Friday, July 31, 2015

भारतीय प्रधानमन्त्री मोदीले देउवा लाई यसो भने


काठमाडौँ, १५ साउन । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीको सेभेन रेस्कोर्ष रोडस्थित प्रधानमन्त्री निवासमा अपराह्न ५ः०० बजे प्रधानमन्त्री मोदी र नेता देउवाबीच शिष्टाचार भेट भएको भेटमा सहभागी पूर्वप्रधानमन्त्री देउवा पत्नी एवम् सभासद् डा आरजु राणा देउवाले राससलाई जानकारी दिनुभयो । सो भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पलगत्तै र पुनःनिर्माणमा भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो । नेता देउवाले प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणका बारेमा जानकारी गराउनुहुँदै विकास निर्माणसम्बन्धी ठूला लगानीका पूर्वाधारमा भारतको सहयोगको अपेक्षा गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले नेपालको संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेकामा खुसी व्यक्त गर्दै सकेसम्म सबैको सहमतिमा संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल संविधान जारी भएपश्चात् छिट्टै शान्ति, स्थिरता र विकासको बाटोमा लम्कने आशा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले आफूहरुसँग भएको अनुभव नेपालको भूकम्पपछिको पुनःनिर्माणमा सघाउने बताउनुभएको सभासद् डा राणाले बताउनुभयो । यसअघि पूर्वप्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा आजै मध्याह्न १ बजे शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो । राष्ट्रपति मुखर्जीले विगतमा आफू विदेशमन्त्री भएका बेला सम्झौता भएको बहुउद्देश्यीय पञ्चेश्वर परियोजनाको कार्य हाल अघि बढेकामा खुसी व्यक्त गर्नुभएको सभासद् डा आरजु राणाले बताउनुभयो । नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । भारत सरकारको निमन्त्रणमा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

0 comments:

Post a Comment