काठमाडौं, १८ साउन प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार दल एमालेले आफूमाथि शंका गरेको आरोप लगाएका छन् । कोइरालाले आइतबार उद्यमी–व्यवसायीसँगको भेटमा संविधान जारी भएपछि आफू राजीनामा गर्न तयार भए पनि एमालेले शंका गरेको बताएका हुन् । आजको नया पत्रिका दैनिकमा खबर छ । ‘संविधान आओस् म छोडिदिन्छु । यसमा शंकै नगर्नूस् । तर, यसका लागि एउटा डेमोक्रेटिक संविधान आउनुपर्यो, जस्तो–तस्तो होइन,’ एमालेले आफूलाई अनावश्यक शंका गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने । उनले संघीयतामा प्रदेशको सीमा टुंग्याएर मात्र संविधान जारी गर्नुपर्ने पनि बताए । ‘संघीयताको रेखांकन गरेर जानुपर्छ,’ उनले भने, ‘त्यसपछि समाजमा हार्मोनी आउँछ ।’ संविधानमा बहुलवाद राख्नुपर्ने पनि कोइरालाले बताएका छन् । ‘फरक–फरक पार्टीका आ–आफ्नै आस्था र विश्वास छन्, मागहरू छन्, आकांक्षाहरू छन् । सबै दल डेमोक्रेटिक अम्रेलामा आएपछि त्यसका मूल्य–मान्यतालाई पालना गर्नुपर्छ,’ कोइरालाले भने, ‘त्यसैले मैले बहुलवादको कुरा उठाएँ । बहुलवाद त डेमोक्रेसीको इसेन्स हो ।’ कोइरालाले संविधान निर्माणमा सबैलाई समेटेर लैजाने प्रयास भएको बताए । उनले भने, ‘सबैलाई लिएर जाऔँ, एक भएर जाऔँ, उन्नतिको मार्गमा जाऔँ भनेर हरेक पार्टी र नेताहरूसँग कुरा भएको छ ।’ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्सको प्रतिनिधिमण्डल नयाँ संविधानमा समेट्नुपर्ने आर्थिक विकासका विषयबारे सुझाबसहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो । प्रतिनिधिमण्डलले संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित समाजवादले आर्थिक विकासको क्षेत्रमा लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई तर्साएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । ऐनमा व्यवस्थित गर्नुपर्ने श्रमिकका हक–अधिकारका कुरा संविधानमा व्यवस्थित गर्नाले उद्योगी–व्यवसायीको पुँजी मात्र नभएर आफैँ पलायन हुनुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले मजदुरलाई अनुशासनमा राख्न नसक्दा उद्यमीले दु:ख पाएको बताए । उनले भने, ‘उनीहरूलाई पनि सिकाउनुपर्यो । मजदुरहरूले काम पाउनका लागि मालिकले लगानी गर्ने र कलकारखाना चल्ने अवस्था त कायम हुनुपर्यो नि । फेरि कलकारखाना चलाउन मजदुर पनि चाहिन्छ ।’ अधिकारका नाममा हुने तोडफोड, बन्द, हडतालले मजदुरहरू नै बेरोजगार बन्न सक्ने भएकाले उनीहरूलाई सम्झाउन कोइरालाले आग्रह गरेका थिए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment