Thursday, July 30, 2015

बच्चाको रगतमा सिसैसिसा


काठमाडौं- तपाईंका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन्? रिसाउने र एकान्त मन पराउनेजस्ता असामान्य आनीबानी देखाइरहन्छन्? उनीहरूको उमेरअनुसार शारीरिक र मानसिक विकास भएको छैन? यस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ। उनीहरूको रगतमा हानिकारक लिडको मात्रा बढी हुन सक्छ। बिहीबार सार्वजनिक स्वास्थ्य अनुसन्धान प्रतिवेदनअनुसार लिडले बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुर्यारउँछ। लिडको मात्रा बढी भए बच्चामा पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत तथा रक्तअल्पता हुने लक्षण देखा पर्छन्। र, मिर्गौला नै फेल हुने सम्भावना पनि हुन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तयार गरेको प्रतिवेदनअनुसार उपत्यकाका तीन जिल्लाका बालबालिकामा रगतमा लिडको मात्रा अत्यधिक भेटिएको छ। परिषदले लिडजन्य सामग्री र खेलौनाका कारण बालबालिकामा असर बढ्दै गएको परिकल्पनामा अनुसन्धान गरेको थियो। घर रङरोगन गर्ने पेन्ट्स, खेलौना, लिपस्टिकमा बढी मात्रामा लिड पाइने गरेको छ। यस्ता लिड हावा तथा धुलोको कणबाट श्वासप्रश्वास, खाना तथा अन्य माध्यममार्फत शरीरभित्र पुगेपछि रगत संक्रमित हुन्छ र असर देखा पर्छ। परिषदका प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालका औसत बालबालिकामा लिडको मात्रा न्यूनतम सीमाभन्दा धेरै बढी र तत्काल अस्पताल भर्ना गरिहाल्नुपर्ने तहभन्दा केही मात्रै कम छ। अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का अनुसार रगतमा लिडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनु हुन्न। ४५ भन्दा बढी भए अस्पताल भर्ना गर्नुपर्छ। सयभन्दा बढी भए तत्काल मृत्यु हुन्छ। धिमालका अनुसार अध्ययन गरिएका बालबालिकामध्ये ९.३ प्रतिशतको रगतमा मात्रै लिड शून्य थियो। २६ प्रतिशतमा ०.१ देखि ५ मिलिग्राम डेसिलिटर र अन्यमा झन्डै अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था नजिक थियो। लिडको सम्पर्कमा आउँदा वयस्कभन्दा बालबालिकामा असर बढी हुने भएकाले अध्ययन बालबालिकाकेन्द्रित गरिएको धिमालको भनाइ छ। 'बडीमासका कारण वयस्कमा २० प्रतिशत असर हुँदा बालबालिकामा ७० प्रतिशतसम्म हुन्छ,' उनले भने। धिमालका अनुसार पाटन, त्रिवि शिक्षण र सिद्धि स्मृति अस्पताल भक्तपुरमा उपचारका लागि आएका ३ सय १२ बालबालिकाको रगतको नमुना अध्ययन गरिएको थियो। ती बालबालिका बिरामीभन्दा पनि खोप लगाउन र अन्य शारीरिक वृद्धि परीक्षणका लागि आएका थिए। 'सहरीकरणसँगै रङको प्रयोग बढ्दा लिडको असर पनि बालबालिकामा बढिरहेको छ,' धिमालले भने, 'धुलोमा बढी खेल्ने बालबालिकामा पनि लिड धेरै पाइएको छ।' धिमालका अनुसार लिडले स्नायु प्रणाली, मस्तिष्क, मिर्गौला र आइक्यू विकास, हाडजोर्नी र मासु वृद्धिमा सबैभन्दा बढी असर पार्छ। त्यसैगरी बच्चामा तौल घट्दै जाने, कब्जियत र कमजोर हुने समस्या त्यत्तिकै देखिन्छ। धिमालले रगतमा लिड देखिएपछि शरीर विषाक्तरहित बनाउन र जा"च गर्न धेरै खर्च लाग्ने बताए। प्रतिवेदनअनुसार एउटा बच्चाको रगतमा लिड जाँच्न करिब ६ हजार रुपैयाँ खर्च भएको थियो। अन्तर्राष्ट्रिय अध्ययनअनुसार लिडका कारण संसारभर प्रत्येक वर्ष ६ लाख बालबालिका अपांग हुन्छन्। तीमध्ये १ लाख ४३ हजारको मृत्यु हुन्छ। अध्ययनले धनी र सम्पन्न परिवारको तुलनामा गरिब परिवारको बच्चामा साढे ३ गुणा बढी लिड भेटिएको देखाएको छ। यसैगरी, घरभित्र भन्दा बाहिर खेल्ने बच्चामा साढे ४ गुणा बढी लिड पाइएको थियो। सेन्टर फर इन्भरमेन्ट पब्लिक हेल्थका रामचरित साहले नेपालमा लिडको प्रमुख स्रोत पेन्ट्स नै रहेको बताए। उनका अनुसार पेन्ट्समा २ लाख १३ हजार पिपिएमसम्म लिड हुन्छ। नेपाली पेन्ट्समा १४ सय गुणा लिड पाइन्छ। सरकारले गत असार ५ मा नयाँ मापदण्ड ल्याएर पेन्ट्समा ९० पिपिएमभन्दा कम लिड प्रयोग गर्न भनेको छ। 'लिड कम भएको रङ लगाएको घरमा बस्दा स्वाभाविक रूपमा असर कम हुन्छ,' साहले भने, 'अब बच्ने पहिलो तरिका यही हो, अभिभावकले रङ किन्दा यसको ख्याल गर्नुपर्छ।' साहका अनुसार अस्पतालका बालबालिका वार्ड, विद्यालय र घरमा १० माइक्रोग्राम प्रतिवर्गफिटभन्दा बढी लिड भेटिए अमेरिकी सरकारले आपतकालीन अवस्था घोषणा गर्छ। विद्यालयले बालबालिकालाई आकर्षित गर्न झन् बढी किसिमका रङरोगन गर्ने भएकाले जोखिम बढेको परिषदका सदस्यसचिव डा. खेम कार्कीले बताए। 'पेन्ट्स समयक्रमसँग खुइलिँदै धूलोमा मिसिन्छ र जोखिम बढ्दै जान्छ,' उनले भने। धिमालले लिडले मन्द विषका रूपमा असर गर्छ। 'यसबाट बच्ने सबैभन्दा उत्तम उपाय अभिभावकलाई लिडरहित वातावरणमा हुर्काउनु नै हो,' उनले भने।

0 comments:

Post a Comment