ती अधिकृतले भनेको कुराले मेरो ध्यान तान्यो । २०६९ साल जेठ १८ गते बिहीबार सर्वोच्च अदालतका न्यायाधीश बमलाई गोली हानी हत्या गरिएको थियो । ललितपूरको बगलामुखी मन्दिर दर्शन गरेर फर्कंदै गरेका बममाथि तीनवटा मोटरसाईकलमा आएका ५ जनाले गोली हानेका थिए । तिनै गोली हान्ने सुटरमध्ये एक थिए, रामेछापका भगवान भनिने सञ्जय यस्माली मगर ।
यिनै यस्माली मगर साउदी पुगेर धर्म परिवर्तन गरी बसेको र युट्युबमा यिनको इस्लाम धर्मसम्बन्धी प्रवचन रहेको कुरासमेत ती अधिकृतले बताए । अफिस आएर युट्युबमा सर्च गर्दा भेटियो पनि । मैले अफिसमा सबै सहकर्मीलाई त्यो दमदार प्रवचनको भिडियो देखाएँ । ‘सार्पसुटर’ भनिएका व्यक्तिको प्रवचन सुनेर सबैजना दंग परे । तत्काल समाचार लेख्न सुझाए ।
पछि फेरि साउदीबाट ती व्यक्तिलाई ल्याइएको छैन, अहिले लेख्दा मगरलाई नेपाल ल्याउने प्रक्रियामा कठिनाई आऊला भनेर तत्काल नलेख्ने सल्लाह भयो । त्यसको तीन दिनपछि जब नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र इन्टरपोलका प्रहरी अधिकृत साउदी प्रहरीको डिटेन्सन सेन्टरमा रहेका मगरलाई लिन गए, त्यसपछि मैले समाचार लेखें– ‘न्यायाधीश बमका हत्यारा साउदीमा मुस्लिम धर्मगुरु’ भनेर ।
समाचार कान्तिपुर दैनिकमा छापियो, अनलाइनमा अपलोड भयो । पत्रिकामा संजयको फोटो थिएन, अनलाइनमा युट्युब भिडियोबाट उनको तस्बिर निकालेर प्रयोग गरियो । अनि बल्ल खुल्यो अर्को रहस्य– धर्म गुरु र सार्प सुटर दुई छुट्टा छुट्टै संजय मगर रहेछन् ।
प्रहरीले दिएको सुचनाअनुसार युट्युबमा खोज्दा संजय इस्माइली मगर नाम भएका इस्लाम धर्मगुरुको जुन भिडियो भेटिएको थियो, ती अर्कै व्यक्ति थिए । समाचार छापिएको दिन जब उनी कान्तिपुर कार्यालयमा आइपुगे अनि थाहा भयो, आफ्नो गल्ती ।
यी संजय कार्यालय आइपुग्दा म थिइनँ । उनले मलाई चिन्ने रहेछन्, आर आरमा मसँगै कलेज पढेका रहेछन् । साउदीमा अरबी भाषा पढ्न गएपछि इस्लाममा परिवर्तन भएका रहेछन् । र, प्रवचन पनि दिँदा रहेछन् ।
उनी सम्पर्क आएर आफू त्यो ब्यक्ति नभएको बताउँदा एकछिन त छाँगाबाट खसेजस्तै भयो । आफ्नो स्रोतलाई सोध्न थालें, सत्यताका बारेमा । स्रोत अझै पनि आफ्नो भनाईमा अडिग थियो । प्रहरीको मेरो स्रोतका अनुसार मुख्य योजनाकार बाबु थापासँगै मगर पनि समातिएका थिए । दुई पटक सोधपुछ गरेर छाड्ने जुनियर प्रहरी अधिकृतले युट्युबमा भएको भिडियो हेरेर सार्प सुटर मगर उनै भएको दाबी गरेपछि मेरो स्रोतले पनि बिश्वास गरेको रहेछ ।
जुन प्रहरी अधिकृतले डिटेन्सन सेन्टरमा रहेका मगरलाई नेपाल ल्याउने प्रक्रिया मात्र नभएर इन्टरपोलको डिफ्युजन नोटिसमा राख्ने सबै काम गरेका थिए, तिनै प्रहरी अधिकृतको सुचनालाई सत्य ठानेर समाचार लेख्दा अर्को ब्यक्ति परेका थिए । आफ्नो र आफ्नो सुचनाको स्रोतका कारणले एउटा निर्दोष ब्यक्ति संगिन अपराधको आरोपीको रुपमा चित्रण गरिएको थियो । जो ब्यक्तिलाई लिन ब्युरोका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी र पुरन चन्द साउदी पुग्दै छन् भनेर समाचार लेखिएको थियो ती ब्यक्ति आफू अपराधी होइन भन्दै आइपुग्छन् भने आफ्नो कमजोरी त देखिने नै भयो ।
यो सत्य थाहा भएपछि कान्तिपुरको वेब समाचारमा उनका तस्बिर हटाइयो र क्षमायाचना सहित सच्याएको समाचार अपलोड गरियो ।
खासमा वास्तविक अभियुक्त र अर्का ब्यक्तिमा प्रहरी नै दोधारमा पारेको थियो । सार्प सुटरको खास नाम संजय नै भए पनि उनी भगवान थापाको नामले चिनिन्थे । उनी साउदीमा ट्रक ड्राइभरका रुपमा काम गरिरहेका थिए । धर्मगुरु बनेका भाषाका विद्यार्थी संजयको नामसँग मिलेका कारण प्रहरी युट्युबमा भएका ब्यक्तिलाई नै बम हत्याका दोषी मान्दै थियो ।
आइतबार बिहान जब साउदीबाट वास्तविक दोषी भगवान भनिने सञ्जय यस्लामी मगरलाई नेपाल प्रहरीले काठमाडौं ल्याइपुर्यायो । अनि अर्को सत्य पनि खुल्यो– यिनले इस्लाम कबुल गरेकै छैनन् । यिनी अहिलेसम्म हिन्दु नै रहेछन् । ‘आफ्नो धर्मका बारेमा धेरै थाहा छैन, अरुको धर्म कहाँ जान्नु’ उनले प्रहरीलाई यस्तो जवाफ दिए ।
हत्याको दुई बर्षपछि प्रहरीले गत पुषमा न्यायाधीश बमका हत्यारा पत्ता लगाएको थियो । सार्प सुटर मगर पनि घटना लगत्तै पक्राउ परेका पनि थिए । तर पर्याप्त प्रमाण नहुदा छुटेका थिए । छुटेर साउदी पुगेका उनलाई प्रहरी आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरेको हो ।
गलत सुचना र गलत व्यक्तिलाई ‘टार्गेट’ गरेर गरिएको भए पनि यो खोजले अन्तत: पक्राउ चाहिँ असली सुटरलाई नै गरायो ।
0 comments:
Post a Comment