Thursday, August 6, 2015

बैज्ञानिकहरु भन्छन्–नेपाल र भारतको पश्चिमी क्षेत्रमा भूकम्पको खतरा



साउन २२ - नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जाने खतरा बढेको बैज्ञानिकले बताएका छन् । वैशाख १२ गते नेपालमा गएको भूकम्पको शक्ति जमिनमुनी सञ्चित भएकाले पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जाने अनुमान गरिएको बिबिसीले जनाएको छ । वैज्ञानिकका अनुसार १२ गतेको भूकम्पको सबै शक्ति बाहिर नआएको र त्यो जमिनमुनिबाटै पश्चिमतिर सरेको छ । उनीहरुले पृथ्वीको सतहमुनिको केही शक्ति पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको बताएका छन् । भर्खरै गरिएको अनुसन्धानले यो क्षेत्रमा मुख्य भूकम्प जान बाँकी रहेको देखाएपछि अब नेपाल र भारतको पश्चिमी क्षेत्रमा थप अनुसन्धान आवश्यक भएको बैज्ञानिकले बताएका छन् ।  नेचुरल जियोसाइन्स एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन् । तर कहिले र कति ठूलो आउने भन्ने यकिन गर्न नसकिने उनीहरुले बताएका छन् । क्याम्ब्रिज युनिभर्सिटिका प्रोफेसर जिन फिलिप्पी एभोउसले ठूलो भूकम्प जान्छ भनेर कसैलाई पनि तर्साउन नखोजेको तर आफूहरु बसिरहेको ठाउँ मुनि अत्यन्तै धेरै शक्ति सञ्चित भईरहेकाबारे जान्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘यस क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि आज भूकम्प आउने हो भने घना बस्तीको कारण नै हुनेछ । त्यसले पश्चिमी नेपालमा मात्रै नभएर उत्तरी भारतको गङ्गा मैदानमा पनि ठूलो क्षति गर्नेछ ।’


बैज्ञानिकका अनुसार वैशाखको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट भनिने दुई भौगर्भिक क्षेत्रहरुबीच घर्षण हुँदा पैदा भएको हो । यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुई सेन्टिमिटरले उत्तरतिर सरिरहेको हुन्छ ।  प्रोफेसर एभोउसका अनुसार वैशाख १२ गतेको भूकमपका कारण हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउने संभावना बलियो हुन्थ्यो । सन् १५०५ मा हिमालयक्षेत्रमा ८.५ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । अहिले त्यता सरेको दवावले पाँचसय वर्षभन्दा बढी समयदेखि त्यहाँ सञ्चित भएको शक्तिमाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन् ।
ओपन युनिभर्सिटी, युकेका प्रोफेसर डेभिड रथरीले पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका विद्यालयमा भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर उनीहरुको ज्यान जोगाउन सकिने बताउनुभयो । यस्तै भूकम्प प्रतिरोधी विद्यालय भवन बनाएर पनि सुरक्षित हुन सकिने उहाँको भनाई छ ।

0 comments:

Post a Comment