काठमाडौं, भदौ १०– एनेकपा (माओवादी)का सभासद् बाबुराम भट्टराईले मुलुक इतिहासको नयाँ चरणमा प्रवेश गर्ने अन्तिम बिन्दुमा आइसके भन्दै केही सातामा संविधान जारी हुने विश्वास व्यक्त गर्दै अब पछाडि फर्कन नसकिने बताएका छन् । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केही सातामा संविधान जारी हुने विश्वास व्यक्त गर्दै अब पछाडि फर्कन नसकिने बताए । उनले मुलुक इतिहासको नयाँ चरणमा प्रवेश गर्ने अन्तिम बिन्दुमा आइसकेको अवस्थामा कसैले पनि आरोप प्रत्यारोपमा लाग्न नहुनेमा जोड दिए । संविधानको परिमार्जित विधेयक १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, मधेस आन्दोलन, नेपालको अन्तरिम संविधान, २०६३ का आधारमा तयार गरिएको स्पष्ट गर्दै उनले क्रान्तिबाट स्थापित विषयबाट बहकिएर पश्चगमनतर्फ अब कदापि जान नसकिने बताए । “नेपालमा राजतन्त्रतात्मक शक्ति, लोकतान्त्रिक उदारवादी शक्ति र प्रगतिशील शक्तिमध्ये लोकतान्त्रिक र प्रगतिशील शक्ति बीचको सझौता हो, क्रान्ति र आन्दोलनले राजतन्त्रलाई समाप्त पारेको हो, विधि र कानुनले होइन”– राप्रपा नेपालका मागप्रति सङ्केत गर्दै उनले भने–“दुई शक्तिबीचको सन्तुलनमा खिचातानी भए पनि राजतन्त्रात्मक शक्तिले टेक्ने ठाउँ मागेको छ, त्यो दिनुपर्छ तर ठाउँ भनेको पुरानै अवस्थामा फर्कने होइन ।

” सङ्घीयताबाट पछाडि फर्कन नसकिने, पहिचानका पाँच र सामथ्र्यका चार आधार कायम गर्दै सन्तुलित ढङ्गले प्रदेश विभाजन मिलाउनुपर्नेमा जोड दिँदै उनले सर्वसम्मतिले स्वीकार गरिएका विषयलाई उपेक्षा गर्न नसकिने बताए । केही नमिलेका विषयमा अहिले आवाज उठेको हो त्यसलाई सम्बोधन गर्न सकिन्छ भन्दै उनले भने–“केन्द्र, प्रदेश र स्थानीय तह भएपछि अब अञ्चल, जिल्ला र निर्वाचन क्षेत्र रहँदैनन्, निर्वाचन क्षेत्र पनि १६५ हुँदैछन् । नयाँ ढङ्गले सङ्घीय आयोगमार्फत पुनः संरचना गर्दैछौँ ।” धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने, बहुदलीय समावेशी लोकतन्त्र हुनुपर्ने, समावेशी समानुपातिक व्यवस्था हुनुपर्ने मधेसी, महिला, दलित, जनजातिलगायत सबै वर्गका हकअधिकार सुरक्षित गर्ने विषयमा विधेयक कमजोर भएकाले संशोधनका साथ संविधान जारी गर्नुपर्ने नेता भट्टराईको भनाइ छ । टीकापुरलगायत देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाप्रति खेद प्रकट गर्दै उनले समयमै संविधान बनाउने लक्ष्य पूरा गर्न सम्पूर्ण नेपाली जनताको साथ र सहयोग अपरिहार्य भएको बताए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment