Thursday, July 30, 2015

२ हजार युवालार्इ पुनर्निर्माण तालिम दिइने


घरेलु तथा साना उद्योग विकास समितिले भूकम्पप्रभावित १० जिल्लाका दुई हजार युवा जनशक्तिलाई पुनःनिर्माणसम्बन्धी तालिम दिने भएको छ। भूकम्पलगायत अन्य विपद् परेका समयमा ग्रामीण क्षेत्रमा पुनःनिर्माण र उद्धारमा खटिँदा आवश्यक पर्ने सिकर्मी, डकर्मी, हाउस वाइरिङ, प्लम्बिङ जस्ता प्राविधिक विषयमा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उद्योग मन्त्रालय मातहतको सो समितिले प्रथम चौमासिकमा तालिम सञ्चालन गर्ने भएको हो। सो कार्यका लागि चालू आवको बजेटमा रु दुई करोड ९० लाख बजेट विनियोजन गरिएको समितिका निमित्त कार्यकारी निर्देशक घनराज पन्तले जानकारी दिए। समितिले काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोकबाहेक भूकम्पपछि सङ्कटग्रस्त घोषित गोरखा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, ओखलढुङ्गा, लमजुङ जिल्लास्थित उद्योग प्रवद्र्धन समिति, उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग महासङ्घको सहकार्यमा सो कार्यक्रम सञ्चालन गर्ने कार्यकारी निर्देशक पन्तले बताए। यस्तै, समितिले ‘युवा उद्यमशीलता तथा औद्योगिक जनशक्ति विकास कार्यक्रम’ अन्तर्गत ४८ जिल्लाका एक हजार ३०० युवालाई विभिन्न उद्योगमा बाह्य मुलुकबाट प्राविधिक जनशक्ति ल्याउनु नपरोस् भन्ने उद्देश्यले अलग्गै तालिम सञ्चालन गर्ने भएको छ। समितिसँग यो वर्ष उद्योगको विकास र प्रवद्र्धनसहितका कार्यक्रम र प्रशासनिक खर्चका लागि केन्द्रस्तरमा रु आठ करोड ८५ लाख र कार्य क्षेत्र भएका ४८ जिल्लास्तरका लागि रु ३८ करोड ३७ लाख बजेट छ । राष्ट्रिय अर्थतन्त्रमा घरेलु उद्योगको महत्व बढाउन भन्दै गत वर्षभन्दा बढी बजेट विनियोजन गरेको पन्तले जानकारी दिनुभयो । समितिले महिला उद्यम विकास कार्यक्रम, राष्ट्रिय औद्योगिक प्रदर्शनी, बजारयोग्य वस्तुको नमुना विकास, औद्योगिक सम्भाव्यता अध्ययन, उत्कृष्ट उद्यमी पुरस्कार, उद्योग प्रवद्र्धनजस्ता गतिविधि सञ्चलन गर्दै आएको छ ।

0 comments:

Post a Comment