Friday, July 31, 2015

औषधिको खुद्रा मूल्य तोकियो


मन्त्रिपरिषद्ले औषधिको खुद्रा मूल्य तोकेको छ। तर, तीन साता पुगिसक्दा पनि औषधिको मूल्य लागू हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को २१ असारको बैठकले औषधिको खुद्रा मूल्य तोक्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित गर्न ढिलाइले निर्णय कार्यान्वयन ढिलाइ भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। मन्त्रिपरिषद्ले ९६ वटा औषधिको मूल्य तोक्ने निर्णय गरेको थियो। एउटै औषधिको मूल्य कम्पनीअनुसार फरक–फरक पर्ने समस्या समाधान गर्न भन्दै स्वास्थ्यमन्त्री नेतृत्वको औषधि परामर्श परिषद्ले औषधिको मूल्यसूची तयार गरेको थियो। मूल्य तोकिएका औषधिमा साधारण रुघाखोकीदेखि मुटु तथा क्यान्सर रोगमा प्रयोग हुने महँगासमेत छन्। नयाँ मूल्यसूची हालको बजारमूल्यभन्दा २० देखि ५० प्रतिशतसम्म कम रहेको मन्त्रालयले जनाएको छ। औषधि व्यवस्था विभागका अनुसार पहिलो चरणमा मूल्य तोकिएका औषधिमा क्यान्सर रोगमा प्रयोग हुने ४८, ब्लडप्रेसरका ११, सुगर रोगका सातवटा छन्। त्यस्तै, मानसिक समस्याका आठ, एन्टिबायोटिक १०, कोलेस्टेरोल तीन, ग्याष्ट्रिक तीन र गर्भपतन, आउँ, दुखाइ कम गर्ने, रुघाका एक–एकवटा औषधिको मूल्य तोकिएको छ। विभागका महानिर्देशक बालकृष्ण खकुरेलले नयाँ मूल्य लागू भएपछि जनताले २० देखि ५० प्रतिशतसम्म सहुलियत पाउने बताए। नयाँ मूल्यसूची तोकिएको मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने उनको भनाइ छ।

0 comments:

Post a Comment