Thursday, July 30, 2015

मन्त्री पण्डितले कर्मचारीलाई सोधे- पिच उप्केको दोष नेतालाई ?


काठमाडौं, श्रावण १५ - सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजनीतिक र प्रशासनिक नेतृत्वले एक–अर्कालाई दोष लगाउने परिपाटीले राष्ट्रको उन्नति कहिल्यै नहुने बताए। मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले सचिवहरूलाई बोलाएर गरेको ‘सुशासनको सन्दर्भमा प्रशासन सुधार र जवाफदेहिता’ विषय कार्यक्रममा मन्त्री पण्डितले भने, ‘राजनीतिको कमजोरी राजनीतिबाटै र प्रशासनभित्रको कमजोरी प्रशासनबाटै खोजेर समाधान गर्नुपर्छ।’ उनले सचिवहरूप्रति संकेत गर्दै राम्रो कामको थालनी आफैंबाट गर्नु पर्ने बताए। ‘तीन दिनमै सडकमा गरेको पिच उप्किन्छ। त्यो नेताले गरेको हो? प्राविधिक कर्मचारीले त्यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन?’ केही सचिवहरूले निजामती ऐनमा चौथो पटक संशोधन गर्दा आफूहरूलाई नसोधी विशिष्टीकरण गरेकामा विरोध जनाएका थिए। युवा तथा खेलकुदमन्त्री दीपेन्द्रनाथ शर्मा, सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाल लगायतले यसको आलोचना गरेका थिए। जवाफमा मन्त्री पण्डितले विश्व विशिष्टीकरणको जमानामा गएको भन्दै मुलुक र कर्मचारीको हितकै लागि यस्तो व्यवस्था ल्याएको बताए। उनले भने, ‘मैले १७ महिना विज्ञ, यसै विषयमा पीएचडी गरेका र पूर्व प्रशासकसँग छलफल गरेर चौथो संशोधन ल्याएको हुँ।’ उनले साउन १३ बाट फेरि निजामती ऐन पाँचौं संशोधनका लागि मन्त्रालयका सहसचिव बाबुराम अधिकारीको नेतृत्वमा काम अघि बढाइएको उल्लेख गर्दै भने, ‘तपार्इंहरूसँग सकारात्मक सल्लाह र सुझाव छ भने दिनुहोस्, हामी समेट्ने प्रयास गर्नेछौं।’ पीआर र डीभीधारीलाई कारबाही गर्ने गरी ऐन ल्याएकामा सचिवहरूले मन्त्री पण्डितको प्रशंसा गरेका थिए। सचिवहरूले मुख्य मूल राजनीति सफा नभएसम्म प्रशासन क्षेत्र राम्ररी अघि बढ्न नसक्ने बताएका थिए। सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले भने, ‘मूल भनेको राजनीति हो, यो सफा नभएसम्म काम गर्न गाह्रो हुन्छ। राजनीतिक दलले अधिवेशनमा कर्मचारीलाई प्रतिनिधि बनाउनु गलत हो।’ मुख्यसचिव लीलामणि पौडेलले तल वा माथि नभनेर काम गर्न सचिवहरूलाई सल्लाह दिए। ‘हामीले भनेका छौं, माथिको मूल खराब छ र काम बिग्रियो। फेरि भन्छौं, तलको मूल खराब छ र काम बिग्रियो,’ सचिवहरूलाई कारण देखाउने भन्दा आफैं अघि बढेर काम गर्नुपर्ने उल्लेख गर्दै मुख्यसचिव पौडेलले भने, ‘माथि भनेको पनि प्रशासन हो र तल भनेको पनि प्रशासन नै हो। प्रशासन सेवा लिनु जनताको माथि हुन्छ र राजनीतिको तल हुन्छ।’ उनले अरूलाई दोष दिनुभन्दा पनि आफूले आफ्नो मूल्याकंन गरेर काम गर्नुपर्ने बताए।

0 comments:

Post a Comment