Thursday, July 30, 2015

बिदेसिने नेपाली घटे


काठमाडौं- आर्थिक वर्ष २०७१/०७२ मा ५ लाख १२ हजार नेपाली रोजगारीको सिलसिलामा बिदेसिएका छन्। यो आघिल्लो आर्थिक वर्षको भन्दा २.९० प्रतिशत कम हो। आर्थिक वर्ष २०७०/०७१ मा ५ लाख २८ हजार २ सय ३२ नेपाली बिदेसिएका थिए। स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा र राजनीतिक अस्थिरताका कारण १ वर्षमा ५ लाख १२ हजार ८ सय ८७ जनाले देश छोडेको बैदेसिक रोजगार विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकले देखाउँछ। १ वर्षमा म्यानपावरबाट (संस्थागत) ४ लाख ६२ हजार ९ सय ८८ जना र व्यक्तिगत रुपमा नयाँ १० हजार २७ र वैधानिकीकरणमा ३९ हजार ८ सय ७२ नेपाली विदेश पुगेका छन्। गत वर्ष बिदेसिनेमा पुरुष ४ लाख ९० हजार ८ सय ५९ र महिला २२ हजार २८ छन्। सो वर्ष सबैभन्दा बढी मंसिरमा ५३ हजार ३ सय ५४ बिदेसिए। आर्थिक वर्षको पहिलो महिना साउनमा ४२ हजार ३ सय ९, भदौमा ५१ हजार ५ सय ५१, असोजमा ३५ हजार ५ सय ५०, कात्तिकमा ४३ हजार २ सय १३, पुसमा ४५ हजार ३ सय ६२, माघमा ४८ हजार ९ सय ४१, फागुनमा ४४ हजार ४ सय ६०, चैतमा ५२ हजार २ सय १०, वैशाखमा ३१ हजार ३ सय ७५, जेठमा ३७ हजार ९ सय ६२ र असारमा २६ हजार ६ सय कामदार बिदेसिएका छन्। गत वर्ष सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन्। त्यसपछि बढी नेपाली लिने मुलुकमा क्रमशः कतार, साउदी अरब, युएई र कतार छन्। त्यसैगरी, ४ हजार १ सय ६५ बहराइन, २ हजार ३ सय ओमन, ५ हजार १ सय ५८ दक्षिण कोरिया, ५ सय ९८ लेबनान, ४ सय ५० इजरायल, १ हजार ५ सय १ अफगानिस्तान र २ हजार ८ सय ३६ जापान पुगेका छन्। अन्य मुलुकमा ७ हजार ७० जना गएको विभागको तथ्यांक छ। आर्थिक वर्ष २०७१/०७२ मा एसओएस म्यानपावर कम्पनीबाट सबैभन्दा बढी नेपाली बिदेसिएका छन्। एसओएसबाट ८ हजार २ सय ८२ कामदार विदेश गए। वर्ष दिनमा एकजना मात्र कामदार पठाउने म्यानपावर कम्पनी चार छन्। थापा इम्प्लोइमेन्ट सेक्युरिटी सर्भिस, सत्यवती ओभरसिज, हेभी ओभरसिज र नेपाल बिजनेस लिंकले एक–एकजना मात्र पठाए। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एसओएसपछि धेरै कामदार पठाउनेमा दी रिभर ओभरसिज छ। यसले ६ हजार ८ सय २५ कामदार पठाएको छ। प्याराडाइज इन्टरनेसनले ५ हजार ६ सय ४, लालधनुष इन्टरनेसनल सर्भिसले ५ हजार ३ सय ३४, इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्टले ५ हजार ३ सय ३, कोसी इन्टरनेसनलले ५ हजार ९४, लक्की एचआर सोलुसनले ४ हजार ८ सय ८५, वाइडस्पेस इन्टरनेसनलले ४ हजार ८ सय ६९, आकर्षण इन्टरनेसनलले ४ हजार ७ सय ९७ र ब्लू स्काईले ३ हजार ९ सय ५८ कामदार पठाएको विभागको तथ्यांकले देखाउँछ। भेरी एन्ड कर्णाली इन्टरनेसनल र इमरोल्ड इन्टरनेसनल कन्सल्टेन्सीले २–२ जना पठाएका छन्। ३ जना कामदार पठाउनेमा रिजा ओभरसिज इम्प्लोइमेन्ट परेको छ। फर्स्ट स्टेप ह्युमन रिसोर्स र फेल्कोन इन्टरनेसनलले ४–४ जना पठाए। एचपिआई ग्लोबल नेपाल ओभरसिज र एएमबी ह्युमन रिसोर्सेजले ५/५ जना कामदार मात्र विदेश पठाएका छन्। गत वर्ष ७ सय ४९ म्यानपावर एजेन्सीले कामदार विदेश पठाएका छन्। मुख्य ५ गन्तव्य मलेसिया २,०२,८२८ कतार १,२४,३६८ साउदी अरब ९८,२४६ युएई ५३,६९९ कुवेत ९,६६८ स्रोत : वैदेशिक रोजगार विभाग

0 comments:

Post a Comment