Tuesday, August 4, 2015

बलात्कृत महिला अस्पतालमा छटपटाउँदै


दोलखा, श्रावण २० - सामूहिक बलात्कारपछि उपचारमा रहेकी बहिरा महिला अस्पतालको शय्यामा छटपटाइरहेकी छन्। रक्तस्राव भइरहेका बेला जंगलबाट उठाएर ल्याउँदा युवती घायल थिइन्। नाम, घर र कुनै पहिचान दिन नसक्ने युवतीको पाठेघरमा घाउ छ। करिब ३५ वर्षीया उनको अवस्था झन्झन् नाजुक हुँदै गएको अस्पतालको भनाइ छ।


उनले गरेको इसाराअनुसार धेरैले बलात्कार गरेपछि जंगलमा फालिएको हो। भैंसे क्षेत्रको जंगलबाट उद्धार गरिएकी उनलाई स्याहार्ने कोही छैन। आफन्तसमेत पहिचान हुन नसकेकाले महिला अस्थायी शिविरमा राख्न पठाइएको र उनी गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको प्रहरी युनिटअन्तर्गत महिला बालबालिका सेवा केन्द्रकी दुर्गा केसीले बताइन्। महिला अधिकार सञ्जाल अध्यक्ष सिर्जना कार्कीले उनको ठेगाना पत्ता लागाउन प्रयास जारी राखेको बताइन्। उनीसँग रहेको सानो झोलामा ऐना र खानेकुरा छन्। हतियारमा खुडा छ, टर्च लाइट पनि छ। गलामा पोते र हातमा चुरा भएकीले बिहे भएको हुन सक्ने प्रहरीको भनाइ छ। कपडासमेत बोकेर हिँडेकी बताउने बहिरा महिलालाई सामूहिक बलात्कार गरेर छाडेको अनुमान प्रहरीको छ।

उनको साथमा रहेको कपडामा रगत र वीर्य मिसिएको जस्तो देखिन्छ। पाठेघरमा घाउ भएर पाक्दै गएको छ। कम्मरभन्दा तल चलाउन उनलाई गाह्रो भएको उनी संकेत गर्छिन्। एक हात मर्केकाले नचल्दा उनलाई अति नै पीडा हुन्छ। उनी संकेतमार्फत दाहिने खुट्टा दुखिरहेको जनाउ दिन्छिन्। ‘टर्च लाइट लिएर चस्मा लगाएकाहरूले जबरजस्ती गरे,’ उनले टर्च देखाउँदै संकेत गरिन्। घर छाडेर एक्लै हिँडिरहेकी बताउने महिलालाई बाँकी दिनहरू कसरी व्यवस्थापन गर्ने समस्या हुँदै गएको महिला अधिकार रक्षक अध्यक्ष सिर्जना कार्कीले कान्तिपुरलाई बताइन्। बलात्कृत बहिरा महिलाको व्यवस्थापन हुन नपाउँदै गैरीमुदीमा अर्की सुस्तश्रवण युवती बलात्कारको सिकार भएकी छन्। राम्रोसँग बोल्न नजान्ने २६ वर्षीया युवतीलाई बलात्कारको आरोपमा झुले निवासी रमेश विकलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment