गर्थे त्यो गन्हाएर बसिनसक्नु हुन्थ्यो।’ मेक्सिको पनि मानव तस्करका लागि चर्चित छ। ‘मेक्सिको छिर्दा हामी नेपाली चार जना सहित अरू कयौं देशका थियौं। भाषा नमिलेपछि इसाराले कुरा हुन्थ्यो’, किरण भन्छन् ‘मेक्सिको पुगेपछि हामीलाई लिन आएको एउटा समूह र अर्कोबीच फाइट (हानाहान) भयो। नयाँ दलालले अपहरण गरेर लग्यो’, किरणले भने, ‘हामी धेरैलाई एउटै कोठामा लगेर थुन्यो। अपहरण गर्ने नयाँ मानव तस्करलाई जनही एक हजार डलर वुझाएपछि उसले टेक्सासको सीमासम्म लगेर नदि पार गर्न लगायो।’ टेक्सासबाट उनलाई अर्को राज्यको डिटेन्सन सेन्टरमा लगियो। ‘त्यहाँ खान बस्न राम्रै थियो’, किरणले भने ‘तर, जेल जेलनै हो।’ अदालतले उनलाई २ हजार ५ सय धरौटीमा बाहिर निष्कन दियो। केही महिना हिरासतमा बसेका किरण अहिले घण्टाका हिसाबले पैसा पाउने ग्याँस स्टेसनमा काम गर्छन्। किरणको झण्डै ६ महिनामा अमेरिका पुग्ने लक्ष्य त पुरा भयो। हिरासतबाट पनि अहिले मुक्त भई टेक्सासमा घण्टाका दरले पारिश्रमिक पाउने गरी काम गर्छन्। तर, आउने दिन सहज देखेका छैनन्। यो किरणको मात्र कथा होइन। सयौं नेपालीको कथा यस्तै छ। मेक्सिकोबाट गैरकानुनी रूपमा छिर्ने नेपालीको संख्या बढिरहेको छ। अमेरिका मेक्सिको सीमा क्षेत्रका जेल कयौं देशवाट गैर कानुनी रूपमा आउने अप्रवासीले भरिएका छन्। त्यहाँ ठाउँ नभएकाले विभिन्न राज्यका जेलमा पठाउने गरिएको छ। टेक्सास, एरिजोना, क्लालिफोर्निया बाहेक जर्जिया, डेनभर, न्यु हेमेस्पियर लगायत दुई दर्जनभन्दा बढी राज्यका जेलमा नेपाली हिरासतमा रहेको जानकारहरू बताउँछन्। ‘मैले विभिन्न राज्यका कयौं डिटेन्सन सेन्टर (जेल)मा दजनौं नेपाली भेटेको छु,’ सानफ्रान्सिस्कोका इमिग्रेसन सम्बन्धी कानुन व्यवसायी (इमिग्रेसन एटर्नी) गोपाल शाहले भने। अमेरिकाको जेलमा कति नेपाली छन् यो वासिंटन डिसिस्थित दूतावासलाई पनि कुनै जानकारी छैन। डिपोर्ट (नेपाल पठाउनु) पर्‍यो भनेमात्र हामीकहाँ ल्याउँछ, नेपाली दूतावासका अधिकृतले भने, ‘जेलमा कति छन् त्यो भने हामीलाई थाहा छैन हामी खोज्न तिर पनि लागेका छैनौं।’ संसदको कानुन तथा मानव अधिकारी समितिले केही महिनाअघि दक्षिण अमेरिका र मध्य अमेरिकी देशका जेलमा रहेको नेपालीको विवरण दिन परराष्ट्र मन्त्रालयलाई निर्देशन गरेको थियो। दूतावासमा यसबारेमा कुनै जानकारी नआएको ती अधिकृतले बताए। थुनिएका नेपाली पनि दुतावासको सम्पर्कमा आउन चाहँदैनन्। कतिपय सन्दर्भमा त थुनिएका नेपालीलाई नेपाल फर्काउन अमेरिकाका सम्वन्धित निकायले माग गरेअनुसार आवश्यक कागजात प्रदान नगर्ने समेत दूतावासलाई नेपालवाट विभिन्न शक्तिकेन्द्र मार्फत दवाव समेत आउने गरेको छ। ‘पासपोर्ट लिन आउँदा हामीले कयौंलाई कसरी कुन दलाल मार्फत आयौं भनेर कहिलेकाँही सोध्ने गर्छौ’ दूतावासका ती अधिकृतले भने, ‘तर, दलालको नाम भन्नै मान्दैनन् अंकलको चिनेको हो, मलाई थाहा छैन यस्तै जवाफ दिएर टार्छन।’ हिरासतमा पर्ने धरौटीमा छुट्ने भएकाले पनि यत्तिनै नेपाली जेलमा छन् भन्न कठिन भएको हो। केहीको १ हजारभन्दा बढी नेपाली जेलमा छन् भन्ने अनुमान पनि छ। युवा मात्र होइन मेक्सिको बाटो भई ज्यान जोखिममा पारी युवतीहरूपनि अमेरिका छिर्ने गरेका छन्। यो क्रम बढिरहेको सम्वद्धहरू बताउँछन्। तीन महिना अघिको भूकम्पपछि अमेरिकाले नेपालीलाई दिएको टेम्प्रोररी प्रोटेक्डेट स्टाट्स (टीपीएस)लाई पनि अपव्याख्या गरी अमेरिका छिरेपछि त्यहाँ बस्न र काम गर्न पाइन्छ भन्ने भ्रम पनि परेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालीलाई आफूले अमेरिका प्रवेश गर्न तथा टीपीएस हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरुले दावी गरेको भनी हालै आम सञ्चारमाध्यममा आएका खबरहरुप्रति अमेरिकी दूतावास चिन्तित भएको जनाएको छ। दूतावासले असार ९ अघि अमेरिका पुगेकाले पुस ६ गतेसम्म मात्र यस्तो टीपीएस आवेदन दिन सक्ने जनाएको छ। गैर कानुनी रूपमा मानव तस्कार मार्फत आउने क्रम बढेकाले अमेरिकाले मानव वेचविखनको स्रोत मुलुकमा नेपाललाई पनि राखेको छ। गैरकानुनी रूपमा अमेरिका छिरेपछि पनि समस्या सकिँदैन। अमेरिका बस्न र काम गर्ने अधिकार पाउन लामो कानुनी प्रकृयामा जानुपर्ने हुन्छ। यो खर्चिलो र झन्झटपूर्ण छ। किरण २ हजार ५ सय डलर धरौटीमा छुटेपनि सवै यती नै पैसामा हिरासत मुक्त हुन्छन् भन्ने छैन। २५ हजार डलरसम्म तिरेका उदाहरण छन्। गैरकानुनी रुपमा आउनेले नेपाल फर्किदाँ सुरक्षा खतरा छ भन्दै शरणार्थी भई बस्न पाउँ भनि निवेदन दिन सक्छन्। केही वर्ष लगाएर शरणार्थीको दर्जा पाएपछि अमेरिकाको नागरिकता नपाउँदासम्म नेपाल आउन जान सहज हुदैँन। यस्तो अवस्थामा लामो समय घरपरिवारसम्म टाढा हुनुपर्छ। गैरकानुनी कामदार श्रम शोषणमा पर्छन्। अमेरिकी कानुनले यो बञ्चित गरेपनि कतिपयले यस्ता गैरकानुनी कामदारलाई थोरै पारिश्रमिक दिने गरेका छन्। यो आम्दानीले गैरकानुनी रुपमा आउँदा लागेको पैसा र यहाँ कानुनी प्रकृयाका लागि खर्च उठाउन ४ , ५ वर्ष लाग्न सक्छ। यति गर्दा पनि स्थायी वसोवास गर्न र परिवार ल्याउन पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन। किरण यत्रो पैसा र जोखिम लिई अमेरिका त छिरे अब न नेपाल फर्किन सक्छन् न यहाँ खुसी नै छन। आउने दिन के हुन्छ उनलाई पनि थाहा छैन। तर, अमेरिका यात्राको कथा वताउँदा उनको मलिन अनुहारले अन्यौल प्रष्टै देखाउँथ्यो।

0 comments:

Post a Comment