नेपाली युवा टिम समूह चरणका दुवै खेल जित्दै प्रथम साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनल पुगेको हो । दुवै खेलमा नेपाली टिमको प्रदर्शन अपेक्षाकृत थिएन । यस्तो स्थितिमा नेपालले फाइनल प्रवेशका लागि बिहीबार अफगानिस्तानको सामना गर्दैछ ।
अर्को सेमिफाइनलमा भारत र बंगलादेश पनि बिहीबारै भिड्दैछन् ।
घरेलु खेलाडीको तुलनामा शारीरिक रूपमा अफगान खेलाडी बलिया छन् । सबै स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा अफगानिस्तानले सुधारिएको खेलसँगै नतिजा पनि निकाल्दै आएको छ ।
प्राविधिक र ट्याक्टिकल रूपमा पनि अफगानिस्तान कमजोर छैन । त्यसैले नेपाललाई एन्फा कम्प्लेक्स, सातदोबाटोमा बिहीबार उसको चुनौती पन्छाउन सजिलो हुने छैन ।
समूह चरणको दुई खेल हेरेपछि अफगानिस्तानबारे नेपाल यू–१९ का प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘शारीरिक रूपमा हामीभन्दा केही राम्रो छ । टेक्निकल र प्राविधिक रूपमा पनि राम्रो छ । यस्तो टिमविरुद्ध हामीले गल्ती दोहोर्याउनु हुँदैन । हामी डराएर खेल्ने छैनौं । हामी गोर्खाली हौं र भिडेरै खेल्ने हाम्रो बानी छ । टेक्निकल र ट्याक्टिकल रूपमा पनि खेल्नेछौं ।’
अहिलेका खेलाडीको बाहुल्य भएको टिमलाई चार वर्षयता सम्हाल्दै आएका महर्जनले पुराना र नयाँ खेलाडीको समन्वय अलि नमिलेजस्तो देखिएको पनि बताए ।
कप्तान विमल घर्तीमगर र अञ्जन विष्टले अग्रपंक्तिमा राम्रो प्रदर्शन गरिरहेका छन् । पेनाल्टी अवसरमा चुके पनि विमलले भुटानमाथि ३–१ को जितमा ह्याट्रिक गरेका थिए । अञ्जनले बंगलादेशविरुद्ध खेलमा फर्कन पेनाल्टीमार्फत बराबरीका लागि गोल गरेका थिए । त्यसमा नेपालले २–१ को जित निकालेको थियो । तर, दुवै खेलमा नेपाली डिफेन्सको प्रदर्शन चुस्त थिएन । मिडफिल्डमा पनि विश्वास श्रेष्ठबाहेक अरूले क्षमताअनुसार खेल्न सकेका छैनन् ।
‘मिडफिल्डले साथ नदिंदा डिफेन्समा समस्या देखियो । सेन्टर–ब्याक स्ट्यान्डिङ फुटबल खेल्ने र साइडका डिफेन्स फराकिलो भएर खेल्दा पनि समस्या भएको हो,’ प्रशिक्षक महर्जनले भने, ‘समूह चरणमा अधिकतम समय बल होल्ड गर्न सकेनौं । बल पोजेसन राख्दै गल्ती नदोहोर्याउने वाचासाथ खेल्नेछौं ।’ विमल र अञ्जनले बलिया अफगान डिफेन्सलाई पार गर्नसक्ने विश्वास पनि उनले व्यक्त गरे ।
पहिलो रोजाइका अफगानिस्तानी गोलकिपर मोहम्मद नाविदले भारतविरुद्ध समूह चरणको अन्तिम खेलमा रातो कार्ड (दुई पहेंलो कार्ड) बेहोरेका थिए । त्यसैले उनी नेपालसँगको खेलमा हुने छैनन् । उनको अनुपस्थितिको फाइदा लिन नेपाली खेलाडीले पोस्टमा बढीभन्दा बढी आक्रमण गर्ने तयारी गरेको पनि प्रशिक्षक महर्जनले बताए ।
अफगानिस्तानका सहायक प्रशिक्षक सयेद राजव शाह मसोमीले नाविद निलम्बित भए पनि उनको स्थान लिन दुई गोलकिपर तयार भएको बताए । ‘हामी धेरै आक्रमण गर्नमै मिहिनेत गर्नेछौं । हाम्रा खेलाडी नेपालको चुनौती बेहोर्न तयार छन्,’ उनले भने, ‘हामी आफ्नै खेल खेल्नेछौं । हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं ।’ केही खेलाडी थकित भएकाले टिममा परिवर्तन हुनसक्ने पनि उनले बताए । उसले अघिल्ला दुई खेल दिउँसो ३:३० मा खेलेको थियो । सेमिफाइनलमा मध्याह्न १२ बजे मैदानमा उत्रँदैछ । ‘यो समयले पनि फरक पार्छ,’ उनले भने ।
पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको अफगानिस्तानले भारतसँग २–० को हार बेहोरेको थियो । पछिल्लोपल्ट सन् २०११ मा दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानको राष्ट्रिय टिमलाई १–० ले हराएको थियो । त्यसयता अफगान टिमसँगको तीन भेटको नतिजा भने नेपालको पक्षमा छैन ।
च्यालेन्ज कप छनोटपछि २०११ मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनल भेट अफगानिस्तानले अतिरिक्त समयमा १–० ले जितेको थियो । दशरथ रंगशालामा दुई वर्षअघि आयोजित साफ च्याम्पियनसिपको सेमिफाइनलमा फेरि नेपालको तगारो बनेको थियो, अफगानिस्तान ।
रोहित चन्द पेनाल्टीमा चुकेको त्यस खेल १–० ले जितेको अफगानिस्तानले पछि फाइनलमा भारतलाई हराएर पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबलको उपाधि चुमेको थियो । चैतमा तेहरान (इरान) मा भएको एएफसी यू–२३ च्याम्पियनसिपको छनोटमा अफगानिस्तानसँग २–० ले नेपाली टिम हारेको थियो ।
साफ यू–१९ को सेमिफाइनलमा अफगान टिमसँग पछिल्ला असफलताबाट माथि उठ्ने प्रयास गर्ने नेपाली युवा टिमका प्रशिक्षक महर्जनले बताए । अफगानिस्तानको सामना गर्दा मिडफिल्डमा देखिएको कमजोरी सुधार गर्न केन्द्रित हुने नेपाली टिमका कप्तान विमलले बताए ।
‘भारतलाई हराउने प्रयास गर्नेछौं’
सइफुल बरी टिटु, प्रशिक्षक, बंगलादेश
भारत बलियो छ । उसको टिम सन्तुलित पनि छ । तर, हामी उसलाई पराजित गर्न सक्छौं । हाम्रो डिफेन्समा केही समस्या छ ।
यसमा सुधार गरेर उत्कृष्ट खेल्दै सेमिफाइनलमा भारतलाई हराउने प्रयास गर्नेछौं । नेपालसँगको राम्रो खेलले हाम्रा खेलाडीको मनोबल उच्च बनाएको छ ।
‘बंगलादेशलाई सजिलै जित्ने सोचेका छैनौं’
सइद सविर पासा, मुख्य प्रशिक्षक, भारत
बंगलादेश राम्रो फुटबल संस्कृति भएको देश हो । उसको टिमलाई सम्मान गर्छौं ।
बल नियन्त्रण गर्ने केही राम्रा खेलाडी उसको टिममा छन् । त्यसैले हामीलाई गाह्रो हुन्छजस्तो लाग्छ । हामीले बंगलादेशविरुद्ध सजिलै जित्ने र गोल गर्ने सोचेका छैनौं । नकआउटको खेल र रणनीति भिन्न हुन सक्छ ।
कान्तिपुर समाचार बाट
0 comments:
Post a Comment