काठमाडौं–गृहमन्त्री बामदेव गौतमले मंगलबार अधिकार माग्दै दलित संघर्ष समितिले गरेको प्रर्दशनमा प्रदर्शनकारीले प्रहरीमाथि टुंगा प्रहार गरेको बताएका छन् । मंगलबार दलित संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै संसदमा चर्को विरोध भएपछि सभामुख सुवास नेम्वाङले सरकारकोतर्फबाट गृहमन्त्रीलाई सो विषयमा जवाफ दिन रुलिङ गरेका थिए ।
बुधबार बसेको संसदको बैठकमा सो विषयमा जवाफ दिँदै गृहमन्त्री गौतमले मंगलबार भएको प्रदर्शनका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको जवाफ संसदमा दिए । उनले प्रहरीमाथि ढुंगा प्रहार भएको भिडियो फेटेज नै संसदमा बुझाएका छन् ।
सो घटनाको छानविन गर्न छानविन समितिसमेत गठन भएको भन्दै गृहमन्त्रीले दोषी देखिएकामाथि कारवाही हुने बताए । गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले शान्ति पुर्ण धर्नामा बसेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै कारवाहीको माग गरे ।
मंगलबार विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते भएका थिए ।
दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको थियाे। सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते भएका थिए ।
0 comments:
Post a Comment