Friday, July 31, 2015

होसियार ! फेसबुक पासवर्ड चोरको बिगबिगी


काठमाडाैं— 'पुजा अर्जेन्ट छ एकपटक मलाई तेरो फेसबुक पासवर्ड दे न,' मिल्ने साथी सुष्माले फेसबुक च्याटमा हतारिँदै पासवर्ड मागिन्। 'अर्जेन्ट भनेपछि मैले पासवर्ड दिएँ,' नागरिकन्युजलाई पुजाले सुनाइन् 'म बर्बाद भएँ, साथी बनेर ह्याकरले पासवर्ड मागेको रहेछ।' राजधानीको टेकुस्थित महानगरीय अपराध महाशाखाको साइबर क्राइम सेलमा साथीहरुसँगै उजुरी दर्ता गर्न आएकी पुजाको अनुहार उदास थियो। 'मेरो फेसबुकबाट साथीहरु र आफन्तलाई अश्लिल म्यासेज र भिडियो पठाएको छ,' कलेज विद्यार्थी उनले मलिन स्वरमा भनिन् 'सबैले मलाई फोन गरेर छ्या के म्यासेज पठाएको भन्छन् ।' पूजाको फेसबुक प्रोफायलमा अहिले नग्न तस्विरसहित आपत्तिजनक पोस्ट देखिन्छन्। उसले उनलाई तनाब दिइरहेको छ। चोरले पासवर्ड परिवर्तन गरेर उनको प्रोफायल पिक्चरमा नग्न तस्विर अपलोड गरिदिएको हो। सामाजिक सञ्जाल फेसबुकका कारण नवलपरासी सुनवलकी पुजा, उनको परिवार र सथीहरु तनाबमा छन्। धेरैदिन भैसक्यो उनीहरु प्रहरीमा धाउन थालेको। उनको फेसबुक अकाउन्ट प्रयोग गरी १५ जनाभन्दा बढी साथीको पासवर्ड चोरले फुत्काएको छ। अरुको आईडिबाट पनि उस्तैगरी पासवर्ड मागेर कैयौंले यातना पाएका छन्। चौबिसै घण्टा अनलाइन देखिने अर्कैको कब्जामा रहेको आफ्नै आइडिमा पूजाले बुबाको फेसबुकबाट म्यासेज पठाइन्–'मेरो फेसबुक फिर्ता गर नत्र साइबर क्राइममा मुद्धा हाल्छु।' त्यसपछि के भो ? उनले भनिन् 'तुरुन्तै बुबाको फेसबुक नै ह्याक गरिदियो ।' 'ह्याकरले पासवर्ड पाएपछि च्याट हिस्ट्री हेरेर कोसँग कसरी कुरा गर्ने पत्तो पाउँदो रैछ,' अर्की पीडित रश्मी भन्छिन् 'साथीसँग तिमी, तँ भनेर कुरा गर्छ, आफन्त र अफूभन्दा ठूलासँग तपाँइ भनेर कुरा गर्दै पासवर्ड माग्दो रैछ ।' साथी र आफन्तका पासवर्ड कब्जा गरेर एकअर्कामा गोप्य कुराहरु शेयर गर्ने, अश्लिल र गालीगलौजका म्यासेज पठाउने गरेको पीडित युवतीको गुनासो छ। 'केटीहरुबीच कस्तो कुरा हुँदोरैछ जान्नलाई ह्याक गरेको हुँ भन्छ,' रश्मी भन्छिन्, 'च्याट हिस्ट्री हेरेर निजी कुरा सार्वजनिक गर्दिने धम्की दिन्छ।' पासवर्ड प्रसाद जस्तो नबाँड्नोस्: प्रहरी झुक्याएर पासवर्ड लिँदै दुरुपयोग गर्नेलाई अहिले महानगरीय अपराध महाशाखाले खोजी सुरु गरेको छ। 'लिखित उजुरी दर्ता गरेका छौं,' साइबर अपराध अनुसन्धान सेल प्रमुख प्रहरी निरीक्षक पशुपति रोयले नागरिकन्युजसँग भने 'पछिल्लो समय फेसबुकबाट पीडित भएका उजुरी बढेका छन्।' उनी भन्छन् 'पासवर्ड प्रसाद जस्तो हैन, अरुलाई बाँड्नै हुन्न ।' महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाश अधिकारी कतिपय घटना फेसबुक प्रयोगकर्ताको लापरवाहीले हुने गरेका बताउँछन्। 'मिल्ने साथी भन्दैमा पासवर्ड बाँड्ने र साझेदारीमा एउटै एकाउण्ट चलाउने गर्नु हुँदैन,' उनी भन्छन् 'सम्बन्ध बिग्रिएपछि सबै गोप्यताहरु भङ्ग गरेर आफन्त र साथीबाटै पीडित हुनेहरु धेरै छन् ।'

0 comments:

Post a Comment