Thursday, July 30, 2015

“बुवा मलाई नेपालकै लाहुरे बनाउन चाहनुहुन्थ्यो”


नेपाली लोक रकका ट्रेन्ड सेटर गायक हुन् अमृत गुरुङ। यिनी जुन समुदायमा जन्मी हुर्के, त्यो समुदायमा अहिले पनि लाहुर जाने संस्कृति हाबी छ। स्कुल पढदाताकाका उनका थुप्रै साथीसंगाती लाहुरे नै बनेका छन्। ब्रिटिस, हङकङ, इन्डियनदेखि जापानिज र अस्ट्रेलियन लाहुरेसम्म। ‘लाहुरे संस्कृति तत्कालिन सामाजिक–आर्थिक आवश्यकताको उपज’ ठान्ने उनी भने अध्ययनको अभिलासा बोकेर पोखराबाट ‘नेपाल’ (काठमाडौं) हान्निए। आरआर, पाटन हुँदै कीर्तिपुरस्थित केन्द्रीय क्याम्पससम्म पुगे। यतिन्जेल अमृत शहरी भीडको एउटा हिस्सा थिए। दीपक राना र भीम पुनसँग मिलेर सन् १९९० मा नेपथ्य ब्यान्ड खोलेपछि भने उनको नाम फरक रूपमा सुनिन थाल्यो। ‘मीनपचासमा’, ‘रेशम’, ‘शृंगार’, ‘भेडाको ऊन जस्तो’, ‘घटना’, ‘मेरो देश’, ‘ऐना झ्याल’ एल्बमसम्म आइपुग्दा नेपथ्य मेची–काली मात्रै हैन, मुलुकबाहिरको नेपाली समुदायमा पनि सांगीतिकसँगै सामाजिक छविका साथ स्थापित बन्यो। ब्यान्डको मियो बनेका अमृत गुरुङ आफैंमा ब्रान्ड नेम जस्तो बन्न पुगे। संसारभरका चर्चित स्टारहरूले प्रस्तुति दिएको लन्डनको वेम्बले एरिनामा जब अमृतले माइक समाते, नेपथ्यले अर्को अन्तर्राष्टिङय कीर्तिमान कायम गर्‍यो। त्यसको ठीक दुई वर्षपछि नेपथ्यले लन्डनको त्यस्तै अर्को ऐतिहासिक भेन्यु ‘ओ टु एकेडेमी ब्रिक्सटन’ मा प्रस्तुति दिँदै छ। बब डिलन, म्याडोना, आइरन मेडन, सेक्स पिस्टल्स, युबी फोर्टी जस्ता थुप्रै हस्ती र तिनका ब्यानडले प्रस्तुति दिइसकेको यो भेन्युमा बेलायतसँग नेपालको दौत्य सम्बन्ध कायम भएको दुई शताब्दिऔं अवसरसमेत पारेर नेपथ्य सुनिन लागेको हो। रोचक के भने, अगस्ट ८ मा हुने उक्त कन्सर्टमा विश्वभर मानवताको सेवा गरिरहेका गोर्खा सैनिकहरूका लागि समर्पण गर्न भन्दै अमृत यति बेला आफ्नै गाउँठाउँको लाहुरे समुदायमा चर्चित पुरानो गीतमा नयाँपन भर्दै छन्। यो नयाँ गीत ‘नैनाताल नैनाताल...’ को सामाजिक–सांस्कृतिक पृष्ठभूमि के हो? यो गीत मूलत: लाहुरे समुदायको कथाव्यथासँग जोडिएको छ। मेरा काका बा र मावल खलकले वर्षौंदेखि गाउँदै आएको र मैले केटाकेटीदेखि सुन्दै आएको गीत हो यो। तिनताक भर्ती भर्न गोरखपुरको कुनाघाट जानुपथ्र्यो। त्यहाँ छानिएपछि ट्रेनिङको लागि देहरादून लाने रहेछन्। सेनामा दसैं, तिहार, कृष्णअष्टमी जस्ता चाडपर्वमा रमाइलो गर्दा हाम्रा लाहुरेहरूले चाहिँ देहरादून छेवैको नैनीताललाई थेगो बनाएर ‘नैनाताल... नैनाताल घुमिआयो रेल, आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल...’ गाउँथे रे। यही गीत लाहुरेहरू गाउँ फर्किंदा लिएर आए। गाउँका अरूले पनि गाउन थाले। अनि लोकप्रचलित बन्यो। इन्डियाका पल्टनघरमा अझै पनि नेपालीले यो गीत गाउँछन् भन्ने सुनेको छु। यसपालि नेपाल–बेलायत सम्बन्ध र गोर्खा परम्पराको दुई शताब्दी उत्सव भएको हुनाले पनि यो गीत गाउनैपर्छ भन्ने लागेको हो। एउटै खालको गीत भएकोले अन्तरा चाहिँ नयाँ पारेको छु। योसहित चार वटा अन्य समेटर नयाँ एल्बमनै पनि निकाल्दै छौं। लाहुरे संस्कृतिले जरो गाडेको समुदायमा हुर्किनुभो। एक घर एक लाहुरे हुने परम्पराबाट तपाईं चाहिँ कसरी अलग्गिनुभो? अहिले सम्भिँmदा मलाई पनि अचम्म लाग्छ, मेरा बा (हितकाजी गुरुङ) ले कहिले पनि मलाई लाहुरे हुन प्रोत्साहित गर्नुभएन। उहाँ हमेसा भन्नुहुन्थ्यो– लाहुरे हुनुभन्दा देशमै काम गर्नुपर्छ। लाहुरे नै हुनु छ भने नेपालको हुनुपर्छ भन्ने उहाँको विचार थियो। नेपालकै लाहुरे (आर्मी) बनाउन भने उहाँको केही प्रयास पनि रह्यो। तर, म लाहुरे बनिनँ। र, लाहुरे प्रथाको म कहिल्यै विरोधी पनि भइनँ। किनभने लाहुरे संस्कृतिकै कारणमा हाम्रो परम्परागत समाजमा विकासको संस्कृति पसेको थियो, नयाँ सभ्यता पसेको थियो। त्यस्ता केही सम्झना छन्? लाहुरेहरू फर्किंदा पैसा लिएर मात्रै हैन, लिभाइज प्यान्ट पनि लाएर आउँथे। क्यासेट मात्रै हैन, घढी पनि ढल्काएर आउँथे। यसले हामीलाई समय हेर्न सिकायो। साइडमा क्यामेरा भिर्थे। उनीहरू घर आउँदा टाटनको पछ्यौरा, सिफनको सारी, मखमलको चोली लिएर आउँथे। अहिले थाहा भो, टाटन त स्कटल्यान्डमा बनेको हुँदो रहेछ। हो, लाहुरेहरू दु:ख गर्नकै लागि, नुनको सोझो गर्नकै लागि भर्ती गएका हुन्। तर, ढिकीजाँतो मात्रै देखेकाहरूले हवाईजहाज र अत्याधुनिक मेसिनहरू देखेर आए। अनि उनीहरू फर्किंदा नयाँ सभ्यता र विकासको चेतना हाम्रो समाजमा पस्यो। बाहिरी समाज हेरेर आएपछि उनीहरूले ‘लौ पढ्नु पो पर्ने रहेछ’ भन्ने सिके। पोखरामा सोल्जर बोर्ड स्कुल लाहुरे संस्कृतिकै उपज थियो। भीरपाखा हैन, सम्म ठाउँमा बस्नुपर्ने रहेछ भन्ने पनि विदेशीकै कारण थाहा पाए। पोखरा र धरान शहर यही चेतनाकै कारण बनेका हुन्। पहिलेपहिले पोखरा खेतैखेतको फाँट थियो। मानिसहरू भीरपाखामा घर बनाउँथे। डाँडा, थुम र भन्ज्याङतिर काठमाडौंबाट गएका नेवारहरूका एकाध पसल हुन्थे। अहिलेको भव्य शहर संस्कृति खासमा लाहुरेहरूकै योगदान हो। म त अहिले पनि नेपाल लाहुरे संस्कृतिकै कारण विकास भइरहेको देख्छु। पहिले भर्ती (सेना) को लाहुरे संस्कृति थियो भने अहिले यसको चरित्र फेरिएको छ। आजका नेपाली लाहुरेहरू भर्ती (सेना) मा मात्रै हैन, खाडी मुलुकदेखि युरोप र अमेरिकासम्म फैलिएका छन्। उनीहरू त्यता भएकै कारण हाम्रा गीतसंगीत र साहित्य पनि त्यता पुगेका छन्। भूकम्पकै बेला पनि यहाँ भएकालाई भन्दा बाहिर भएकालाई बढी दुख्यो। उनीहरूले जहाँ, जस्तो अवस्थामा थिए, त्यस्तै अवस्थामा मुलुकलाई सघाए। नेपथ्य टिमले पनि त भूकम्पको पीडा मुलुकबाहिरबाटै खेप्यो नि, हैन? वैशाख १२ को भूकम्प आउँदा हामी अस्ट्रेलियामा थियौं। भोलिपल्ट नै कन्सर्ट थियो। साथीहरूले ‘नेपालमा भूकम्प गएछ’ भने। सुरुमा मैले वास्तै गरिनँ। किनभने केही वर्षअघि पनि गएकै थियो। साथीहरूले फेरि ‘हैन हौ, धरहरा, मन्दिर सबै भत्कियो रे’ भने। त्यसपछि म हतारहतार समाचारहरूमा अपडेट हुन थालें। बाफ रे, यसपछि त निद्रा लागे पो। पीडा भुल्न र निदाउन त्यो रात ह्वीस्कीको सहारा लिनुपर्‍यो। भोलिपल्ट कन्सर्ट गर्ने कि नगर्ने भन्ने दोधारमा थिए आयोजक। भूकम्प च्यारिटीको रूपमा सिम्बोलिक कन्सर्ट गर्ने कुरा भो। रमाइलो गीत गाउने कुरै आएन। यसपछि हामीले ‘आमा...,’ ‘टाढा धेरै टाढा...,’ ‘नराम्रो सपना...’, ‘उकाली ओराली...’ जस्ता सेन्टिमेन्टल नम्बरहरू गायौं। साराका सारा पिनड्रप साइलेन्स। कसैले पनि वान्स मोर भन्न सकेनन्। हामीले ‘यति बेला मुलुकलाई सहयोगको खाँचो छ, सकिन्छ भने घर जाऔं, नसक्नेहरूले यतैबाट सघाऔं’ भन्यौं। श्रोताहरू रुँदै फर्के। हामी पनि भोलिपल्टै नेपाल फक्र्यौं। बाहिर जति ठूलो विनाशको हल्ला थियो, काठमाडौं त्यस्तो थिएन। यहाँ आएको भोलिपल्ट उठ्नेबित्तिकै अर्को दिन पाटन दरबार स्क्वायर गयौं। देशलाई काम गर्ने हातहरूको खाँचो छ जस्तो लाग्यो। इँटाहरू पन्छाएँ। अर्को दिन जापानको लागि उड्नु थियो। अब सबै कन्सर्टहरूलाई हामीले च्यारिटीमा बदलिसकेका थियौं। चालीस लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गर्‍यौं। जापानमा पनि सेन्टिमेन्टल गीतहरू नै गायौं। अचम्म के भने, धेरैले ‘यी गीत तपाईंहरूका हुन् र?’ भन्दै प्रश्न गरे। उनीहरूले ‘तालको पानी...’, ‘रेशम...,’ ‘छेक्यो छेक्यो...’ जस्ता रमाइला गीत मात्रै हाम्रो ठानेका रहेछन्। अर्को अचम्म के भयो भने, एक जना श्रोताले हामीलाई भने, ‘अब तपाईंहरू दु:ख मात्रै हैन, सुख पनि बाँड्नुस। जे हुनु भइसक्यो, अब बिस्तारै नर्मल लाइफमा लैजानुस्। हामी यहाँ दु:खैका लागि आएका हौं। अझ झन् दु:खमा नडुबाउनुस्।’ मलाई ती शुभचिन्तकको कुरा चित्त बुझ्यो। अनि यसपछिका कन्सर्टहरूमा सुखदु:ख दुवै गाउन थाल्यौं। जिन्दगी आज बाँच्ने रहेछ। हिजो त गइसक्यो, भोलिको थाहा छैन। इ-कान्तिपुर बाट

0 comments:

Post a Comment