काठमाडौं- रात्रि बस सञ्चालन असफल भएपछि काठमाडौं महानगरपालिकाले दुई वर्षदेखि सेवा विस्तार गर्न नसकेको साझा बसमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। महानगरवासीलाई रातिसम्मको सेवा दिन निजी व्यवसायीले सहकार्य नगर्दा महानगरपालिका साझातर्फ आकर्षित भएको हो।
काठमाडौं र ललितपुर जिल्लाका दुइ रुटमा १६ वटा बस सञ्चालन गरिरहेको साझालाई राति अबेर र बिहानी समयमा सञ्चालन गर्नका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि उक्त रकम खर्च गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
'साझाले अहिले ठूला बस सञ्चालन गरिरहेको छ,' महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नागरिकसँग भने, 'हामीले पनि नगरबासीलाई बिहान र राति अबेरसम्म बस सञ्चालन होस् भनेका थियौं। त्यही अनुसार सञ्चालन हुन्छ।'
महानगरले २०६९ भदौ १ देखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बागमती अञ्चल समितिसँग सम्झौता गरी राति बस सञ्चालन गरे पनि व्यवसायीले सम्झौताअनुसार काम गरेका थिएनन्।
रातिको चहलपल नभएका कारण व्यवसायीलाई सुरुको ६ महिना ४५ लाख रुपैयाँ दिएको थियो। तर त्यसपछि घाटा भएको भन्दै उनीहरुले सम्झौताविपरीत बस सञ्चालन रोकेका थिए। त्यसपछि अख्तियारले सेवा पुनः सञ्चालन गर्न २०७१ भदौ १० गते निर्देशन दिएपछि व्यवसायीले सञ्चालन गरे पनि अहिले बस सञ्चालनमा छैनन्।
'निजी व्यवसायीले हाम्रो लगानीको कदर गरेनन्। हामीलाई अझै पनि भरपर्दो सवारीको खाँचो छ,' उनले भने, 'साझालाई दिने घोषणा भएपछि व्यवसायीले त्यो रोक्न पनि आह्वान गर्नुभएको छ। तर यो कदापि हुन दिँदैनौं।'
१४ बससहित प्रत्येक बसमा सुरक्षाका लागि सिसिटिभी क्यामरा र दुईदुई जना नेपाल प्रहरीसहित सञ्चालन गरेको बस निरन्तरताका लागि निजी व्यवसायीले पुनः रकम मागे पनि महानगरको योजना तुहिएको थियो।
साझा र महानगरको एउटै उद्देश्य भएकाले एक पटकका लागि सेयरसहित उक्त रकम लगानी गर्न लागेको कार्यकारी तामाङले बताए। 'महानगरवासीलाई रात्रि बस पाउन सजिलो होस् भनेर यस्तो थालनी गरिनेछ,' उनले भने, 'साझालाई लगानी गर्ने हो। बाँकी उसले हेर्छ।'
साझा आफंैले एक वर्षदेखि काठमाडौं टाउन डेभलोपमेन्ट फन्डसँग ऋणका लागि पहल गरिरहे पनि छलफलमै कुरा सीमित रहेको छ। साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले साझा बस सञ्चालन घाटामै रहे पनि अहिले घरहरुको भाडाबाट चलिरहेको बताए।
'हामी अहिले केही रकम सञ्चालन घाटामै रहे पनि महानगर र साझाको उद्देश्य एकै भएका कारण यो सकारात्मक छ,' उनले भने, 'हामीले आफैं पनि थप भिœयाउने तयारी गरिरहेका छौं। यसबाहेक महानगरको योजना पनि उपयुक्त छ।'
सार्वजनिक बस सञ्चालन गर्दा संसारका जुनसुकै देशमा घाटामा गएको बताउँदै नेपाल सरकारले अनुदानमा सार्वजनिक बस सञ्चालन गर्नुपर्ने उनले बताए। 'सार्वजनिक बस यात्रु भए पनि वा नभए पनि समयमै गुड्नुपर्छ। जसका कारण, उनीहरु घाटामा जान्छन्,' उनले भने, 'साझाले पनि बेलुकी ११ बजेसम्म सञ्चालन गर्ने भने पनि सञ्चालन खर्च बढ्ने भएकाले ९ बजेसम्म सञ्चालन गर्न बाध्य छ।'
'सार्वजनिक यातायातलाई सुलभ र भरपर्दो बनाउन साझा यातायातसँग सहकार्य गर्न रकम विनियोजन गरिएको हो,' तामाङले भने, 'हामीले घाटाको कुराभन्दा पनि नगरबासीलाई राति अबेरसम्मको सुरक्षित यातायत सेवा दिन खोजेका हौं।' सरकारलाई सरकारको अनुदान नभएको अवस्थामा यो वर्ष लगानी गरेर हेर्ने विचार रहेको उनले बताए। यसबाट सार्वजनिक यातायातमा गुणात्मक सुधार ल्याउने अपेक्ष महानगरको छ।
साझा यातायात साझा यातायात सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन हुने रहेको छ। जसमा सरकारी विभिन्न ६३ निकायको ७२.५९ प्रतिशत, विभिन्न ८ संघसंस्थाको ७.२६ प्रतिशत र १ सय ४१ जना सर्वसाधारणको २०.१५ प्रतिशत सेयर छ।
साझाले ५ करोड ५४ लाख रुपैयाँमा २०७० वैशाख १ गतेदेखि उपत्यकाका दुइ रुटमा बसहरु सञ्चालन गरिरहेको छ।
निजी व्यवसायीको धम्की
महानगरपालिकासँग सम्झौताअनुसार काम नगरेका यातायात व्यवसायीले महानगरपालिका र साझा यातायातबीच सहयोग हुने विषयको विरोध गरेका छन्। उनीहरुले यस्तो भए व्यवसायीलाई हुने असरको जिम्मेवार महानगरपालिका हुने धम्कीसमेत बुधबार दिए।
महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार व्यवसायीले आफैले रकम पाउनुपर्ने बताउँदै बुधबारमात्र उनलाई ज्ञापनपत्र बुझाएका थिए। सडकमा रात्रि सेवा नदिए पनि व्यवसायीले सञ्चालन गरिरहेको ज्ञापनपत्रमा उल्लेख छ।
महासंघ बागमती अञ्चल समितिका संयोजकद्वय निररत्न नेवा र धर्मराज रिमालले निजी क्षेत्रको व्यवसायीसँगको सहकार्यबिना साझा यातायातसँग मात्र सेवा सञ्चालन गरिए महासंघआबद्ध सवारी सञ्चालन प्रक्रियामा प्रत्यक्ष असर पर्ने र यसको जिम्मेवारी महानगरपालिका हुनुपर्ने धम्की उनीहरुले दिएका छन्।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment