Thursday, July 30, 2015

भीषण वर्षासँगै पहिरो : ३५ को मृत्यु, डेढ दर्जन बेपत्ता


पोखरा/म्याग्दी- बुधबार राति भीषण वर्षासँगै कास्की, म्याग्दी, बाग्लुङ र चितवनका विभिन्न ठाउँमा गएका छुट्टाछुट्टै पहिरोमा ३५ जनाको ज्यान गएको छ। पहिरोमा डेढ दर्जनभन्दा बढी बेपत्ता छन्, यत्तिकै संख्यामा घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा १६ महिला, ८ पुरुष र ५ बालबालिका छन्। पहिरोले घरबस्ती नै पुरिँदा कास्कीका तीन गाविसमा गरी ३०, म्याग्दीमा ३, चितवन र बाग्लुङमा १–१ गरी ३५ जनाको ज्यान गएको हो। कास्कीका लुम्ले, तामागी र ढिकुरपोखरीमा गरी ३० जनाको ज्यान गएको जिल्ला प्रहरीप्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएकाको खोजी अझै जारी छ। लुम्लेका ४ र ६ नम्बर वडाअन्तर्गत गहिरो भागमा रहेका १२ घर बुधबार राति माथिबाट बग्दै आएको पहिरोले नामनिसानै नरहने गरी पुरेको थियो। कास्कीकै भदौरे, तामागी गाविसमा पहिरोले घर पुरिँदा पाँच जनाको ज्यान गएको छ भने ढिकुरपोखरीमा दुई जनाको मृत्यु भएको छ। तामागीमा ३ जना बेपत्ता छन्। एसपी पालका अनुसार भदौरे, तामागी–५ डुँडाफाटका ५, लुम्ले–६, माझघरका २३ र ढिकुरपोखरी–९, ठूलीचौरका २ जनाको पहिरोमा परी मृत्यु भएको हो। कास्कीमा मृत्यु हुनेमा १७ महिला, ७ पुरुष र ६ बालबालिका परेका छन्। पहिरोमा फेवाताल सिरान क्षेत्रको भदौरे, तामागी–५, डँुडेफाँटका टीकाराम विक (६५), रामकुमारी विक (५५), गौरी पराजुली (३१), करण पराजुली (७) र नन्दकली पराजुली (६५) को ज्यान गएको कास्कीका डिएसपी केदार रजौरेले जानकारी दिए। मध्यरात निकै माथिदेखि पहिरो झरेर घरै बगाउँदा सुतिरहेका स्थानीय पुरिएको उद्धारमा खटिएका डिएसपी केदार रजौरेले बताए। तामागीका १० घर पूर्ण र तीन घरमा आंशिक क्षति छ। लुम्ले पहिरोमा ज्यान गुमाउनेमा अर्जुन गुरुङ, (१०), रत्ना पौडेल (७०), वसन्त विक (८४) र चिजा विक (३२) छन्। सोही गाउँका सम्झना विक (१४), सलिना विक (१०), समिल विक (९), मञ्जु सुनार (२६), उनकी छोरी तीन महिनाकी सीमा सुनार, सुनकुमारी जिसी (३२), सुगम जिसी (१०), संगम जिसी (५), छिरिङ राई (५६), छिरिङकी पत्नी शान्ति शेर्पा (३७), खिमौरी विक (६५), पदमी देवकोटा (६५), तिलकुमारी देवकोटा, (६०), तुलसी देवकोटा (२२), गुरुदत्त देवकोटा (६०), पार्वती देवकोटा (२५), सविन देवकोटा (७), लक्ष्मी देवकोटा (५५) र सबिता पौडेल (९) को पनि ज्यान गएको छ। त्यस्तै, ढिकुरपोखरीको पहिरोमा अस्मिता दाहाल (१७) र प्रेमराज दाहाल (१९) को ज्यान गएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले तीन ठाउँका पहिरोमा मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए। उनले पहिरोमा हराइरहेका केहीको खोजी जारी रहेको पनि बताए। प्रहरीले शव पोस्टमार्टमका लागि पहिरोस्थलमै चिकित्सक लगेको थियो। भदौरे, तामगीमा उद्धारका लागि पुगेको डिएसपी रजौरेले भीषण वर्षाले पहिरो ल्याउँदा मानवीय क्षति भएको बताए। 'निकै माथिबाट पहिरो झरेको रहेछ। खहरेखोलामा सोहोरिएर आएको पहिरोले तल्लो भेगका घर पुरेछ,' उनले भने, 'भीषण पानी र पहिरो झरेपछि गाउँले भाग्नसमेत पाएनछन्। मध्यरातको भीषण पानीले माथिल्लो क्षेत्रबाट पहिरो झरेको र त्यही पहिरो सोहोरिएर तल बढी क्षति पुर्याएएको उनले बताए। स्थानीयका अनुसार भीषण वर्षापछि गाउँले राति नै घर छाडेर भागाभाग गरेका थिए। जोगिन खोज्दा केही झनै पहिरोको मारमा परेका थिए। स्थानीय उपेन्द्र पराजुलीका अनुसार करिब १ किलोमिटर माथिबाट भीषण पहिरो झरेर तल्लो भेगका घर पुरिएका थिए। 'चर्काे गर्जनसहित भीषण वर्षा भएको थियो। गर्जनले ब्युँझिएपछि म घरको छतमा उक्लेको थिएँ। छिमेकी पनि राति नै उठेका थिए तर अचानक ठूलो आवाजसाथ माथिबाट पहिरो झर्योए,' उनले भने, 'त्यसले छिमेकीको घर पुर्योप। पक्की हुनाले मेरो बच्यो तर भेल भित्रै पस्यो।' उनका अनुसार छिमेकी टीकाराम विक दम्पती पहिरो आउने डरले नजिकै रहेको छोरा कमलको घरमा राति नै सरेका थिए। तर, कमलको घरै बगाउने गरी पहिरो झरेर टीकाराम र पत्नी रामकुमारी विकलाई बगाएको उनले बताए। 'बच्न भनेर बासस्थान छाडेर नजिकैको छोराको घरमा पुगेका विक दम्पतीकै ज्यान गयो। आफ्नो घर जोगियो तर छोराको जोगिएन,' उनले भने, 'छोराबुहारी भने भागेर बाँच्न सफल भए।' पुरिएका घरमध्ये केहीको छानो मात्र बाहिर देखिएको छ। आंशिक पुरिएका घरमा पनि बाढी पसेर बस्नै नहुने भएको छ। लुम्लेको उद्धारमा खटिएका एसपी पालले रातिको समय भएकाले एकैपटक धेरैको ज्यान गएको बताए। 'माथिबाट एक्कासि पहिरो झर्योा। बाहिरिन निस्कन नपाउँदै घरसँगै बगेछन्,' उनले भने। बुधबार रातिकै पहिरोले बाग्लुङको रायडाँडागाउँमा एक जनाले ज्यान गुमाएका छन्। बुधबार राति आएको पहिरोले रायडाँडा—९ आप्रेका ९० वर्षीय कलाधार थापाको मृत्यु भएको हो। थापा सुतिरहेको घर माथितिर जंगलबाट आएको पहिरोले पुरेको थियो। बाढीपहिरोले पोखरा–बागलुङ राजमार्ग ठाउँठाउँमा क्षति पुगेको छ। पहिरोले राजमार्ग बगाएपछि पोखराबाट धवलागिरी अञ्चलका विभिन्न जिल्ला जाने यात्रुले सास्ती खेप्नुपरेको छ। डोजर र सुरक्षाकर्मी लगाएर पहिरो हटाउने प्रयास भए पनि बिहीबार साँझसम्म सडक खुलाउन सकिएको छैन। म्याग्दीको मुना–४ को घोस्सीखोला थुनिएर बाँध फुट्दा आएको बाढीले घर बगाउँदा मलिना पहरे पुन (९) को मृत्यु भएको छ भने मुदी–५ नेरवाङको गारखोरियामा पहिरोले तीनटा गोठ पुरिँदा दलदेवी पुन (३२) को मृत्यु भएको छ। प्रहरीले देवीस्थान–९ रानीबाच्छास्थित म्याग्दी खोलाकिनारमा पुरिएको अवस्थामा महिला–पुरुष चिन्न नसकिने अवस्थामा एक शव फेला परेको छ। म्याग्दी पहिरोमा किसलाल पुन (६८), हस्त पुन (७२) र पृथमान घर्तीमगर (७०), जीप्रसाद घर्तीमगर (५०) र मिनबहादुर घर्तीमगर (५५) बेपत्ता रहेको डिएसपी हिराबहादुर गिरीले बताए। मृतक दलदेवी र बेपत्ता किसलाल र हस्त एकै परिवारका हुन्। 'बेपत्ताको खोजी भइरहेको छ। वर्षाले खोजीमा अवरोध पारेको छ,' गिरीले भने। उनका अनुसार करिब ८ सय मिटर माथिबाट खसेको पहिरोले गोठमा सुतिरहेका स्थानीयलाई बगाएको थियो। पहिरोले नामनिसान नरहने गरी गोठ बगाएको नेरवाङकी महिला स्वयंसेविका पूर्णकुमारी घर्तीले बताइन्। 'राति १ बजेतिर ठूलो आवाज आएपछि हामीले पहिरोको आशंका गर्यौंी,' घर्तीले भनिन्। उनका अनुसार चरन क्षेत्र र गोठमा रहेका २ सय ५० भेडाबाख्रा र ७० वटा गाईभैंसी पनि पहिरोले पुरिएका छन्। पहिरोमा परेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय, दरबाङबाट प्रहरी नायब निरीक्षक बेतन रानाभाट र ताकम चौकीबाट कुलबहादुर विकको नेतृत्वमा १० जना प्रहरी घटनास्थल पुगेका थिए। जिल्लाको अति विकट मानिने नेरवाङ पशुपालनका लागि उपयुक्त रहेकाले गाउँलेले जंगलनजिकै गोठ बनाएर पशुको हेरचाह गर्दै आएका थिए। पहिरोले नेरवाङ तथा आसपासका क्षेत्र जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो प्रभावित क्षेत्रमा रहेका अन्य गोठका चौपाया पनि बस्तीतर्फ सारिएको छ। बेपत्ताको खोजीमा स्थानीय पनि समेत जुटेका छन्। यसैबीच, देवीस्थानमा पर्ने म्याग्दी खोलाको किनारमा पहिचान नभएको एउटा शव भेटिएको छ। पहिरोले ओखरबोट गाविसको फूलबारीस्थित रुमखोला तथा मुदी र नेरवाङ जोड्ने झोलुंगे पुलसमेत बगाएको छ। ठाउँठाउँमा पहिरो झर्दा बेनी–जोमसोम, बेनी–दरबाङ सडकसमेत अवरुद्ध छ। म्याग्दी खोलाको सतह बढेको छ। सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सबै कच्ची सडक अवरुद्ध छन्। यसैगरी, चितवनमा बाढीपहिरोका कारण एक जनाको मृत्यु भएको छ। पहिरोमा एक जना बेपत्ता छन् भने एक जना घाइते छन्। चितवन संवाददाता चाँदनी हमालका अनुसार बुधबार राति अविरल वर्षापछि सिद्धि गाविस–७, देउजरमा गएको पहिरोले घर पुरिँदा स्थानीय हरिवहादुर चेपाङकी ६ वर्षकी अरुणा चेपाङको मृत्यु भएको हो। यसैगरी, काउले–७, भोटेगाउँका २७ वर्षीय शुक्रबहादुर चेपाङलाई पहिरोसँगै आएको दिवुंग खोलाको बाढीले बगाएर बेपत्ता पारेको काउले हेल्थपोस्ट इन्चार्ज धनकुमार खड्काले बताए।

0 comments:

Post a Comment