Friday, July 31, 2015

धारामा पानी आउँदैन! दैनिक ३० लाख लिटर पानी खेर गयो


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा दैनिक ३० लाख लिटर पानी सुन्दरीघाटबाट खेर गएको छ। केयुकेएलका प्रवक्ता मिलन कुमार शाक्यका अनुसार सुन्दरीघाटको ट्रिटमेन्ट सेन्टरमा आइपुगेको सबै पानी प्रशोधन गर्न नसकेका कारण दैनिक ३० लाख लिटर पानी खेर गएको हो। उनले भने ‘सुन्दरीघाटको क्षमता दैनिक ३० लाख लिटर प्रशोधन गर्न सक्ने हो तर त्यहाँ ६० लाख लिटर पानी आइरहेको छ, यसैले ३० लाख लिटर व्यवस्थित गर्न नसक्दा खेर गएको हो।’ उनका अनुसार गत वर्ष नख्खुको मुहान मर्मत गरेपछि पानीको मात्रामा यो वर्ष भारी बृद्धि भएको छ। तर त्यो पानीलाई केयुकेएलले भने व्यवस्थित गर्न सकेको छैन, जसका कारण उपभोक्ताको धारामा पानी आएको छैन भने सुन्दरीघाटबाट दैनिक ३० लाख लिटर पानी खेर गएको छ। अहिलेसम्म त्यो पानीलाई व्यवस्थित गर्नको लागि केयुकेएलले कुनै कार्य अघि बढाएको छैन। प्रवक्ता शाक्यका अनुसार सुन्दरीघाट पानी प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि गर्नको लागि केयुकेएलले एसियाली विकास बैंकलाई आग्रह गरेको छ। आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तेजराज भट्टका अनुसार सुन्दरीघाट प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि गर्न एसियाली विकास बैंक सकारात्मक देखिएको छ। प्रशोधन केन्द्रमा लगानी गर्ने वा नगर्ने भन्नेमा एसियाली विकास बैंकले अहिलेसम्म कुनै आधिकारीक धारणा बाहिर ल्याएको छैन। एसियाली विकास बैंकले सुन्दरीघाटको प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि नगर्दा सम्म त्यसक्षेत्रबाट दैनिक ३० लाख लिटर पानी खेरजाने प्रवक्ता शाक्यको भनाई छ। नख्खुको मुहानबाट गत वर्षसम्म ३० लाख लिटर मात्रै पानी उत्पादन हुन्थ्यो। तर गत वर्ष मुहानमा मर्मत सम्भार गरेपछि भने त्यस मुहानबाट अहिले दैनिक ६० लाख लिटर पानी उत्पादन भएको हो। सुन्दरीघाटबाट खेर जानु छँदैछ, विभिन्न पाइपबाट समेत अहिले पानीको चुहावट बढेको छ। भूकम्पका कारण कैयन क्षेत्रका पाइपमा टुटफुट भएपछि पानी चुहावट बढेको शाक्यले जानकारी दिए। भूकम्पले मुख्य पाइपलाइन र ग्राहकहरुका घरसम्म जाने शाखा पाइपलाइनमा असर पुर्याएको थियो। शाक्यका अनुसार केहि मुहानमा समेत भूकम्पले क्षती पुर्याएको थियो। भूकम्पले क्षती पुगेको फर्पिङ मुहानमा केयुकेएलले मर्मत गरिसकेको छ। अहिले केयुकेएलले वितरण गरेको पानीको कुल हिस्साको ४० प्रतिशत पानी चुहावटका कारण खेर गइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भट्टले जानकारी दिए। काठमाडौंका कयौ क्षेत्रमा एक सय १५ वर्षअघि बिच्छाइएका पाइपबाट अहिले सम्म पनि पानी वितरण गरेका कारण यो समस्या आएको उनको भनाई छ। पाइपलाइनहरुको मर्मत सम्भार हुन नसकेका कारण चुहावटको मात्रा बढ्दै गएको उनको दावी छ। केयुकेएलका प्रवक्ता शाक्यका अनुसार अनुसार अहिले पानीको उत्पादन बढेको छ। सुृख्खा मौसममा दैनिक आठ करोड लिटर पानी उत्पादन हुँदै आएकोमा अहिले भने दैनिक १२ करोड लिटर पानी उत्पादन भइरहेको छ। पानी उत्पादन बढेसंगै केयुकेएलले ग्राहकहरुको घरमा पानी पठाउने तालिकामा समेत फेरबदल गर्न लागेको शाक्यले जानकारी दिए।

0 comments:

Post a Comment