Friday, August 7, 2015

पोखरा विमानस्थलका जग्गाधनीलाई ६२ करोड मुआब्जा दिइयो


पोखरा: पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गाधनीलाई आजसम्म करिब ६२ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ।  पहिलो र दोस्रो चरणमा गरी अहिलेसम्म १४५ जना जग्गाधनीलाई मुआब्जा वितरण गरिएको हो। पहिलो चरणमा ८० रोपनी जग्गाको मुआब्जा वितरणका लागि सूचना प्रकाशित गरिएकामा ४१ जना जग्गाधनीले १५ करोड र दोस्रो चरणमा आजसम्म १०४ जनाले करिब ४७ करोड रुपैयाँ मुआब्जा बुझेका छन्।  दोस्रो चरणमा १७० जना जग्गाधनीले मुआब्जाका लागि निवेदन दिएका छन्। बाँकी जग्गाधनीको मुआब्जा वितरण प्रक्रियामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए। विमानस्थलको लागि दोस्रो चरणमा अधिग्रहण गर्न लागिएको ३३५.७९ रोपनी क्षेत्रफलको जग्गाका जग्गाधनी ३१८ जना भएको सापकोटाले बताए।


यस चरणमा अधिग्रहणमा २४ वटा घर टहरा परेका छन्। अहिलेसम्म तीनजना घरधनीले मुआब्जा बुझिसकेको बताइएको छ। जग्गाधनीले आगामी असोज १२ गतेसम्म मुआब्जा दाबी गर्नसक्ने छन्।  दोस्रो चरणको जग्गा अधिग्रहण गर्न गत जेठ ८ गते सूचना प्रकाशित गरिएको थियो। यस चरणको मुआब्जा वितरण सकिएपछि बाँकी रहेको १२५ रोपनी जग्गाको मुआब्जा वितरणका लागि पनि प्रक्रिया थालिने कार्यालयले जनाएको छ। परियोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी ६४ लाख रुपैयाँ र बाटो नभएको जग्गाको प्रतिरोपनी ४८ लाख रुपैयाँ दिने गरेको छ। घर तथा टहराको लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयले तोकेको मापदण्डअनुसार मुआब्जा वितरण गरिने कार्यक्रम रहेको अधिकृत सापकोटाले बताए।   २०३२ सालमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएकामा अपुग ६२९ रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थलको काम अघि बढाउन लागिएको हो। विमानस्थलको लागि चीनको एक्जिम बैंकसँग लिइने करिब रु २१ अर्ब ऋण स्वीकृतिको प्रक्रियामा रहेको परियोजनाले जनाएको छ।

0 comments:

Post a Comment