Friday, August 7, 2015

छाउपडीसँग मान्छे रिसाए, देउता रिसाएनन् !


अछामको छाउपडीका बारेमा थुप्रै सुनेकी पत्रकार उन्नती चौधरी रिपोटिङका क्रममा मसँगै असारको पहिलो साता अछाम पुगिन् । छाउपडी प्रथा बिरुद्धमात्र दर्जन संघ संस्थाले काम गरिरहेको सदरमुकाम मंगलसेनमा संयोगवस विभिन्न धर्मका धर्म गुरुहरुको भेला थियो ।
छाउ (महिनावारी) भएका बेला घरमा बस्दा र दूध दही खाँदा देउता रिसाउने, घरमा बाघ प्रवेश गरी घरपालुवा जनावरसँगै मान्छेमाथि आक्रमण गर्ने, घरका सदस्य बिरामी पर्ने र स्वयं यो प्रथा नमान्ने महिलालाई शारिरीक, मानसिक र सामाजिक रुपमै राम्रो हुँदैन भन्ने सुनेकी उन्नतीलाई छाउपडी प्रथाका बारेमा धर्मगुरुहरुको बुझाइ सुन्न मन लाग्यो । कार्यक्रममा सहभागी भइन् ।
कार्यक्रममा सहभागी हिन्दु, बौद्ध, क्रिश्चियन लगायत धर्म गुरुहरुका भनाइ सुनिन् । साथै कार्यक्रममा धामी (भूत, पिचास लाग्दा कापेर निको पार्ने व्यक्ति) को उपस्थिती थियो । छाउपडी प्रथा मान्दा के हुन्छ ? नमान्दा के हुन्छ ? भन्ने छलफल भइरहँदा धामीले चाँही चार दिनसम्म महिनावारी भएकी महिलालाई छुन नसकिने बताए ।
तपाईहरु जे गर्नुस्, म चाँही छाउपडीलाई छुन सक्दैन । देउता रिसाउँछन् । भन्न पायो, बोल्न पायो भन्दैमा जे पनि गर्न र बोल्न पाइन्छ ? “छाउ भ्याकी बैकिनीलाई कसरी छुन्या ?” (महिनावारी भएकी महिलालाई कसरी छुने ?) आफ्नै भाषामा धामीले प्रश्न गरे । बरु छाउ भएका बेला भगवानले नै महिलाको शरीरबाट रगत बगाउँछ भन्दै भगवानको नियमलाई मान्छेले परिवर्तन गर्न नसकिने तर्क उनले गरे ।
धामीको कुरा सुनेपछि उन्नतीले धामीलाई छुने कोसिस् गरिन् । छाउ भएकी महिलाले देउता आउने धामीलाई छुँदा देउता रिसाउँछन् भन्ने सुनेकी उनलाई धामीलाई छुने ईच्छा जाग्यो । उनलाई महिनावारी भएको २ दिनमात्रै भएको थियो ।
तर, म महिनावारी भएकी छु, तपाईलाई छुन चाहान्छु भन्ने वातावरण पनि थिएनँ । त्यसैले उनले धामीले नबुझ्ने गरी उनको नजिक गइन् । उनीसँग बसेर फोटो खिचिन् । धामी हाँसिरहे । उन्नतीको रणनीति मलाई थाहा थियो । त्यसैले मैले पनि उनीहरुको फोटो लगातार खिचिरहेँ । उन्नती म नजिक आएर खुसुक्क मलाई भनिन्, “दिदी धामीलाई त केही भएन त ?”
उन्नतीको प्रश्नको उत्तर मसँग रेडिमेट थियो । मैले पनि भनें, तपाईले म महिनावारी भएकी छु भनेर जानकारी दिएको भए हुन्थ्यो । जानकारी नदिएको भएर केही भएन । मेरो उत्तर र धामीलाई केही पनि नभाको अवस्थाले उन्नतीलाई पनि प्रष्ट बनायो ।
आफ्नो घरमा महिनावारी कहिल्यै नमान्ने थारु समुदायकी उन्नतीले अछाम लगायतका जिल्लाका धामी लगायत धर्म गुरुहरुलाई छुनु हुँदैन भन्ने सुनेकी थिइन् । छोयो भने के हुँदो रहेछ भन्ने कुराको भुक्तभोगी समेत बनेपछि प्रष्ट भइन् । अनि भनिन्, – केही हुँदोरहेनछ, खाली भ्रम मात्र हो ।


0 comments:

Post a Comment