Thursday, July 30, 2015

७२ घन्टाभित्र मर्छ भनिएका व्यक्ति नेपाल आएर बाँचे


काठमाडौं: ‘तपाईंको सबै आन्द्रा कुहिएको छ डाक्टर त्यही भन्छन्, आफ्नो देश फर्कने मन छ भने हामी भोलि नै पठाइदिन्छौं,’ आफू काम गर्दै आएको कम्पनीका सुपरभाइजरले यसो भन्दा अफगानिस्तानको काबुलस्थित एक अस्पतालको शय्यामा पेट दुखेर लडिरहेका लमजुङका खड्कसिंह गुरुङको बोली बन्द भयो। २४ सै घन्टा आतंककारीसँग जुध्ने काम पाउँदा पनि मनोबल नगुमाएका सेक्युरिटी गार्ड गुरुङले सुपरभाइजरको कुराबाट आफू धेरै नबाँच्ने संकेत पाए र आडैमा रहेका आफन्त र नेपाली साथीलाई हेर्दै बर्रर आँसु झारे। केही दिनपछि आफैंलाई समाल्दै साथीसँग गुरुङले भने, ‘मर्नु नै छ भने जन्मभूमिमै मर्छु, अर्काको देशमा किन मर्ने ? मैले नेपाल जाने निर्णय गरिसकें।’तर नेपाल फर्कनुअघि उनी थला परे, सुन्नेमात्रै जबाफ फर्काउन नसक्ने अवस्थामा पुगे। त्यहाँका चिकित्सकले गुरुङको आन्द्रा पूरै कुहिएको भन्दै शल्यक्रिया गर्दागर्दै बन्द गरेका थिए। आन्द्रा कुहिएकाले ‘४८ देखि ७२ घन्टाभन्दा धेरै उनी बाँच्दैनन्, जीवनका अन्तिम क्षण आफ्नो परिवारसँग बिताउनु राम्रो हो’ भन्दै त्यहाँबाट नेपालको ग्रान्डी इन्टरनेसल हस्पिटलमा रेफर गरियो। गुरुङको रिपोर्ट हेरेपछि उनी बाँच्ने आस परिवारका सदस्यले समेत मारेका थिए। उनको रिपोर्ट हात परेपछि ग्रान्डी अस्पतालका ग्यास्ट्रोसर्जन डा. रोकेश शाहले बिरामीलाई आफैंले निरीक्षण गरी रगत जाँच गर्न पठाए। गुरुङसँगै आएको अफगानिस्तानस्थित अस्पतालको रिपोर्ट र यहाँको रिपोर्टमा फरक पाइयो। डा. शाह नेतृत्वको टोलीले शल्यक्रिया गरेर हेर्दा गुरुङका सबै आन्द्रा कुहिएका थिएनन्। बाँकी रहेका स्वस्थ आन्द्राबाट पनि उनी बाँच्ने सम्भावना प्रशस्त थियो। निकै मेहेनत गरेर चिकित्सक टोलीले कुहिएका आन्द्रा निकाले र केही समयपछि स्वस्थ रहेका आन्द्रा जोडिदिए। ‘रिपोर्ट हेर्दा र बिरामीलाई जाँच्दा केही गडबडी छ जस्तो लाग्यो। यहाँको रिपोर्टले पनि त्यसको पुष्टि गर्‍यो,’ डा. शाहले अन्नपूर्णसँग बुधबार भने, ‘बिरामीका आफन्तको मञ्जुरीमा शल्यक्रिया गर्‍यौं । अन्ततः ४८ देखि ७२ घन्टाभित्र मर्छ भनिएका बिरामी बाँच्नुभयो।’ डा. शाहका अनुसार गुरुङ अब सामान्य मानिससरह बाँच्न सक्छन्। शल्यक्रिया गरेको केही दिनमै गुरुङको अनुहार पनि फेरिएको छ। उनको परिवारमा समेत खुसी फर्किएको छ। ‘नेपालमा पनि यस्तो ठूलो उपचार हुन्छ भन्ने मलाई यसअघि जानकारी थिएन। म राम्रो डाक्टर र अस्पताल फेला पर्दा बाँचें,।’ -खड्कसिंह गुरुङ ‘म धन कमाउन गएको अनि मरेर फर्किएको मान्छे, मलाई बचाउन डा. शाहले मेरो उपचार मात्र गर्नु भएन, मेरो आत्मबल पनि बढाइदिनुभयो। अब त म बाँच्छु भन्ने लाग्छ,’ गुरुङले भने, ‘उहाँलाई नै मैले भगवान् ठानेको छु।’ गुरुङले आफ्नोजस्तो समस्या अफगानिस्तानमा कामका लागि पुगेका धेरै नेपालीले भोग्नुपरेको बताए। अफगानिस्तनमा उनी र उनका साथीले तनहुँका एकजना भूतपूर्वनेपाली सेनालाई प्यारालाइसिस हुँदा चार लाख रुपैयाँ जम्मा गरेर उपचारका लागि नेपाल पठाएका थिए। ‘कोही क्यान्सर भएर फर्कन्छन्, कोही हातखुट्टा नचल्ने भएर फर्कन्छन्’, गुरुङले भने, ‘मैले कहिल्यै सोचेको थिएन म पनि यस्तो अवस्थामा पुग्छु होला भन्‍ने। म त भाग्यमानी रहेछु, मलाई कम्पनीले उपचार गरिदिएको थियो।’ गुरुङको उपचारमा उनी काम गर्ने कम्पनीले ९० लाख रुपैयाँ खर्च गरेको छ। आतंककारीले हमला गर्दा गुरुङ काम गर्ने कम्पनीमा रहेका नुवाकोट र बागलुङका दुई नेपालीले ज्यान गुमाएका छन्। अफगानिस्तानमा सात वर्ष बिताउँदा उनी पनि पटकपटक आतंककारीसँगको भिडन्तमा परेका थिए। ‘ठाउँ मरुभूमिजस्तै छ। सुरक्षा गार्डबाहेक अरू काम पाइँदैन। १२ देखि १५ घन्टा राइफल, हेलमेट, फलामको बडी आर्मरका साथमा उभिनुपर्छ। खाना र आरामको ठेगान हुँदैन,’ उनले भने, ‘जतिबेला पनि दुस्मनसँग लड्नुपर्ने भन्ने मानसिक त्रास पनि हुन्छ।’ चिकित्सकका अनुसार युद्धग्रस्त मुलुकमा कामका लागि पुगेर फर्कने नेपालीमा कुनै न कुनै समस्या देखिन थालेको छ। ‘बिरामी भएपछि उपचार गराउने ठाउँ र उपयुक्त चिकित्सक समयमै भेट्नुपर्छ, विदेशमा नेपालीका लागि यो सबै सम्भव छैन, त्यही भएर पनि कतिपय युवा थला परेर र भएको रकम पनि सकेरमात्र नेपाल पर्कन्छन्’, डा. शाहले भने। डा. शाह कामका लागि विदेश पुगे पनि उपचारका लागि त्यहाँ भौंतारिनुभन्दा समयमै आए नेपालमा सबै किसिमको उपचार सम्भव भएको बताउँछन्। ‘नेपालमा पनि यस्तो ठूलो उपचार हुन्छ भन्ने मलाई यसअघि जानकारी थिएन। म राम्रो डाक्टर र अस्पताल फेला पर्दा बाँचें,’ गुरुङले विदेशमा रहेका नेपालीप्रति संकेत गर्दै भने, ‘तपाईंलाई पनि कुनै समस्या देखिएको छ भने विदेशी अस्पताल नधाउनुहोस्, नेपाली डाक्टरको विश्वास गरेर नेपाल फर्कनुहोस्, यहीं उपचार गर्दा बाँचिने रहेछ।’ अन्नपूर्ण पोस्ट बाट साभार |

0 comments:

Post a Comment