Saturday, August 1, 2015

नेफ्टा मनोनयनमा टुल्के र जेरी अगाडि


काठमाडौ, श्रावण १६ - नेपाल चलचित्र प्राविधिक संघले प्रदान गर्ने अवार्डको शनिबार सार्वजनिक मनोनयनमा ‘टलकजंग भर्सेस टुल्के’ र ‘जेरी’ धेरै विधामा मनोनित भएका छन् । जम्मा ३५ विधामा दिइने अवार्डमा टुल्के १५ र जेरी १२ विधामा मनोनित भएका छन् । यसपछि ‘कबड्डी’ र ‘लज्जा’ ८–८ विधामा मनोनयनमा परेका छन् । टलकजंग भर्सेस टुल्के उत्कृष्ट फिल्म, निर्देशक, वर्षको लोकप्रिय फिल्म, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, कला निर्देशन, सम्पादन लगायत १५ विधामा मनोनित छ । जेरीले उत्कृष्ट फिल्म, लोकप्रिय फिल्म, निर्देशक, अभिनेता, छायांकन, सम्पादन, पटकथालगायतमा १२ विधामा मनोनित छ । कतारमा वितरण गर्ने बताइएको अवार्डमा उत्कृष्ट फिल्ममा जेरी, कबड्डी, लज्जा, नोभेम्वर रेन र टलकजंग भर्सेस टुल्के मनोनित भएका छन् । यस्तै, निर्देशकमा दिनेश राउत (नोभेम्वर रेन), हेमराज बीसी (जेरी) नवल नेपाल (लज्जा), निश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के) र सुरज सुब्बा (वान वे) छनोट भएका छन् । उत्कृष्ट नायकमा आर्यन सिग्देल (नोभेम्वर रेन), दयाहाङ राई (कबड्डी), जीवन लुईंटेल (स्टुपिड मन), खगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के) र सौगात मल्ल (उत्सव)का बीच भीडन्त हुनेछ । यस्तै, नायककै अर्को विधा वर्षको लोकप्रिय अभिनेतामा आर्यन सिग्देल, दयाहाङ राई, अनमोल केसी, जीवन लुईटेल र सौगात मल्लको टक्कर हुनेछ । उत्कृष्ट नायिकामा भने केकी अधिकारी (श्री ५ अम्बरे), नम्रता श्रेष्ठ (नोभेम्वर रेन), नन्दिता केसी (लोग्ने मान्छे), प्रियंका कार्की (नाई नभन्नू ल ३) र ऋता शर्मा (टलकजंग भर्सेस टुल्के) मनोनित भएका छन् । वर्षको लोकप्रिय नायिका अवार्डका लागि भने केकी अधिकारी, नम्रता श्रेष्ठ, प्रियंका कार्की, ऋचा शर्मा र सिल्पा पोखरेलको भिडन्त हुनेछ । वर्षका नयाँ निर्देशक विधामा सुन्तलीका भाष्कर ढुंगाना, नाई नभन्नू ल ३ का मुस्कान ढकाल, झिग्रानाका पासाङ लामा, कबड्डीका रामबाबु गुरुङ र मालाका सुदिप भुपाल राई मनोनित छन् । वर्षको लोकप्रिय चलचित्र नामक विधामा हवल्दार सुन्तली, जेरी, कबड्डी, नाई नभन्नू ल ३ र कोहिनुरको प्रतिस्पर्धा हुनेछ । पटकथामा वान वेका प्रदीप भट्टराई, जेरीका हेमराज बीसी र सम्राट प्रसाद गौचन, टलकजंग भर्सेस टुल्केका खगेन्द्र लामिछाने, झिग्रानाका पासाङ लामा र कबड्डीका रामबाबु गुरुङ र उपेन्द्र सुब्बा मनोनित छन् । नव नायक विधामा हसन खान (अलविदा), सञ्जोग कोइराला (उत्सव), सौरमराज तुलाधर (जिन्दगी रक्स), सिद्धार्थ गुरुङ (वान वे) र सुदर्शन थापा (अझै पनि) मनोनित भएका छन् । यस्तै, नव नायिकामा आना शर्मा (जेरी), अकेषा विष्ट (जिन्दगी रक्स), आस्मा डिसी (आभास), चाँदनी शर्मा (स्टुपिड मन) र सिल्पा पोखरेल (लज्जा)का बीच भीडन्त हुनेछ ।

0 comments:

Post a Comment