Friday, August 7, 2015

चौधरी ग्रुपले बनाइदियो भक्तपुरको क्षतिग्रस्त विद्यालय


२२ साउन, काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरबार स्क्वायर क्षेत्रको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालय भवन पुनर्निर्माण गरी शुक्रवार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका एक सय सार्वजनिक विद्यालयहरुको पुनर्निर्माण गर्ने फाउण्डेसनको प्रतिवद्धता अनुसार उक्त विद्यालयको पुनर्निर्माण गरिदिएको हो । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरुको पुनर्निर्माणका लागि चौधरी फाउण्डेसनले ‘सिजी शिक्षालय’ परियोजना कार्यान्वयन गरिरहेको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच पुनर्निर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । २०१६ सालमा अध्यक्ष चौधरीका पिता लुनकरणदाश चौधरीले उक्त विद्यालयको शिलान्यास गरेका थिए ।
उक्त अवसरमा बोल्दै अध्यक्ष चौधरीले सार्वजनिक विद्यालयहरुमा अंग्रेजी र कम्प्युटर शिक्षा अत्यावश्यक रहेको बताए । ‘अहिलेको समयमा अंग्रेजी र कम्प्युटर शिक्षाविना हाम्रा बालबालिकाको अध्ययन अपूर्ण हुन्छ’ अध्यक्ष चौधरीले भने- ‘यसका लागि चौधरी ग्रुप सरकार र विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गर्न तयार छ ।’ चौधरी फाउण्डेसनलेे यसअघि भूकम्पबाट क्षतिग्रस्त काभ्रेका बालमन्दिर निम्न माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ । चौधरी फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावितहरुका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरिरहेको छ । हालसम्ममा काठमाडौंको मच्छेगाउँमा ७० वटा, भक्तपुरको चाँगुनारायणमा ६० वटा, ललितपुरको बुरुङचुली र लोकुण्डोलमा ७६ वटा र काभ्रेको दोलालघाटमा १२९ ट्रान्जिसलन होमहरुको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भईसकेको छ । निकट भविष्यमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, धादिङ लगायतका जिल्लाहरुमा ट्रान्जिसनल होम निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने फउण्डेसनले जनाएको छ ।

0 comments:

Post a Comment