Thursday, July 30, 2015

निःशुल्क टिकटले एक तिहाइ म्यानपावर संकटमा


काठमाडौं, साउन १५ – वैदेशिक रोजगारीमा निःशुल्क टिकट र भिसा कार्यान्वयन भए ३० प्रतिशतभन्दा बढी म्यानपावर कम्पनी बन्द हुने भएका छन् । विगत वर्षमा म्यानपावर कम्पनीले पठाएको कामदार संख्या उनीहरुको वार्षिक आम्दानी र खर्च हिसाब गर्दा करिब ३० प्रतिशत म्यानपावर कम्पनीलाई सञ्चालन खर्च धान्न कठिन हुने भएको हो । हाल सात सय ५१ म्यानपावर कम्पनी सञ्चालनमा छन् । यीमध्ये दुई सय ३३ वटा कम्पनीको औसत खर्च अबको आम्दानीले धान्न मुस्किल पर्नेछ । विगतमा म्यानपावरले प्रतिकामदार ६० हजार रुपैयाँसम्म असुल्ने गरेका थिए । गत असार २१ देखि सरकारले खाडी मुलुक र मलेसिया निःशुल्क टिकट र भिसामा कामदार पठाउनुपर्ने र सेवा शुल्क तथा प्रवद्र्धनात्मक खर्चबापत प्रतिकामदार १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेको छ । सरकारले तोकेको दरअनुसार म्यानपावरले कामदार पठाउन वार्षिक न्यूनतम दुई सय जनाभन्दा बढी कामदार पठाउनुपर्ने हुन्छ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीले कामदार पठाएको संख्यालाई आधार मान्दा दुई सय ३३ वटा कम्पनी बन्द हुने अवस्थामा पुग्नेछन् । निःशुल्क टिकट र भिसा कार्यान्वयन भएपछि म्यानपावरले पठाउने कामदारको संख्या आगामी केही वर्षसम्म बढ्न नसक्ने निश्चित रहेको व्यवसायीको भनाइ छ । नयाँ व्यवस्थाअनुसार म्यानपावर कम्पनीको आम्दानी घट्ने भए पनि विगतमा एउटै कम्पनीले करोडौं रुपैयाँ कमाइसकेका छन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment