Friday, July 31, 2015

पहिलो पटक गाई र भैसीमा कृत्रिम गर्भाधान सुरु


दुध उत्पादनमा बृद्धि तथा उन्नत जातका गाई भैसी उत्पादन गराउने उदेश्यका साथ मुगुमा पहिलो पटक गाई र भैसीमा कृत्रिम गर्भाधान सुरु गरिएको छ । पहिलो पटक पचास वटा भैसी र एक सय वटा गाईमा कृत्रिम गर्भाधान गराउने लक्ष्य लिइएको जिल्ला पशु सेवा कार्यालय मुगुले जनाएको छ । मुगुमा यो प्रविधि सुरु भएपछि हालसम्म ३३ जना स्थानीय कृषकका ३३ भैसी र ४ वटा गाईमा कृत्रिम गर्भाधान गराएको कार्यालयका निमित्त प्रमुख दीर्घ बहादुर बुढाले जानकारी दिनुभयो । जिल्लामा उन्नत जातका गाई र भैसी नरहेको तथा बजारमा दुधको माग धेरै भए पनि दुध उत्पादन कम भएकाले स्थानीय गाई भैसीमा कृत्रिम गर्भाधान गराएको कार्यालयले जनाएको छ । भैसीमा कृत्रिम गर्भाधान गराउने कृषकको संख्या धेरै रहे पनि गाईमा भने केहि समस्या देखिएको कार्यालयको भनाई छ । स्थानीयले पालेका गाई साना हुने र कृत्रिम गर्भाधान गराउदा उन्नत जातका बाच्छा बाच्छी ठूला हुने हुँदा पाउन लाग्दा समस्या आउने कार्यालयले जनाएको छ । पछिल्लो समयमा बसाई सराई तथा जनसंख्या बृद्धि हुँदा बन जंगल तथा चरन क्षेत्र मासिदै गएका कारण गाई भैसीको संख्या समेत घटेको कार्यालयको भनाई छ । अहिले गमगढी बजारमा मात्र दैनिक पाँच सय लिटर दुधको माग भए पनि पचास देखि सतरी लिटर दुध मात्र आपुर्ति हुन सकेको पशु सेवा कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment