Thursday, August 6, 2015

कोमल वलीको नयाँ तीज गीत


 मेहन्दीले रंगीएका हात । रातै चुरा । सुतिको सुकिलो सारीमा बेहुली जस्तै सजिएकी कोमल ओलीले श्रीमानको आयु लम्बाउन व्रत बस्दै थिइन् । तर, श्रीमानको भुमिका निर्वाह गरिरहेका अजय अधिकारीले भने उसो नगर भन्दै गीतकै भावमा सम्झाइरहेका थिए । यस वर्ष तीजको गीत नगाउने भनेर बसेकी गायिका कोमल वली अन्तत नयाँ गीत लिएर आउँदैछिन् । भूकम्पका कारण निराश वातावरणमा के उमंग मनाउनु भन्ने उनको भनाई थियो । तर तीज नजिकिदै गएपछि उनी आफ्नै एल्वम निकाले पनि अरुकै एल्वममा भए पनि गाउन तयार भइन् । उनका फ्यान अजयले कोमल सँगै गाउने सपना धेरै लामो समयदेखि सजाएका रहेछन् । ‘अजयजीको अनुरोध अस्वीकार गर्न सकिनँ,’ कोमलले भनिन्, ‘त्यसैले यो वर्ष उहाँकै शब्द र संगीतमा गीत गाए ।’


विगतका तीजमा कोमलले ‘पोइला जान पाम’, ‘भेटिएन कोई’, ‘हत्तेरीका शिवजी’ लगायत भने जस्तो जीवन साथी नपाएको गुनासो गरेकी थिइन् । यसपालि भने उनले पति पाइसकेकी महिला बनेर व्रत बस्ने जिद्दी गरिरहेको गीत गाएकी छन् । गीतमा अभिनय पनि आफैंले गरेकी छन् । गायक गायिका अजय र कोमलले म्युजिक भिडियोमा श्रीमान–श्रीमतिको अभिनय गरेका छन् । कोमलले श्रीमती बनेर अभिनय गर्न गाह्रो भएको पनि बताइन । ‘अनुभव नगरेको फिलिङस् निकाल्न गाह्रै पर्दोरहेछ,’ कोमलले हाँस्दै भनिन् । सबैले तिलहरी र सारीमा खुलेकी छौ भन्दै तारिफ गर्दा आफूले पनि ऐना हेर्ने गरेको कोमलले बताइन् । श्रीमतीको छोटो अभिनय गर्दा नै आफूलाई पुगेको भन्दै उनले हाँस्दै भनिन्, ‘साँच्चिकै श्रीमती हुन त सक्दिन बा, साह्रै गाह्रो हुँदो रैछ, श्रीमती बन्न । छोटो अभिनय गर्दा त यति गाह्रो हुन्छ भने जीवन भर कसरी सक्छन होला महिलाले ? भन्दै उनले प्रश्न गरिन् । गीतमा राम्रो केटा पाइनँ भने पनि उनी आफ्नो वास्तविकता उल्टो भएको बताउँछिन् । उनी सकेसम्म विवाहबाट टाढै भाग्न चाहन्छिन् । उनको विचारमा विवाह केटी मान्छेका लागि विवाह गर्नु भनेको स्वतन्त्रता गुमाउनु हो । यसैले उनी भन्छिन्, ‘गीत सुनेर भगवानले श्रीमान् जुराइदिए भने त बोरै हुन्छ,’ उनले मुस्कुराउँदै थपिन्, ‘श्रीमान जुराइदिएर, शिवजीले दुख नदेऊन् ।’

0 comments:

Post a Comment