Wednesday, August 5, 2015

ओलीलाई प्रधानमन्त्री बनाउने जोली विवादमा




काठमाडौं साउन २०– भारतीय जनता पार्टी (भाजपा)का नेता विजय जोलीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको भावी प्रधानमन्त्रीको शुभकामना दिएपछि भाजपामा विवाद उत्पन्न भएको छ । उनले नेपालबाट भारत फर्केलगत्तै फेसबुकमार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको शुभकामना दिएका थिए । तर, पार्टीमा त्यसको टीका–टिप्पणी सुरु भएपछि जोलीले सो पोस्ट फेसबुकबाट हटाइसकेका छन् ।
साउन १० गते एमाले भ्रातृ संगठन युथ फोर्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आएका नेता जोलीले एमाले अध्यक्षलाई भेटेका थिए । भेटमा उनले नेपालको आगामी प्रधानमन्त्री ओली नै पक्का भएको र दिल्ली फर्केर सबै चाँजोपाँजो मिलाउने बताएका थिए । उनले आफ्नो फेसबुकबाट भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई बधाई पनि दिएका थिए । त्यसो त उनले कार्यक्रममा पनि ओलीलाई नेपालको भावी प्रधानमन्त्रीका रूपमा सम्बोधन गरेका थिए ।
नेता जोलीलाई भाजपामा प्रभावशाली नेता भनिए पनि पार्टीले अहिले उनलाई कुनै पद दिएको छैन । विदेश विभाग प्रमुखको नामबाट पटक–पटक नेपाल आएर यहाँका नेतालाई भेटी ‘खातेदारी’ लिने गरेका जोली यसपटक भने विवादमा तानिए ।
उनलाई नेपालमा भाजपाका विदेश विभाग प्रमुख भने पनि उनले त्यसलाई खण्डन गरेनन् । उनले जहाँ पनि परिचय दिँदा आफूलाई भाजपाको विदेश विभाग प्रमुख नै भएको बताउँथे । जब कि अहिले भाजपाका विदेश विभाग प्रमख विजय चौथाइवाले छन् ।

0 comments:

Post a Comment