काठमाडौँ, १५ साउन । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरुपूर्णिमा मनाइँदै छ । आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतर्फ लैजाने गुरुको सम्मान गर्दै पूजाअर्चना तथा फूलमाला र उपहार प्रदान गरी गुरुपूर्णिमा मनाउने प्रचलन छ । वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परापूर्वकालदेखि गुरुपूर्णिमाका रुपमा मनाउने गरिएको हो । प्राध्यापक अम्बिका भट्टराईका अनुसार संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु हो । यस्तो अन्धकाररुपी अज्ञानतालाई हटाउन ज्ञान रुपी उज्यालो शिक्षा प्रदान गर्ने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर तथा परब्रह्मस्वरुप मानिन्छ । सनातन हिन्दू मान्यताअनुरुप माता–पिता, गायत्री–दीक्षा मन्त्र तथा सङ्गीतलगायत ६४ कला सिकाउने आचार्यलाई गुरुका रुपमा लिइने उहाँले बताउनु भयो । वेदव्यासले आफ्ना छोरा शुकदेवसहित ऋषिमुनिहरुलाई वेद–वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम गुरुका रुपमा मानिन्छ । द्वापरयुगको अन्त्यतिर ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा आजकै दिन व्यासको जन्म भएको थियो । चारै वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण तथा उपपुराणको आजकै दिनमा सम्पादन गरी आफ्ना शिष्यहरुलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउने परम्परा रहिआएको भट्टराईले चर्चा गर्नु भयो । आजको दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रुपमा पनि लिइन्छ । गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएको हो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment